कतारको ‘इद फेस्टिवल’ बाट उठेको रकम गौतम बुद्ध रंगशाला निर्माणमा लागि
कतार । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेशनको सहयोगार्थ आगामी २३ जेठमा कतारको दोहामा ‘नेपाल आइडल, बुगीबुगी इद फेस्टिवल’ हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व उपसंयोजक प्रवीन गुरुङले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।
कतारको सनैयास्थित ग्रान्ड मलको एसियन टाउन एम्पिथियटरको हलमा हुने कार्यक्रममा नेपाल आइडलको सिजन-२ का विजेता रवि ओड , बुगीबुगी सिजन एकका विजेता कविता नेपालीलगायतकाे प्रस्तुति रहने गुरुङले बताए ।
पत्रकार सम्मेलनमा गुरुङले कार्यक्रमबाट आर्थिक संकलन कम भए आफूले धुर्मुस सुन्तली फाउन्डेसनलाई रंगशाला निर्माणका लागि दश लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । वैदेशिक रोजगारमा गएका नेपालीले कतारमा इद बिदाको सदुपयोग गरी मनोरञ्जन गर्न पाउने र गौतम बुद्ध रंगशालाको निर्माणमा सहयोग हुने भएकाले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
फेस्टिभल आयोजक समितिका सल्लाहकार सागर नेपालले नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा समेत मनाउन लागेकाले त्यसमा सहयोग पुग्ने विश्वास आयोजकले गरेकाे बताए ।