मुक्तक
–गंग ‘विवश’ आर.सी.
१.
नियाल्दा नियाल्दै जिन्दगी दुरविन भइसकेछ
खाई लाग्दो यो ज्यान पनि क्षीण भइसकेछ
कति छ भनेर औंलामा हिसाव किताव गर्दा
कठैबरा जिन्दगी समयमा विलिन भइसकेछ
२.
देश हाँक्नेहरु जति लाज पचाएर हिड्छन्
भ्रष्टाचारीहरु जति टन्न अघाएर हिड्छन्
दिनरात गिट्टी कुट्नेहरु भोकै नाङ्गै छन् यहाँ
भाषण गर्नेहरु जति टाइसुट लगाएर हिड्छन्
३.
घरघरमा मान्छेहरुका लास हुनेछन्
एकदिन सारा बस्तीहरु उजाड हुनेछन्
यूवाहरु यसरी खाडीतिर पलायन हुँदै गएभने
हामीले जोतेका खेतहरु पनि पहाड हुनेछन्
४.
सरकारका मन्त्रीहरु दुईतिहाईमा रमाईरहेको देखेर
भाषणमा पानीजहाज अनि मेट्रोरेल चलाईरहेको देखेर
यो देश त यिनीहरुको खेलौना जस्तो लाग्न थाल्यो
उखान टुक्कामा नै जनताहरुलाई उडाईरहेको देखेर