कर्णालीको कथा
–विक्रम पवन परियार
आमाको बायाँ छातीको किनारादेखि
दायाँ छातीको किनारासम्म
टाँगिएको छ यौटा जिन्दगीको लामो डोरी
जुन डोरीको बाटोहुँदै यात्रा गर्छन् कलिला सपनाहरू
र पाठशालाबाट फर्कि नआएसम्म हेरिरहन्छ
आफ्नै मृत्यु पर्खिरहेका घाम जस्ता बाआमा ।
बर्षाैँ अघिको त्यही तुइनमा
झुन्डिरहेको छ यौटा थोत्रो झोला
झोलाभरि छन् जिन्दगी कोर्न बाँकी सेतो कागज
कति खसे होलान् फूलहरूको सपना
कहाँ पुगे होलान् बग्दै बग्दै ।
हिजोसम्म त्यही तुइनबाट हिँड्थे चराहरू
भविष्य बनाउन हिडेका केटाकेटीहरू
केही फर्खेर आउँथे र केही कर्णालीमै खस्थे ।
जो आउँथे सपनाहरू साथमै लिएर आउँथे
जो खस्थे साथमै लिएर जान्थे बाआमाको माया
र साथमै लिएर जान्थे जीवनको कोलाज ।
आउन त हरदिन सरकार बादलको घुम्टो ओढेर आउँछ
उखानका फोहोराहरू सुनाएर सहर फर्कन्छ
तर आधा चुँडिएको तुइन हेरेर कहिल्यै भनेन कि !
लट्ठामा अल्झि रहेको हात्ती छाप चप्पल कस्को हो ?
रामेछाप