जागिर छाडेरै पूर्णकालीन राल्फा हुन तयार भएँः मञ्जुल

काठमाडौं । आजको पुस्तालाई दन्तेकथाजस्तो लाग्ने पात्रमध्ये एक हुन्, मञ्जुल । नेपाल राष्ट्र बैंकको छँदाखाँदाको जागिर छाडेर गीत÷संगीतका माध्यमबाट समाज परिवर्तन गर्न गाउँ घर डुल्ने राल्फा समूहका मुख्य सदस्य हुन् उनी ।

११ वर्षदेखि ६० वर्ष हुँदासम्म लगातार साहित्य र संगीतमा सक्रिय भएका मञ्जुल अचानक सेलाएको अनुभव उनका निकटस्थहरुको छ । पछिल्लोपटक ०६८ सालमा उनले आत्मकथा पुस्तक ‘पहाडजस्तो–बाटोजस्तो म’ सार्वजनिक गरेका थिए । त्यसपछि उनका सिर्जना बिरलै पढ्न पाइन्छन् ।

‘छेकुडोल्मा’ जस्तो सशक्त उपन्यास लेखेका मञ्जुल चर्चित कवि हुन् । उनका समूहले गाएको ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ जस्ता गीत आज पनि लोकप्रिय छन् ।

यद्यपि राल्फा समूहले जिल्ला जिल्ला पुगेर गाउने त्यस्ता दर्जनौ ‘ओरिजिनल गीत’ अहिले नेपालका कुनै पनि रेडियो, एफ एम वा म्युजिक कम्पनीहरुमा पाइँदैन । पछिल्लो कालमा अर्का गायक एवं संगीतकार रामेशले ती गीतलाइ पुनः रेकर्ड गरे पनि त्यसमा पहिले जस्तो उर्जा दिने क्षमता थिएन र यसको खासै चर्चा पनि भएन ।

उमेरजन्य कारणले गायकीमा फरक आएको राल्फाका अल्पकालीन सदस्य एवं संगीतकर्मी गणेश रशिकको अनुभव छ । राल्फा समूहको फुटपछि आ–आफ्नो बाटो लागेका रामेश, रायन, मञ्जुल अरिमका कथा अहिले कुनै दन्त्य कथा जस्तो मात्र भएको छ ।

विश्वप्रसिद्ध सांगीतिक समूह ‘बिटल्स’ र ‘याङ्ग्री म्यान’ को प्रभावमा परेर गीत गाउँदै हिँड्ने यो समूह नेपालको पहिलो आधिकारिक सांगीतिक ब्याण्ड थियो । त्यसपछि नै नेपालमा ब्याण्ड खोल्ने परम्परा विकसित भयो । पञ्चायतकालीन अप्ठ्यारो समयमा लेखक–संगीतकर्मीको सरकारविरोधी अभियानले आजको नेपाल कम्युनिस्ट पार्टी बन्न ठूलो सहयोग गरेको कतिपयको अनुभव छ । यद्यपि मञ्जुल यसको माउ राजनीतिसँग सधैँ असन्तुष्ट रहे । आफ्ना भाइ प्रदीप नेपाल सरकारका मन्त्री र साथीहरु सांसद हुँदा उनी सरकार विरोधी वक्तब्य दिने गर्दथे ।

‘थाहा नभएको रोग’ का कारण विगत ७ वर्ष उनी लेखपढ बन्द गर्ने मात्र होइन, घरबाहिर पनि निस्कन छाडेका थिए । एक वषअघि चिकित्सकले उनलाई उमेरजन्य बाहेक अरु कुनै रोग नभएको प्रमाणित गरेपछि उनी पुनः सक्रिय भएका छन् । केही महिनाअघि सरकारले उनलाई संगीत नाट्य एकेडेमीको प्राज्ञमा नियुक्त गरेपछि उनी सार्वजनिक कार्यक्रममा पनि देखिन थालेका छन् ।

यसपटक यिनै ७३ वर्षीय श्रष्टा मञ्जुलसँग उनले लेख्न र बोल्न नसकेका धेरै कुरा कोट्याउने प्रयास र्गयो । कतिपय व्यक्तिगत एवं पारिवारिक विषयमा उनी प्रवेश गर्न चाहेनन् । तर, तत्कालीन समाजका धेरै कुरा भने खुलेर चर्चा गरे ।

मञ्जुलका कुरा सुनिरहँदा नेपाली समाज र त्यसका प्रबृत्तिलाई आँकलन गर्न सकिन्छ । त्यति मात्र उनको कवि मन र त्यसले निम्त्याएको दुःखलाई पनि राम्रैसँग अनुभव गर्न सकिन्छ ।

साहित्यकार मञ्जुलसँग गरिएको कुराकानीः

सात वर्षदेखि ‘थाहा नपाएको रोग’ ले सताइनुभएको खबर सुन्नमा आइरहन्थ्यो । खासमा के भएको हो ?

सुन्दा धेरैका लागि अपत्यारिलो कुरा छ । तर, तपाईंले लामो समयदेखि आफ्नो कुरा भन्न जोड गरेका कारण भन्दैछु । सायद लेखक भएका कारण यो कुरा बुझ्न सक्नुहोला जस्तो लागेर पनि हो । खासमा म निकै संवेदनशील मानिस रहेछु भन्ने कुरा अहिले आएर महसुस हुन्छ । त्यसको प्रमाण के भने, हामीले समाज परिवर्तनको जुन सपना बुनेर गाउँ(गाउँमा परिवर्तनका गीत गाउँदै हिँड्यौं, हामीलाई विश्वास थियो, समाज परिवर्तन हुन्छ । हाम्रा नेताहरु हामीले कल्पना गरे जस्तै आदर्शवादी र परिवर्तनकामी हुन्छन् । तर, त्यसो हुन सकेन । यसले मनमा ठूलो धक्का लागेको थियो । यो शब्दमा ब्यक्त गर्न नसकिने धक्का थियो, हाम्रा लागि । हाम्रा लागि भन्नु भन्दा मजस्तो सपना देख्नेहरु भन्दा उपयुक्त होला ।

देशका कारण मात्र होइन, केही व्यक्तिगत र पारिवारिक कारणले ०५२ सालमा आइपुग्दा म पूर्ण निराश भइसकेको थिएँ । ठीक त्यहीबेला मेरो हातमा एउटा पुस्तक र्पयो– अमाआदे । यो तिब्बती शरणार्थीहरुले तिब्बत छाड्दाको अवस्थामा पाएको पीडादायी अनुभवहरुको वर्णन हो । त्यहीबेलै अर्को त्यस्तै पुस्तक ‘ग्रास रुढ’ पनि पढ्दै थिएँ । यी पुस्तकहरु पढ्दै जाँदा त्यसका पात्रहरु म आफंै भएको अनुभव गर्न थालेँ । यिनीहरुले पाएको चरम दुःख नेपाली समाजसँग र म आफैसँग मिलेजस्तो लाग्न थाल्यो र ती व्यक्ति म आफै हुँ भने झैँ भयो । यसले मेरो मनमा गहिरो धक्का पुगेछ । धन्न, यसले ठूलो रुप लिन पाएको रहेनछ ।

भयो के भने एकजना अमेरिकी साथी मलाई भेट्न पुतलीसडकस्थित मेरो डेरमा आएकी थिइन् । उनी नुवाकोटको एउटा विद्यालयको भवन बनाउन नेपाल आएकी थिइन् । मसँग कुरा गर्दै जाँदा मैले भोगिरहेको पीडा सायद उनले अनुभव गरिछन् । तुरुन्तै मलाई नुवाकोटका गाउँतिर लगिन् र दिनमा एउटा कविता लेख्न जोड गरिन् । म कविता लेख्न सक्ने अवस्थामा थिइनँ । तर, उनले कर गरेर २१ दिनसम्म एक(एकवटा कविता लेख्ने वातावरण बनाइन् । यी कविता लेखिसक्दा अचानक मलाई हलुका भयो । आज सम्झन्छु, मलाई गाउँको वातावरण र २१ कविताले उपचार गरिएको रहेछ ।

आज २३ वर्षपछि त्यो घटना सम्झनुको कारणसँग अहिलेको तपाईको रोगको समानता छ ?

म यसै भन्न सक्तिनँ । तर, मलाई याद छ, मलाई नेपालय प्रकाशनले ‘१०० दिन माओवादी कब्जामा’ भन्ने पुस्तक सम्पादन गर्न दिएको थियो । पुस्तक सम्पादन मेरो आयस्रोत भएका कारण मैले त्यसलाई कामकै रुपमा लिएको थिएँ । तर, त्यो पुस्तक पढ्दै जाँदा लेखक नारायण सुवेदीले माओवादी समूहबाट पाएको यातना मैले पाएको हो कि भन्ने लाग्न थाल्यो । अचानक म बिरामी परेँ ।

श्रीमती सुस्मिताका अनुसार म ७ महिना अस्पतालमै बसेँ । मलाई त्यो राम्रोसँग याद छैन । उमेरका कारण विभिन्न किसिमका शारीरिक समस्याको निदान त भयो । तर, मानसिकरुपमा म अनौठो अवस्थामा रहेँ । त्यहीबेला चिकित्सकहरुले मानसिक रोगको औषधि दिएपछि त्यसको प्रभावले म पूर्णरुपमा लेखपढ र घुमफिरबाट बञ्चित रहेँ ।

घरभरि पुस्तक छन्, पुस्तकले मलाई हेर्छन्, म पुस्तकलाई हेर्छु । तर, पढ्न मन लाग्दैन । मन परेको मानिसलाई माया गर्न नसक्ने अवस्थामा जुन पीडा हुन्छ, त्यही पीडा भोगिरहें ।

खासमा मेरो उपचार कविता र गाउँको वातावरण रहेछ । तर, औषधिले केही गर्न नसक्ने बनाइदियो । यो कुरा केही समयअघि नर्वे गएपछि त्यहाँका चिकित्सकले मेरो अवस्था बुझेर दिएको सल्लाहपछि थाहा भयो । त्यहीबेला मैले मेरी अमेरिकी साथीले गाउँमा लगेर कविता लेख्न लगाएको कुरा सम्झिएँ । तर, समय बितेपछि मात्र थाहा भयो ।

अब पूर्णरुपमा निको हुनुभएको हो ?

लेखपढ र सार्जजनिक कार्यक्रमहरुमा जान थालेपछि मात्र मलाई केही भएको होइन भन्ने थाहा भयो । अहिले म पूर्ण स्वस्थ अनुभव गर्छु । केही शारीरिक रोग र उमेरका कारणले पहिले जस्तो फूर्तिलो छैन । पहिले म बोलक्कड थिएँ, आजभोलि बोल्ने कुरा नपाउँदासम्म बोलिहाल्न मन लाग्दैन । पहिलेका साथीहरु आउँदा ममा यो परिवर्तन आएको कुरा बताउँछन् । अरु कुरामा परिवर्तन महसुस गरेको छैन ।

तर, तपाई निकै मोटाउनुभएछ । केही वर्षअघिसम्म तपाईलाई देख्नेहरु अनौठो मान्छन् । यसो किन भयो होला ?

लगातारको औषधि सेवन र निष्कृय जीवनका कारण मोटाएको हुनुपर्छ । केही औषधिले निकै भोक लगाउँदा रहेछन् । अनि केही मानसिक औषधिहरुले चाहिँ निष्कृय बनाउँदा रहेछन् । ७ वर्षका ती दिनहरुको निष्कृयता र सुस्तताले नै जीऊमा लागेको हुनुपर्छ । म ती पीडादायी दिन सम्झन चाहन्नँ । रोग थाहा छैन । तर, रोगी भएर सुत्नुपरेको छ । मैले थाहा पाएदेखि नै म कहिल्यै निष्कृय छैन । तर, यी ७ वर्षले मलाई भयंकर पीडा दिए ।

जगदीश घिमिरेले यस्तै पीडायुक्त दिनका कुरा लेखेर प्रशिद्ध पुस्तक जन्माउनुभयो, अन्तरमनको यात्रा । तपाईलाई त्यस्तै पुस्तक लेखौं जस्तो लागेको छैन ?

अनुभव भयंकर छन् । नेपालको चिकित्सा पद्यति र हाम्रो समाजलाई यो बीचमा राम्रोसँग अनुभव गर्न पाएँ । बर्षांै लेखपढ गरेको मानिस, अचानक लेखपढबाट बञ्चित हुँदा सबै हुने पीडा र श्रीमतीले गरेको दुःख लेखौंजस्तो लागेको पनि छ । किनभने, हाम्रो ठूलो आयश्रोत थिएन, छैन । यस्तोबेलामा उनले साना छोराछोरीकलाई कसरी पढाइहोलिन्। मलाई महंगो औषधि खुवाएर कसरी बचाइहोलिन् भन्ने लाग्छ । ठूलो रोगविना खेर गएको ६ वर्ष सानो समय होइन । समयले साथ दिए त्यसलाई लिपिवद्ध गर्छु ।

सरकारले नाट्य संगीत एकेडेमीमा तपाईलाई प्राज्ञ नियुक्ति गरेपछि केही सक्रियता बढाउनुभएको छ । संगीतमा के(के गर्ने योजना बनाउनुभएको छ ?

त्योबेला हामीले गाउँ गाउँमा गाएको गीतको रेकर्ड हामीसँग छैन । कतिपय युरोपेली मुलुकका संग्राहलयमा ती सङ्ग्रहित छन् । कयौं लोकगीत र लोकसाहित्य मासिएर गए । ती कतै पनि संग्रहित हुन सकेनन् । यस्ता काम गर्न नै नाट्य एकेडेमी खुलेको हो । हाराएर गएका ती सम्पदा सम्झेर साह्रै पीडा हुन्छ । हामीले कति सपना देखेर ती गीत गाएका थियौं । त्यसको रेकर्ड, भिडियो त परको कुरा, कतिपय तस्वीर पनि छैन । अहिलेका युवाहरुलाई हामीले के देखाउने ? अब त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्छ ।

त्योबेला तपाईं राष्ट्र बैंकको जागिर हुनुहुन्थ्यो । जागिर नै छाडेर परिवर्तनका लागि गाउँ जानुपर्छ भन्ने हिम्मत कसरी आयो ?

युवा जोस थियो । सबै अविवाहित थियौं । त्यसैले, जिम्वेवारविहीन पनि थियौं । हामीजस्तो लेखपढ गरेको र बुझेको मानिसले जागिर खाएर बस्यो भने समाज कसले परिवर्तन गर्छ भन्ने लाग्यो र छाड्यौं । कतिसम्म भने राष्ट्र बैंकमा त्योबेला नेता पुष्पलालका भाइ हाकिम हुनुहुन्थ्यो । उहाँ मेरो कविता, गीत गाउने शैली र उद्घोषको शैलीबाट कति प्रभावित हुनुहुन्थ्यो भने जोशमा राजीनामा नदेऊ, भोलि दुःख हुन्छ भनेर निकै सम्झाउनुभयो । मैले मान्दै मानिनँ ।

विद्रोह गर्नुपर्ने खास कारणचाहिँ के थियो ?

रेडियो नेपाल र त्यहाँका भ्रष्ट हाकिमहरु ।

कसरी ?

यो त धेरै ठाउँमा भनेको छु, तै पनि दोर्होयाइदिन्छु । भयो के भने रामेशहरु नियमित रेडियो नेपालमा गाउँथे । त्योबेला आफ्नो प्रतिभा देखाउने थलो नै रेडियो नेपाल थियो । उनीहरुको संगतमा म पनि कविता भन्न रेडियो जान थालेँ ।

त्यहीबेला मैले एकेडेमीबाट राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएर नगद पुरस्कार जितेको थिएँ । मेरो यो प्रगति देखेर राष्ट्र बैंकको एउटा साथीले जिस्क्याउँदै भने, ‘तिमिले कविता प्रतियोगितामा पनि पैसा पाउँछौं, रेडियो नेपालबाट पनि पैसा पाउँछौ र बैंकको जागिरबाट पनि पैसा पाउँछौ ।’

मैले रेडियो नेपालबाट पैसा नपाएको कुरा गरेँ । उनले त रेडियो नेपालबाट प्राप्त भएको चेक नै देखाइदिए । खासमा उनी त्यही चेक विभागमा काम गर्थे र मेरो नामको चेक हात परेपछि उनले जिस्क्याएका रहेछन् ।

म छक्क परेँ । किनभने मैले रेडियो नेपालबाट चेक लिएको थिइनँ । यो कुरा रामेशहरुलाई भनेँ । उनीहरुले पनि कहिलेकाहीँ चेक लिए पनि धेरैजसो पैसा त्यतिकै हराउने कुरा गरे । यो कुरा हामीले रेडियोमा काम गरिसकेका र सहृदयी दाइ यादव खरेलसँग र्गयौं । उहाँले हाकिमहरुले विभिन्न कवि कलाकारको नाममा छुट्याएको पैसा नक्कली हस्ताक्षर गरेर खाने गरेको कुरा आफूले पनि सुनेको बताउनुभयो ।

पारिजात दिदी हाम्रो संरक्षक हुनुहुन्थ्यो । उहाँसँग कुरा र्गयौं । उहाँले मुद्दा हाल्नुपर्छ भनेर आँट दिनुभयो । मुद्दा हाल्ने ठाउँमा गयौं । त्यहाँ गाउँले दाजु काम गर्नुहुन्थ्यो । उहाँले पनि त्यस किसिमको गुनासो आउने गरेको भन्दै मुद्दाका लागि तयारी गर्न आदेश दिनुभयो । तर, केही दिनमै माथिल्लो तहबाट मुद्दा नहाल्न दबाव आयो ।

मुद्दा हाल्ने कुरा उठ्ने वित्तिकै रेडियो नेपालको गेट हाम्रा लागि बन्द भयो । मुद्दा हाल्न सबैले असहयोग गर्न थाले । खासमा रेडियोका हाकिमहरुको पहुँच दरबारसँग थियो । नाम चलेका उच्च तहका कलाकार र कर्मचारीहरु बद्नाम हुने अवस्था सकैका लागि राम्रो हुने थिएन । त्यसलाई रातारात दबाइयो । यसले हामीलाई यति चोट र्पयो कि यस्तो भ्रष्ट नीतिविरुद्ध लाग्नुपर्छ भनेर जागिर छाड्यौं ।

त्यसपछि के गर्नुभयो ?

राल्फा भन्ने हाम्रो सांगीतिक समूह थियो । यसले गाडी पुग्ने सबैजसो जिल्ला सदरमुकाममा आफ्नो प्रस्तुति दिइसकेको थियो । म जादुमय उद्घोषसहित कवितात्मक लयले कार्यक्रम सुरु गर्दथे । त्यसपछि एक(एक लाइन हामी गाउँदै जान्थ्यौं । घन्टौंसम्म बीचमा कुनै ब्रेकबिना यो कार्यक्रम चल्दथ्यो । नेपाली जनताले पहिलोपटक त्यस किसिमको सांगीतिक स्वाद पाएका थिए ।

प्रशासनको निगरानीमा अञ्चलाधीशले तोकेको गीत मात्रै गाउन पाइन्थ्यो । कतिपय अवस्थामा सरकारलाई छलेर गाउँ गाउँका पीडायुक्त गीत पनि गाइयो । जागिर छाडेर पहिले जस्तो सुगम ठाउँमा होइन, दुर्गम ठाउँमा अञ्चलाधीशले रोजेको होइन, हामीले रोजेको गीत सुनाउने योजना बनायौं र पूर्वी पहाडतिर लाग्यौं ।

हाम्रो समूहमा पहिले चारजना र पछि धेरैजना जोडिनुभएको थियो । तर, जागिर छाडेरै पूर्णकालीन राल्फा हुन अरु तयार हुनुभएन । रामेश हुलाकमा जागिरे थिए । म र रामेश जागिर छाडेर मात्रै हाम्रो लक्ष्यमा पुग्न सकिन्छ भन्ने कुरामा सहमत भयौं । झण्डै एक वर्ष गाउँ(गाउँ गयौं र संगीत बाँड्यौं । गाउँमा पनि ती निकै लोकप्रिय भए ।

तर, ती गीतहरु अहिले जस्ताको त्यस्तै सुन्न पाइँदैन, किन होला ?

हामी यस्ता अभागी श्रष्टा हौं, जसको ‘ओरिजिनल’ गीत नेपालमा भेटिँदैन । धेरैजसो गीत तत्कालीन अवस्थामा व्यवस्था विरोधी थिए । हाम्रा लागि रेडियो नेपालको बाटो बन्द भएको थियो । म लगायत केही साथीहरु नारायण गोपाल र प्रेमध्वज प्रधानजस्ता लोकप्रिय गायकलाई ती गीत गाउन दिउँ भन्नेमा थियौं । तर, केही साथीहरु उनीहरु सत्ताधारीका गायक भएका कारण हाम्रा गीत उनीहरुका लागि होइन भन्ने मान्दथे । यसमा हाम्रो मत विभाजन थियो ।

त्योबेला त्यसरी रेकर्ड गर्नुपर्छ भन्ने होस पनि भएन । रेकर्डर पनि सजिलै गरी किन्न पाइने अवस्था पनि थिएन । एक दुई कार्यक्रमका गीतहरु कमसल रुपमा रेकर्ड पनि भएका होलान् ।

केही विदेशीहरुले भने हाम्रो प्रस्तुतिलाई रेकर्ड गरेका रहेछन् । त्योबेला काठमाडौं हिप्पीहरुको स्वर्ग थियो । उनीहरुले सायद कतै हाम्रो कार्यक्रम हेरेर अडियो रेकर्ड गरे । तीमध्ये केही नर्बे, फिनल्याण्डका संगीत लाइब्रेरीमा पाइन्छन् । मैले पनि एक दुई ठाउँमा पुगेर हाम्रा केही गीत सुन्न पाएको छु ।

आज फर्केर हेर्दा ती दिन कस्ता लाग्छन् ?

त्योबेला देशलाई परिवर्तन जर्ने जोश बाहेक केही थिएन । रामेशको संगीत क्षमता देखेर अमेरिकाको एउटा विश्वविद्यालयले त्यहीबेला भिजिटिङ प्रोफेसरको रुपमा बोलाएको थियो । उसले ती कुरालाई महत्व दिएन । हामी कसैलाई पनि आएका अवसरहरुलाई ध्यान दिएनौं । हामीलाई एकदिन प्रजातन्त्र आउँछ र देश बन्छ भन्ने कुरामा पूर्ण विश्वास थियो । आफ्नो व्यक्तिगत लाभको उद्देश्य नभएपछि त्यस्ता कुराले छुँदो रहेनछ ।

अहिले नि ?

यी ५० वर्षभन्दा अघि देखेका सपना हुन् । अब कति पर्खने ? भो । बोल्दा–बोल्दा थाकेँ । अब बिसाऔं ।

साभारः अनलाइनखबर

सम्बन्धित खवर

Back to top button