द वैक ट्रायोलोजी

–राजु झल्लु प्रसाद

म ब्युँझिदा बिहान भैसकेको थिएन । हिजो रातभरको थकान(निद्रा) पश्चात् म आज दिनभर सुतेकी थिएँ । घाम सुत्ने तर्खरमा थियो । म भर्खरै उठेकी थिएँ ।

ढ्याक ! ढ्याक ! ढ्याक ! ढ्याक !
ढोकामा पक्कै उहीँ हुनुपर्छ । यत्तिखेर आएर बिहानीपख जान्छ, उ भन्छः म निदाउन सक्दिनँ, यसैले तिमीकहाँ आउँछु । उसले त यो पनि भनेको थियो, म तिम्रो काखमा सजिलै निदाउन सक्छु । तिमीलाई चाहिए जति पैसा दिन्छु, तिमी मलाई तिम्रो काख देऊ !

उ अग्लो छ, र उचाईमा छ ।
राम्रो छ, हिस्सी छ ।
ब्ल्याक एन्ड ह्वाइट छ । अनुहार ह्वाइट, दारी ब्ल्याक । झट्ट हेर्दा जुँगामुठे छ । माचो छ । जवान छ ।
तर जवान केटामा हुनुपर्ने केही कुरा पनि उसमा छैन् । त्यो जोश, त्यो बल…अहँ केही छैन ।
उ मैले पहिलोपटक भेट्दा खेरी भन्दा सार्है दुब्लाएको छ ! रोगी छ जस्तो लाग्छ । दया लाग्छ उसको स्थिति देखि ।
साझपख आउँछ, मेरो काखमा पल्टिन्छ । र, रातभर निदाउँछ । बिहान नहुदै उठेर गै’हाल्छ । अनि फेरि भोलिपल्ट आउँछ, ..र भन्छ “म हिजो राती पनि निदाउनै सकिन ।“

भित्र छिर्ने बित्तिकै हाँस्छ । म पनि हाँसिदिन्छु । तर उसको ओठमा हासो सुहाउँदैन । बेमौसमी हाँसो कति नराम्रो देखिन्छ, उ हाँस्दाखेरि । त्यो म मात्रै जान्दछु ।

विगत १० दिनदेखि उ म कहाँ आइरहेको छ । लुगा पनि सधैँ एउटै लगाउँछ । सायद खाना पनि खादैन होला । तर उ सिग्रेट खुब पिउँछ ! मलाई उसले सिग्रेट पिएको मनपर्छ । माचो देखिन्छ, सिग्रेट तानिरहँदा उ सिग्रेट झार्ने अन्दाज मनपर्छ मलाई । चुट्की बजाएर खरानी खसाल्छ ।

सुन्नुस त !
हँ भन !
केही खानुहुन्छ ?
खान्न !
किन खानुहुन्न ?
मलाई भोक लाग्दैन ।
केही पनि खानुहुन्न ?
खान्न !
चुरोट पनि?
पिउँछु ।

उ जिद्दी छ । एकदमै रुखो व्यबहार गर्छ । आफ्नो कुरामा हठी छ । भनेको मान्दैन् । उसलाई सम्झाउन सकिन्न ! सम्झाए पनि म सम्झिन सक्दिन भन्छ ।
केही पनि नखाए त मरिन्छ नि !
अँ मरिन्छ ।
केही खानै मन लाग्दैन ?
लाग्दैन ।
केही नखाई सुत्दा निद्रा पर्छ त अनि ?
पर्दैन ।
तर…, उ मेरो काखमा सजिलै निदाउँछ, मलाई थाहा छ । उसले हिजो पनि यै भनेको थियो । आज पनि यै भन्दैछ । म निदाउन्न, मलाई भोक लाग्दैन, मसँग कुनै सपना छैनन्, ..उ सधैँ यस्तै भन्छ ।
उ सधैँ एउटा सेर सुनाउँछ ।
यहाँ रहरले को बाचेको छ र ?
तर कोही पनि मर्ने रहर गर्दैनन् । बारबार दोहोराइरहन्छ …मलाई पनि कत्ती धेरै मनपर्छ उसको त्यो सेर !
अहिले त…म आफैँ पनि गुनगुनाइरहँदो रहेछु ।

उ मलाई एक रातको २,००० दिन्छ ।
पहिलो रात त म खुसी भएको थिए । मैले ४ जना ग्राहकबाट जम्मा गर्ने पैसा उसले एकैचोटि दिएको थियो । उसले दोस्रो रात पनि २००० दियो ।
…तेस्रो रात उसले भनेको थियो– ४ दिन भयो म सुत्न सकेको छैन । एक जवान युवा, एक बेश्याको काखमा सजिलै निदाउन सक्छ भन्ने मैले सुनेको थिए । अनि म तिमिकहाँ आएको थिए ! खै २ रात भै’सक्यो म किन निदाउन सक्दिन् ?“… उ च्याठ्ठिएको थियो, त्यो रात । “…कि तिमी बेश्या होइनौ ? होइनौ भने भन म जान्छु अन्तै, यो शहरमा बेश्या कति छन् कति ?“

उसले सुनेको सहि थियो । जवान त के चाउरिसकेको लिङ्ग बोकेर आउने बुढा पनि सजिलै निदाएका छन्, मेरो अङ्गालोमा । उ पनि निदाउँछ मेरो काखमा । तर उ सधै भन्छ कि म हिजो राती पनि निदाउनै सकिन । उ किन यसो भन्छ, म जान्दिन । मलाई हैरान बनाएर छोडेको छ उसले ।

मैले आफुलाई बेश्या प्रमाणित गर्न सब्बै थोक गरे । आफुलाई सर्वाङ्ग नाङ्गो बनाए । उसको हातहरु समातेर आफ्नो छातिमा लगे । तर उसले हात झार्यो । आफ्नो योनिमा उसको औला पुराए । तर उसले औला हटायो ।
आफ्नो ओठ उस्को ओठमा जोडे । तर उसले मलाई पर…फ्यालिदियो ।
उसको लिङ्गमा मैले मेरो हात पुराए । तर…

ऊ म (एक बेश्या) कहाँ सुत्न होइन, निदाउन आउथ्यो ! यस्तो लाग्थ्यो उसले आरामको निद ननिदाएको थुप्रै समय भै’सकेको छ, यो सहरमा ।
पहिलो दुई रातसम्म त मैले उसलाई बुझ्नै सकिन । ऊ सुत्न आएको होला ठानेर आफू नाङ्गिए, उसलाई नङ्गाउन खोजे । ‘.. तेस्रो रातबाट मैले यो सब छोडीदिए ।

ऊ आउथ्यो । मेरो काख उसको तकिया बन्थ्यो । म आफ्नो औँलाहरू उस्को कपालमा सलबलाइदिन्थे, कायोँ झै । ऊ आँखा चिम्म गर्थ्यो । आनन्दित हुन्थ्यो, यसो गरिदिदा उसको आखाँमा चुमिदिन्थे, ऊ सन्चो मान्थ्यो । यसै गरिरहु भन्थ्यो, म त्यसै गरिरहन्थे ।

…भरे उ निदाएपछी म उठ्न खोज्थे, तर उ पक्रन्थ्यो ! जानै दिन्न थियो ! त्यो पातलो पाखुरामा त्यत्रो बल कहाँ बाट जम्मा हुन्थ्यो कुन्नी ? म जुन अवस्थामा हुन्थे, सोही अवस्थामा उसलाई अपनाउनु पथ्र्याे । हातगोडा चाल्न पाउदिन थे,… गोडा दोब्राउन पाउन्न्थे, जिउ तन्काउन सम्म पनि पाउन्न थे ।
सुरुसुरुमा त खुटाहरु झन्झनाउथ्यो,…मक्किन्थ्यो । अहिले त यो सब बानी पर्यो ।
उ निदाएको आनन्द मानीमानि हेरिबस्थे । कसैलाई निद्रा दिनु पक्कै पुण्यको काम हो । तर मलाई सबैले बेश्या भन्छन, पापिनी भन्छन् ।
बिहानी पख म पनि निदाउदो रहेछु । ब्युझिदा हजारको दुइवटा नोट मेरो ब्रा भित्र हुन्थ्यो ।

मलाई यो सब अचम्म लाग्थ्यो । एउटी बेश्यालाई दिनको २ हजार भए अरु के चाहिन्थ्यो । म आफ्नो काम गर्थे । थोरै रक्सी पिउथे कहिले खाना खान्थें, कहिले खान्नथें । दिउँसो अंग्रेजी खाले त्यस्तै मुभीहरू हेर्थे । त्यसपछि एकैछिन सुत्थे । सपनामा पनि अब त उ आउन थालेको थियो ! उसैगरी आउथ्यो सपनमा पनि ।…. सपनामा पनि सताउन छाडेन उसले मलाई ।

कुनै यस्ता पनि ग्राहक हुन्छन, जो दिउसै म कहाँ आउछन् । उनीहरू पनि म जस्तै अंग्रेजीखाले मुभी हेर्दा रहेछन् । पोजपोज को कुरा गर्थे । म उनिहरूलाई पोजपोजमा अपनाउथे । थोरै पैसा दिन्थे । म खुसी नै हुन्थे ।
…तर जबजब साझ ढल्किदै जान्थ्यो, म दुखी हुन्थें । फेरि त्यो केटोलाई मैले सुताउन पथ्र्याे । उसलाई सुताउनमा त मलाई कुनै आपत्ति थिएन । तर उसलाई रातभर सुतेको थियो..निदाएको थियो भनेर मनाउनै सक्दिनथें ।
उ गत राती आफु निदाएको कुरा विश्वास नै गर्दैन्थ्यो । कस्तो थियो भने त्यो…
भन्थ्यो, हिजो राती पनि म निदाउन सकिन ।
भन्थ्यो– हिजो राती पनि म निदाउन सकिन । तिमी साच्चै बेश्या हो कि होइनौ ? होइनौ भने भन म जान्छु अन्तै, यो शहरमा बेश्या कति छन कत्ती ?
लिनुस थोरै पिउनुस !
म पिउन्न !
रक्सी हो, थोरै पिउनुस !
पिउदिनँ !
खाना खानुहुन्छ ? म मगाइदिउ ?
पर्दैन । म खान्न ।
चुरोट धेरै नखानुस् । धुवाँले ज्यादा असर गर्छ ।
मलाई धुवाँ मनपर्छ । उ उसैगरि चुरोट झार्दै बोल्थ्यो । पाइन्टभरि खरानी हुन्थे, लुगाभरि पनि हुन्थे । उसलाई होस नै हुन्नथ्यो, केही कुराको पनि ।
धुवाँ मनपराउनुस् तर धुवाँ नबन्नुस् ।
हामी सबै धुवाँ हौँ । बन्न पर्छ र ?

..उ त्यो दिन पनि उसैगरी आयो । उस्तै रुख्खाइलो आवाज ! मलाई बिस्तारै बिस्तारै उसको चुरोट पिउने अन्दाजसँग मात्रै होइन ! उसको रुखो आवाज, कम बोल्ने बानी, गन्हाउने जीउ, घुम्रीएका कपाल, कालो दारी, बाक्लो परेला, रिसाइहाल्ने बानी, टोलाइरहने आदत …सब्बैसँग प्रेम हुन थालेको थियो । म उसलाई बिस्तारै बिस्तारै मन पराउन थालेकी थिए ।

म डराउन पनि थालेकी थिएँ..,उसलाई के भएको छ ? उ किन यस्तो छ ? के उ सधैँ यस्तै हो ? कि उसलाई कुनै रोग छ ? उ बस्छ कहाँ ? उस्को नाम के हो ? उसको नजिकका मान्छे कोको हुन् ? के म पनि उस्को नजिकको मान्छे हो ? के उ पनि मेरो नजिकको मान्छे हो ?
…हो, उ मेरो नजिकको मान्छे हो !
तर उ हो को ?
म उसको प्रत्येक कुरा जान्न चाहन्थे !
तपाईं मलाई आफ्नो नाम किन बताउनु हुन्न ?
मलाई मेरो नाम थाहा छैन ।
यो त हासिमजाकको कुरा भयो । आफ्नो नाम सबैलाई थाहा हुन्छ ।
मलाई थाहा छैन ।
ठिकै छ । भन्न हुन्न भने म सोध्दिन ।
जान्दो हु त म भन्ने थिए । उसको बोलिमा रिस थियो ।
कहाँ बस्नुहुन्छ ?
मलाई थाहा छैन ।
भनेसी यो पनि जान्नु हुदैन होइन त ? थोरै हास्दै सोधेको थिए ।
अँ म जान्दिन ।
राती त मकहाँ आउनुहुन्छ । अनि दिउँसो ? दिउँसो कहाँ जानुहुन्छ ?
दिउँसो म सुत्छु ।
कहाँ गएर सुत्नुहुन्छ ?
जहाँ निन्द्रा लाग्छ ।
दिउँसो सुत्दा निद्रा लाग्छ ?
लाग्छ ।
र, राती ?
अहँ म निदाउन सक्दिन ।

फेरि उहीँ कुरा ! विगतका रातहरूमा उ आनन्दले निदाइरहेको छ, मेरो काखमा । उसलाई याद हुन्न कि उ भुलेजस्तो गर्छ ?…खै कुन्नी मैले कहिल्यै बुझिनँ उसलाई ।

मैले अरु पनि कुरा गरेकोथें, उसँग …
के गर्नुहुन्छ ? मलाई हर रात २,००० दिनुहुन्छ । कहाँबाट ल्याउनु हुन्छ ?
म तिम्लाई २ ह..ह…ह्ज….हजा….हजार दिन्छु ?
अँ दिनुहुन्छ ? किन तपाईंलाई याद छैन ?
म काँ दिन्छु । दिन्न् । मसँग पैसै हँुदैन ।
मलाई दिक्क लाग्छ उसँग ! किन यस्तो छ यो मान्छे ?
म सम्झिन सक्दिनँ …म केही पनि सम्झिन सक्दिन । उ फेरि सिग्रेट सल्काउँछ । तकिया च्यापेर रुन्छ….तकिया भरी खरानी झर्छ ।
धेरै चुरोट नखानुस् । धुवाँले असर गर्छ । म रिसाउँदै भन्छु ।
मलाई धुवाँ मनपर्छ । हामी सब धुवाँ हौ । मलाई धुवाँ मनपर्छ । मलाई धुवाँ बन्न मनपर्छ ।

मैले भने नि उसलाई सम्झाउन सकिन्न । उ सम्झिन सक्दैन । उ केही पनि सम्झिनै सक्दैन् । यतिसम्म कि उ आफू गत रात निदाएको कुरा पनि सम्झन सक्दैन । फेरि के–के कुरा गर्छ ।
त्यो दिन फेरि एउटा अर्को सेर सुनायो उसले ।
मान्छे एक कहिल्यै रहेन सदा बाडी नै रह्यो
मरेपछि पनि आधा धुवाँ आधा खरानी भयो ।
खै किन हो , मलाई उ भविष्यको एक प्रवल सम्भावना भएको लेखक हो झैँ पनि लाग्छ ।
तपाईं आफ्नो बारे कुनै पनि कुरा..कुनै एक कुरा..केही पनि …, तपाईं आफ्नो बारे के सम्झनुहुन्छ ?
यो घडीमा अर्लाम सधैँ एक रिङ को बज्छ, उ घाटिमा मालाझैँ घडी लगाउँछ । ओ ..यो कुरा मैले अघि नै भन्नू पर्ने थियो । उ त्यो घडी देखाउदै भन्छ,..“ यसको रिङ चेन्ज गरिदिन सक्छौ ?“
अर्लाम किन राख्नुहुन्छ ? निदाउन सक्दिनँ भन्नुभएको होइन ?
म राती निदाउन सक्दिनँ । दिउँसो निदाउछु । जब यो अर्लाम बज्छ…यो फोकट्ट्याको रिङ बज्छ…, म ब्युझन्छु । अनि मलाई सम्झना हुन्छ कि मलाई तिमीकहाँ आउनुछ । अनि म हतारहतार तिमीकहाँ आउँछु ।
मलाई उस्को यो कुराले ज्यादै अचम्मित बनाउछ । “अनि मलाई सम्झना हुन्छ कि..।“ उ म कहाँ आउने कुरा कसरी सम्झिन्छ ? जब कि मलाई लाग्छ उसलाई भुल्ने रोग छ । भोक नलाग्ने रोग छ । ननिदाउने रोग छ । एम्निसिया बिरामीले मलाई कसरी सम्झन्छ ?… तब मलाई उ प्रति शंका भयो ।

म कहाँ आउने बाहेक तपाईं अरू के सम्झनु हुन्छ ?
तिमी कहाँ आएर मलाई निदाउनु छ । म यो पनि सम्झन्छु ।
यो बाहेक ?
किन सोध्या ? तिमी बेश्या हौ कि पुलिस ?… मलाई त लाग्छ तिमी पुलिस हौ । हौ तिमी पुलिस ? भन मलाई को हो तिमी…? उ एकाएक पसिना निकाल्छ डराउँछ ।
रुन्छ । कराउँच ।
अनन्तत्ः म उसलाई अगाँलो मार्छु । उ शान्त हुन्छ । उसको छाती बेस्सरी धड्किरहेको हुन्छ ।
केही बेरपछि उ हाँसेको थियो । धेरै बेर हाँस्यो । कस्तो बौलाहा हाँसो हाँस्छ उ ! मलाई उ हाँसेको मनपर्छ । मलाई पनि हाँस्न कर गर्यो उसले । पहिले त असजिलो लाग्यो । अप्ठ्यारो भयो । पछि उ सँगसँगै हाँसिदिएँ । हामी दुवै धेरै बेर हाँस्यौँ ।

तिम्रो सपना के हो ?
किन सोध्नुभयो ?
भन न के हो ? उ अलिक बेग्लै लागेको थियो, त्यो दिन मलाई !
एउटा राम्रो केटासँग बिहे गर्ने । २ छोरा जन्माउने । कुनै इज्जतिलो काम गर्ने । तपाईंको ?
म निदाउने । मलाई निदाउनु छ ।
ए साच्चै तपाईं मान्नुस नमान्नुस तर तपाईं विगत ११ दिनदेखि म कहाँ आइरहनु भएको छ मेरो काखमा निदाइरहनु भएको छ ।
म कहाँ निदाए ? म निदाउन सक्दिनँ । मेरो सपना हो निदाउने । म कहाँ निदाए ?
मलाई मेरो कुरा टुङ्गाउन दिनुस्, अनि तपाईं बोल्नुस !
उ चुप हुन्छ । तपाईं विगत ११ दिनदेखि म कहाँ आइरहनु भएको छ । मेरो काखमा निदाइरहनु भएको छ । सपना त देख्नुहुन्छ होला नि ? सपना के देख्नुहुन्छ ? सपनामा के देख्नुहुन्छ ?
म आफू निदाएको देख्छु ।
हँ ! तपाईंलाई आफ्नो सपना याद छ ?
मलाई सपनामा आफू निदाएको याद छ ।
तपाईं त भन्दै हुनुहुन्थ्यो कि तपाईं निदाउनुहुन्न ।
अँ म निदाउन्न ।
अनि सपनामा आफू निदाएको कसरी सम्झनुहुन्छ ?
म सम्झन सक्दिनँ, म आपूm सपनामा निदाएको कुरा कसरी सम्झन सक्छु ? म धेरै दिनदेखि सपनामा आफू निदाएको देख्छु ।
जबजब सपनामा म आफू निदाएको देख्छु तब मलाई डर लाग्छ र म ब्युझन्छु ।
तपाईंलाई डर किन लाग्छ ?
सपनामा निदाएको देखियो भने चाँडै मरिन्छ रे !
नखाएर, नसुतेर चाइ मरिएला नि बरू । ओठमा थोरै हाँसो ल्याएर बोले ।
उसले आफ्नो ओठ थोरै पनि तन्काएन । उ केही बोलेन पनि ।

तपाईंलाई अरू कुनकुन सपना याद छ ? म सोध्छु ।
“मलाई अरू कुनै पनि सपना याद छैन ।“ उ भन्छ,“…बस्, म विगत १५ दिनदेखि एउटै सपना देखिरहेको छु, जहाँ म आफू निदाएको देख्छु । मलाई यो सपना याद छ, बस् यै ..यै सपना । मात्रै यस्तै यस्तै सपना देख्छु ।“

मैले उसको कुरा तपाईंले जस्तै केही पनि बुझ्न सकेको छैन । एउटा मान्छे यदि निदाउँदैन भने सपना कसरी देख्छ ? सपनामा, आफू निदाएको देख्न पनि त निदाउन जरुरी छ । छ कि छैन भन्नुस त ? तर उ निदाउथ्यो । उसलाई आफु निदाएको याद हुन्नथ्यो ।
उ के भन्थ्यो ?
भन्थ्यो– म निदाउनै सक्दिन ! म बिल्कुलै १५ दिनदेखि निदाएको छैन । जब कि उ ११ औँ दिनसम्म मेरो काखमा निदायो ।

र, त्यसपछि ? ११ दिनपछि ?
उ आएन । उ म कहाँ आएन ।
उ कहाँ गयो ?
म जान्दिनँ उ कहाँ गयो ? उ म कहाँ आएन ।
केही अन्दाज लगाउन सक्नुहुन्छ ? उ कहाँ गयो होला ?
मर्यो होला । यदि उ मरिसक्यो भने उसको लागि धेरै राम्रो हुनेछ । उसको मृत्यु स्वयं उसको लागि फाइदाजनक ठहरिनेछ ।
कसरी ?
एक बिर्सने मान्छे । एउटा ननिदाउने मान्छे । भोक नलाग्ने मान्छे । तपाईं आफैँ भन्नुस् बाँचेर के गर्छ ? उ बाँच्नै सक्दैन । मलाई त लाग्छ, उ पक्कै मर्यो ।
उ देखिन्थ्यो कस्तो ?
एकदमै झुत्रो । दाह्री कपाल पालेको । कुनै दार्शनिक जस्तो । मात्रै यौटा उदास दार्शनिक जस्तो लाग्थ्यो ।
म जस्तो त होइन नि …? म सिग्रेट सल्काउछु ।
तपाईं त राम्रो हुनुहुन्छ । दाह्री कपाल मसिनो भएको । सुकिलो र हट्टाकट्टा । म फ्यान हुँ तपाईंको । तपाईंको राइटिङले मलाई लोभ्याउँछ । एकदिन सोधेको थियो–
राजु तिमी के खाएर लेख्छौ ?

म हाँस्छु । धेरैबेर हाँस्छु । सिग्रेट तान्दै हाँसिरहन्छु ।
किन हाँस्नुभयो ? तपाईं किन हाँस्नुभयो ? म त तपाईंलाई मेरो कथा सुनाउँदै छु ।
म हाँसिरहन्छु । म हाँस्नु मै भेटाउँछु जीवनदर्शन ।
तपाईं मकहाँ आउनुभयो । तपाईं एक लेखक, म बेश्याकहाँ आउनुभयो । यति बुझ्ने मान्छे । जान्ने मान्छे । म बेश्याको कथा, जो विगत एक महिना अगाडि घटेको हो । म हुबहु तपाईंलाई सुनाउँदै छु र पनि तपाईं रुनुहुन्छ ? कि हाँस्नुहुन्छ यसरी ?
म हाँसि नै रहन्छु । जवाफ यही दिएँ ।
तपाईं हाँस्न बन्द गर्नुस् त ! एँ अँ तपाईं पनि सिग्रेट पिउनुहुँदो रहेछ हगि ?
पिउँछु । किन ? लेखकहरूले चुरोट पिउन हुन्न र ?
होइन…हुन्छ । तर तपाईं र उसको सिग्रेट पिउने अन्दाज उस्तैउस्तै लाग्यो र नि ।
हँ ? मैले मनमा लागेको भनिदिएँ– उ झस्कियो ।
म उ थोडी हो ! ….म यति मात्रै भन्छु ।
हाहा, त्यो त हो तर यसैगरि उ पनि चुरोट पिउथ्यो ।

म खुसुखुसु मुसुमुसु हाँसिरहन्छु । सिग्रेट तानिरहन्छु ।
तपाईंलाई के लाग्छ लेखक भन्छु, “त्यो मान्छे जिउँदै होला कि मर्यो होला ?“
म हाँस्न बन्द गर्छु । सिग्रेट ऐस्ट्रेमा निभाउँछु र भन्छु, “तिमीलाई के लाग्छ ? म जिउँदै छु कि मरिसके ?“
तपाईंको मतलब ? ….
तिम्रो मतलब ? …. म उसको हात मेरो छातीमा लगिदिन्छु ।
जब उसको हात छातीमा टाँसियो तब छट्पटी रहेका
मुटु चुपचाप आफ्नै गतिमा चलिरह्यो ।

“…मतलब ?
तपाईं ? त्यो….मान्छे ?
त्यो…. मान्छे ? तपाईं ?…“
उनी टुलुटुलु हेरिरहिन् ।
म पनि टुलुटुलु हेरिरहेँ । जसरी चिह्याउँछ जूनले साँझ । हेर्दाहेर्दै हामी दुवैको आँखा रसाए । समान गतिमा एकैसाथ खसे परेलाको टुप्पोबाट आँसु । हेर्दाहेर्दै फुटे ! आ–आफ्नै छातीमा ठोकिएर आँसुको बेलुन ।

हामी छुट्नु अघि हामीले पढेको यौटा निलो डायरी पनि यही हो जसको असाध्यै माया लाग्छ ।

सम्बन्धित खवर

Back to top button