गजल


आउँदै जाँदै गर्छ झल्को फगत आँखाभरि
फूलपातीमा छैनन् इश्वर नगद आँखाभरि ।



सोचे, सम्झे कल्पे जस्तो कहाँ चल्छ जीवन ?
मुस्कानको तीरले ढाल्ने जगत आँखाभरि ।
आफैँलाई कयौँबाजी नापतौल गरी हेरेँ
कोर्दै च्यात्दै जिन्दगीको लगत आँखाभरि ।
खण्डखण्ड होइन सिङ्गो राज्य रच्छु भन्ने
छल्किँदै छ कौटिल्यको मगध आँखाभरि ।
सिङ्गो युग काँधमाथि बोक्छु भन्थ्यो साथी
आँसु हो कि पराजित रगत आँखाभरि ।