एकदिन मैले एउटा पुस्तक पढेँ, त्यसपछि मेरो पूरा जीवन परिवर्तन भयो
‘एकदिन मैले एउटा पुस्तक पढेँ, त्यसपछि मेरो पूरा जीवन परिवर्तन भयो ।’
सुन्दा चाउचाउ वा चकलेटको बिज्ञापन जस्तो लाग्छ, तर सत्य हो । ओर्हान पामुकको पुस्तकले मेरो सोच्ने शैली परिवर्तन गरिदिएको थियो । जुन दिनसम्म भोगिनँ, यस्ता कुरा फगत गफजस्तो लाग्दथ्यो । जुन दिनदेखि पुस्तकको महत्व महसुस गरे, त्यही दिनदेखि पुस्तक मेरा साथी भए ।
आज हामी एडभान्स समयमा छौँ । शिक्षित युगमा छौँ हामी । अब तरतरी पसिना बगाएर दुई छाक खाने नपुग्ने समयले फड्को मार्न थालेको छ । किसानहरु पनि वातावरणनुकुलित खेतमा आशातित फसल उमार्न सक्ने भएका छन् । प्रविधिले बिऊ विजनमा मात्र होइन, काम गर्ने शैलीमा पनि परिवर्तन ल्याएको छ । धेरै टाढा छैन, अब खेतमा रोबर्टहरुले काम गर्नेछन् । पहिले मानवले मानवको शोषण गरेर विकासका काम गराउनु पर्दथ्यो, अब प्रविधिको सदुपयोग गरेर यी सबै काम गर्न सकिने भएको छ ।
त्यसो भए भविश्यको मानिसले के गर्छ ? उत्तर सिधा र छोटो छ । उसले ज्ञान आर्जन गर्नुपर्छ । अध्ययन अनुसन्धान गर्नुपर्छ । कल्पनाशील हुनुपर्छ । यसका लागि पुस्तक पढ्नुपर्छ ।
पुस्तकहरु कागजमै पढ्नुपर्छ भन्ने दिन पनि हराएर गएका छन् । पत्रपत्रिका भन्नेवित्तिकै दुई हात ढाकेर अरुलाई अप्ठ्यारो हुनेगरी पढ्नुपर्छ भन्ने दिन पनि पुराना भए । प्रविधिसँगै हरेक कुरा परिवर्तन भएका छन् । केवल मानिसको एउटा कुरा परिवर्तन हुने छैन, त्यो हो(अध्ययन र अनुसन्धान गर्ने प्रवृत्ति । निरन्तरको सोच र त्यसबाट निस्कने निष्कर्षहरु ।
जब हामी कुनै पनि पुस्तकको (अ) सूक्ष्म अध्ययन गर्दछौँ, तब मनको अध्ययनको कोठाबाट एउटा विशिष्ट विचारको उत्पत्ति हुँदोरहेछ । त्यै विचारबाट अरू विविध अवधारणाहरू जन्मिन्छन् । नुतन र गहन सोचहरू पैदा हुन्छन् । अनि यहीबाट विकासको उपज हुन्छ । यहीबाट मानव विकास, समाज विकास, देश विकासहुँदाहुँदै समस्त लोकको विकास हुन्छ ।
त्रिभुवन विश्वविद्यालयका अंग्रेजी भाषासाहित्यका अध्यापक एवं नेपाली साहित्यका समालोचक महेश पौड्याल मानिसमा आएको अध्ययन प्रवृत्तिको अध्ययन गरिरहेका छन् । उनले वर्तमान पठनसंस्कृतिमा आएको परिवर्तनलाई नजिकबाट महसुस गरिरहेका रहेछन् ।
पहिले पढ्नलाई पुस्तकहरूको अभाव हुन्थ्यो । पढेर के हुन्छ ? भन्ने प्रश्न धेरैजसोको मनमा उब्जिएको हुन्थ्यो । अर्थात् पठनप्रति सचेतना थिएन । मानिसहरू भ्रमित थिए । पुस्तकप्रति अनुराग थिएन । वृद्घवृद्घाहरू फगत रामायण, महाभारत, गीता र अन्य धार्मिक ग्रन्थहरू पढ्थे । बालबालिकाहरू र युवाहरू पुस्तक पढ्नुभन्दा अरू नै कामतिर लागिरहेका हुन्थे । समय नै त्यस्तै थियो । मानिसहरूको मनको क्षितिज साँघुरो थियो । त्यसैले पुस्तक थिएन । अध्ययन थिएन । न थियो फराकिलो ज्ञान न थियो दिगो विकासको अवधारणा ।
अहिलेको समयमा भने सबै उमेरका र सबै किसिमका मानिसहरूलाई तिनीहरूलाई चाहिने पुस्तकहरू सजिलै उपलब्ध छन् । पढ्न चाहनेहरूलाई त्यति साह्रो सङ्घर्ष गरिरहनुपर्दैन । केहीँ पढ्न चाहनेहरूले यो समयको भरपूर उपयोग गरिरहेका छन् र रातदिन नयाँ–नयाँ पुस्तकहरू खोजीखोजी पढिरहेका छन् । तिनीहरू पुस्तकसँगै औधी रमाइरहेका छन् ।
अर्काेतिर, सम्पूर्ण कुराहरू हुँदाहुँदै पनि पुस्तक अध्ययन गर्नेहरूको सङ्ख्या भने दिन प्रतिदिन घटिरहेको छ । कोहीसँग पुस्तक अध्ययनको निम्ति समय छैन भने कोहीचाहिँ रातदिन फेसबुक, ट्वीटर, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालतिर हराइरहेका छन् । यद्यपि पुस्तक र अध्ययन आजको समयमा नितान्त उपयोगी कुराहरू हुन् । नार्सिसिस्टहरूले सामाजिक सञ्जालको प्रयोग अलि कम गरेर आफ्नो बहुमूल्य समय पुस्तक र अध्ययनमा खर्चिनुपर्छ ।
पुस्तक र प्रविधि
हामी एक्काइसौँ शताब्दीमा छौँ । विज्ञान तथा प्रविधिले दिनदिनै नुतन चमत्कार गरिरहेको युगमा छौँ । हामी पुस्तकैपुस्तकको युगमा छौँ । पुस्तकहरू छन् । प्रविधि छ । अध्ययनको निम्ति राम्रो वातावरण छ । हामीलाई चाहिने सबै कुराहरू छन् । यी सबै कुराहरूको सकारात्मक तरिकाले उपयोेग गरेर हामीले आफ्नो अध्ययनको स्तर सशक्त बनाउनुपर्छ ।
हामीलाई थाहा नभएको कुरा अथवा हामीलाई अझ जान्न मन लागेको कुरा इन्टरनेटमा खोज्न सकिन्छ । यद्यपि हामी उल्टो काम गरिरहेका हुन्छौँ । सुरुमा थाकिने गरी र मनमा चक्कर लाग्ने गरी फेसबुक र ट्वीटरमा झुन्डिन्छौँ अनि थाकिसके पश्चात् किताब पढ्न भनेर आउँछौँ । यद्यपि किताब हेर्नेबित्तिकै हामीलाई पढ्न मन लाग्दैन र कुरा बिग्रन्छ ।
प्रविधिको कारणले एकातिर अध्ययनमा नराम्ररी प्रतिकूल असर परिरहेको छ भने अर्कोतिर यसकै कारणले अध्ययनमा अनुकूल असर परिरहेको छ । सहीरूपमा प्रविधिको प्रयोग गर्ने हो भने हाम्रो अध्ययन पनि सही हुन्छ र यदि प्रविधिको प्रयोग गलत तरिकाले भइरहेको छ भने हाम्रो अध्ययन पनि खुस्किदै जान्छ । र अन्ततः अध्ययन नै बाँकी रहँदैन ।
अध्ययनको निम्ति प्रविधिको एकदमै आवश्यकता रहेको कुरा बताउँछन् कवि बद्री भिखारी । कवि, निबन्धकार एवम् उपन्यासकार भूपिनको मत पनि कवि भिखारीसँग मिल्दोजुल्दो छ । उनी भन्छन्, “प्रविधि र अध्ययन सबैभन्दा मिल्ने साथी हुन् । एकबिना अर्को अपूरो हुन्छ ।”
‘पुस्तकप्रेमी’ कसरी बन्ने ?
प्रेमी कसरी बन्ने ? सबैलाई थाहा छ– प्रेम गरेर । कुनै कुराप्रति विश्वास राखेर । कुनै कुुराप्रति आफ्नो केही समय दिएर । आफूलाई समर्पित गरेर ।
जब हामी मनबाटै पुस्तकलाई मन पराउँन थाल्छौँ, हरेक दिन पुस्तकका पानाहरूमा घन्टौँ हराउँन थाल्छौँ, पुस्तक कतै देख्नेबित्तिकै हामीमा उकुसमुुकुस हुनथाल्छ, हरेक समय पुस्तककै आसपासमा हुन्छौँ, पुस्तकसँगै हाँसिरहेका हुन्छौँ, रमाइरहेका हुन्छौँ, हराइरहेका हुन्छौँ, यो अवस्था प्रेमको अवस्था हो । पुस्तकप्रेमको अवस्था हो । पुस्तकप्रेमी भएको अवस्था हो ।
कवि भिखारी भन्छन्, “पुस्तकप्रेमी हुन तपाईँ स्वयम् नै विज्ञ हुनुहुन्छ । सुरुमा रोचक पुस्तकबाट अध्ययन गर्न थालेपछि पुस्तक पढ्ने लत लाग्छ । पढ्दा बिसाई बिसाई पढ्नुपर्छ । कल्पना गर्दै पढ्दा, पढ्नुको आनन्द प्राप्त हुन्छ ।”
कवि भूपिन छोटकरीमा भन्छन्, “साँचो प्रेमीले भ्यालेन्टाइन डे कुर्दैन । साँचो पाठकले पुस्तक दिवस पर्खिन्न ।”
अध्ययनमा गतिशीलता कसरी कायम गर्ने ?
अध्ययन गर्नु आफैँमा एउटा महत्वपूर्ण काम हो । अझ अध्ययनमा गतिशीलता कायम राख्नु केवल महत्वपूर्ण कुरा होइन, यो एक चुनौतिपूर्ण कार्य पनि हो । सबै पाठकले अध्ययनमा गतिशीलता कायम राख्न सक्दैनन् ।
नियमित पुस्तकको अध्ययन, पुस्तकप्रतिको अथाह रूचि, विभिन्न पुस्तकहरूको खोज गर्ने बानी, विभिन्न क्षेत्र र विषयप्रतिको रूचि, पुस्तकमाथिका समीक्षा तथा समालोचनाहरूको विस्तृत अध्ययन, साहित्यिक गतिविधि एवम् विविध साहित्यिक विमर्शहरूमा सहभागिता, प्रश्न गर्ने बानी, गम्भीर चिन्तन र मनन, पुस्तकमाथि बहस र छलपल आदि आदि इत्यादि कुराहरूले अध्ययनमा गतिशीलता कायम राख्न मद्दत गर्दछन् ।
कवि भूपिन भन्छन्, “अध्ययन छोटो दूरीको दौड होइन, म्याराथुन हो । स्लो एण्ड स्टेडी विन्स द रेस ।”
पुस्तकालय, पुस्तक र अध्ययन
हरेक मानिसको घरमा सानोतिनो भए पनि पुस्तकालय राख्न जरुरी छ । हरेक विद्यालयमा पुस्तकालय राख्न जरुरी छ । हरेक टोलमा पुस्तकालय राख्न जरुरी छ । पुस्तकालय भएको ठाउँको विकास शीघ्रभन्दा शीघ्र हुन्छ । त्यहाँ प्राज्ञ र चिन्तनशीलहरूको जमात हुन्छ । विद्वान्हरूको उपस्थिति हुन्छ । अन्ततः हरेक कोणबाट त्यस स्थलको विकास हुन्छ । समृद्घि हुन्छ ।
हाम्रो सबैभन्दा सुरुको सिक्ने थलो घर नै हो र घरका सदस्यहरू नै हाम्रा प्रथम गुरुहरू हुन् । मार्गनिर्देशकहरू हुन् । घरबाट नै हाम्रो सिकाईको क्रम प्रारम्भ हुन्छ । त्यसपछिको सिक्ने थलो विद्यालय हो । जहाँ हामी शिक्षा ग्रहण गर्छौँ । जहाँ हामी अध्ययन गर्छौं । पढ्छौँ । लेख्छौँ । सिक्छौँ । ठूलो मान्छे बन्ने लक्ष्य निर्धारण गछौँ । तर हामी ठूलो मान्छे कसरी बन्छौँ ? उत्तर छः पुस्तक पढेर । अध्ययन गरेर । चिन्तन र मनन गरेर । कर्मशील र मिहिनेती भएर ।
पुस्तक र अध्ययनबीचको घनिष्ठतालाई कसरी निरन्तरता दिने भन्ने प्रश्नमा समालोचक, समीक्षक एवम् कवि महेश पौड्याल आफ्नो विचार पोख्छन्, “पहिलो कुरा त साहित्यप्रति अनुराग हुनुपर्यो । पढेर के हुन्छ र ? भन्ने प्रश्न उपभोक्तावादी प्रश्न हो । साहित्य एउटा सौन्दर्यजन्य र आध्यात्मिक विषय पनि हो, जसको सफलता कुनै भौतिक फाइदासँग दाँजिनुहुन्न ।
पुस्तक र अध्ययनबीचको घनिष्ठता बढाउँन निरन्तर पढ्न जरूरी छ । आफूलाई मनपर्ने विधाका र मनपर्ने लेखकहरूका कृतिहरू खोजीखोजी पढ्ने, पढ्दा स्वस्थ वातारणमा पढ्ने, पढ्नको निम्ति कुनै समय छुट्याउने र त्यो समयमा हरेक दिन केही न केही पढिरहने आदि कार्यहरूबाट पुस्तक र अध्ययनबीचको घनिष्ठता बढाउन सकिन्छ ।
एउटा मान्छे अध्ययनशील छ भने एउटा परिवार अध्ययनशील बन्छ । एउटा परिवार अध्ययनशील छ भने एउटा सम्प्रदाय अध्ययनशील बन्छ । एउटा सम्प्रदाय अध्ययनशील छ भने एउटा समाज अधययनशील बन्छ ।
एउटा समाज अध्ययनशील छ भने सिङ्गो देश नै अध्ययनशील बन्छ । त्यसैले हरेक एउटा मान्छे अध्ययनशील बन्नुपर्छ । अनिमात्र जिब्रो–जिब्रोमा ‘आई लव रिडिङ’ बोल सम्भव छ । पठनसंस्कृतिको विकास गर्न सके ‘आई लव रिडिङ’ कन्सेप्ट सफल हुने बताउँछिन् कवि बिना थिङ तामाङ । उनी भन्छिन्, “प्रविधि, समय र परिस्थितिलाई मध्यनजरगरी ई–लाइब्रेरी स्थापना, विद्यालयहरूमा साप्ताहिक रूपमा पुस्तक चर्चा कार्यक्रम राख्नसके केटाकेटीहरू पठनमा उत्साहित हुन सक्छन् ।”
पठनसंस्कृति बढाउन हरेक व्यक्तिको भूमिका रहनुपर्छ । त्यसैगरी पठनसंस्कृति बढाउन समाज र राष्ट्रको पनि अहम् भूमिका रहन्छ । सबैले आआफ्नो क्षेत्रबाट पठनसंस्कृतिको विकासको निम्ति आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।
समालोचक महेश पौड्याल भन्छन्, “पठनसंस्कृति बढाउँनकै लागि राज्यले खास कुनै सकारात्मक भूमिका खेलेको मलाई सम्झना छैन । राज्यले कुनै लेखकको पुस्तक थोकमा किनिदिएर वितरण गरिएको पनि देखिएको छैन । मेरै पनि बाह्रवटा साहित्यिक पुस्तक आइसके, बालसाहित्य लगायत । मलाई कुनै सरकारी निकायले किनिदिएको र पुस्तकालयहरूमा पठाइदिएको सम्झना छैन । धेरै चर्चित र पुरस्कृत पुस्तकका लेखक पनि यही भन्छन् ।”
उनी थप्छन्, “समाजको, विशेषगरी निजी क्षेत्रको र संस्थानहरूको भूमिका भने महसुस गरेको छु । निजीस्तरबाट पुस्तकालय खोल्ने, पुस्तक किनेर बाँड्ने, पुस्तकको परिचर्चा गर्ने÷गराउने, लेखकहरूलाई बोलाएर अन्तक्रिया गराउने, सभा, समारोह, साहित्यिक महोत्सव, गोष्ठी र साहित्यिक यात्रा गराउने, कार्य निजी क्षेत्रले गर्दै आएको छ । राज्यका निकायः शिक्षा मन्त्रालय, संस्कृति मन्त्रालय, साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान अथवा त्रिभुवन विश्वविद्यालयले नेपाली लेखकका पुस्तक सम्मानजनक संख्यामा किन्ने र वितरण गर्ने गरेको मैले थाहा पाएको छैन । जेजति गरेको छ नागरिकले, संघसंस्थाले र निजीस्तरका प्रयासले गरिएको हो ।”
अन्ततः पुस्तक र अध्ययनविना विकास र समृद्धि असम्भव भएको हुनाले पुस्तकको पठन अनिवार्य छ । सबैले, सधैँ पुस्तक पढौँ । सबैलाई पुस्तक पढ्न भनौँ । पुस्तककै सपना हेरौँ । पुस्तकलोकमै विलीन होऔँ । जय पुस्तक !
(कविन इटहरीमा साहित्य अभियान चलाउँछन्)