युद्ध व्यापारिक ब्रिफिङवालाले नाशकाे बाटाे सिकाउँदैछन्

सरकार! सबै खालका आक्रोसको गहिराइलाई बुझ्ने हो भने त्यहाँ मान्छेका अधुरा र अपुरा आवश्यकता छन् । यी अपुरा आवश्यकताको नजर अन्दाजले महाभारत देखी विश्व युद्द भएका थिए । यो साक्षरता सरकारलाई कस्ले देला ! प्रहरीलाई कस्ले सम्झाउने कि पात्र होइन- मुद्दाले बिद्रोही जन्मिन्छ । सुकुम्बासीको पक्षमा लडेको युवा नेतालाई गोली हान्दा हजारौ सुकुम्बासिको झुपडी भित्र यो हत्याको अर्थ के लागिरहेको होला ? यसरी पदमा बस्नेको प्रतिशाेधले मुलुक चौपट भएका दर्जनौ उदाहरण छन् । होइन नेपालमा कम्युनिष्ट हुनु अपराध र जनताका अधुरा आवश्यकताको प्रतिनिधित्व गर्दै अझ न्यायोचित र उन्नत व्यवस्थाकाे बहस नै गर्न नपाउने हो भने हजारौ सहिदको बलिदानीलाई के जवाफ दिने ?

जनताले कसैलाई सधैंको लागि पारीत गर्दैनन्, राज्यको चरित्र र भरोसा लायक/नलायकपन देखेर बिकल्प आँफै जन्माउँछछन् । बिकल्प मार्ने तिर जब सत्ता पुग्छ, त्यो ठण्डा अवस्था हो । जमेको अवस्था । यस्तो अवस्थामा मर वा मार होइन, भिन्न तरिकाले बाँच्न सिक्नु पर्छ । सार्वभाैम जनताले तपाइँको पदावधी वा अर्को निर्वाचन पर्खन्छन् भन्ने हुँदैन । उनीहरुका आवश्यकता आजको काम, बेलुकीको खाना, हिजो मागेको घुस, पर्सी छोरीको बिहे, पसलेले सुनाएको भाउ र गाउँमा बिकासको बजेट सक्नेले मिलेर खाए, श्रीमान खाडीबाट जिउँदो फर्केलान नफर्केलान यी आदी कुरासँग मतलब छ ।

५ बर्ष तपाईंको साततारे जिन्दगी सुरक्षित छ कि छैन सँग उनीहरुलाई मतलब छैन । यहाँ काठमाडाैंमा डिआइजि भेला पारेर तपाईं स्थिरताको ग्यारेण्टी खोज्नुहोला ठिकै छ तर त्यो चहानाले जनताका अधुरा आवश्यकता उत्तरित गर्लान् त ? सरकार प्राविधिक भयो भने जनता आफ्नो भावना उपेक्षित भएको ठान्छन् नै । जुन प्राविधिक र प्रशासनिक मेडीसिन प्रयोगमा उत्रनु भएको छ, यो भन्दा ठुलो रेजिमको मेडीसिनसँग जनता बानी परेका छन् ।

अधिकारको सवाल उठाउनेहरु मौन छन् किनकी उनीहरु सरकारको कुभलो हेरिरहेका छन् । अहिले राजनीतिक सोच होइन आपसी लडाईंमा राता झन्डा जमिनमा ढलेको देख्न चाहनेहरु कुनामा बसेर खुचिङ भन्दैछन् । सरकारलाई दमनको उर्जा दिने ती मान्छे हुन जो बाचुन्जेल हेग सम्झाउने र मर्नेबेला तपाईं उसैको निम्ती रोएको देख्न चाहन्छन् । समग्रमा मैले यो भन्नु छ कि हरेक पटक गोली चल्दा तपाईंले पाएको मत मध्य १ लाख मत अविश्वासको पक्षमा जान्छ । पछाडिका बाह्य कारणको पन्तरो अहिले खोतलेर पनि काम छैन, किनकी तपाईंहरुले खाटी किसिमको सत्ताको चश्मा लाउनु भएको छ । युद्ध व्यापारिक ब्रिफिङ र तपाईंहरुको नाशको बाटो सिकाउनेहरु भित्रिया भएका छन् ।

इत्तेफाक नै भन्नु पर्छ, हाम्रो नाता जनतासँग र तपाईंको नाता जनविरोधिसँग जोडीयो, एउटै घरमा हुर्केका भएपनि । धेरै बिग्रेको छैन अझै ।पुग्ने ठाउँको पीर हो भने तपाईंलाई पनि जनताले पुर्याउलान त्यो सपनाको गणतव्यमा । तर ‘म पनि जान्न र तिमीहरु पनि नजाउ’ भन्ने हो भने जनताको लस्कर निर्मम हुन्छ । भीरबाट खासालेर अगाडि बढ्छन् । सम्झिनुस त एकपटक ती सबै पूर्वमन्त्री र पदाधिकारी जसकाे तस्बीर भित्तामा जरुर छ तर जनताको नजरमा कहाँ छन् ?

मेरो बुझाई र मैले एकित्रित गर्न सक्ने अनुमान यत्ती हो कि- तपाईंका आजका समाधान भोलिका ग्लानी नबनुन् । ईतिहासले हामीलाई ग्लानी नदोहर्याउने चेतना दिन्छ, सत्ताले एउटा हास्यास्पद घमण्ड । जनताले कसैलाई पनि ‘युद्द’को माहोल बनाउने अभिभारा दिएका छैनन् । आजको जनता आफ्नो सुरक्षा आँफै गर्न सक्छन्, डर उनीहरुलाई सरकारको छ । सरकार जनताको पक्षबाट लड्ने हो भने, भ्रष्ट, तस्कर, माफिया, कालोबजारी, राष्ट्रघाती एजेण्ट, बेरोजगारी, मिचिएका सिमा, निगमहरुको दादागिरी, कब्जा गरिएका नदी, असुरक्षित किशोरीहरु, दुरदराजको रोग,भूमाफिया आदीसँग लडोस् ।

एउटा निहत्था राजनीतिक अभियान्ताको नियोजित हत्याले ‘शान्तिका पक्षधर- सबैलाई स्तब्ध’ बनाएको छ । कही सत्य त्यस्तो नहोस् -सरकारको काधमा अर्कैको वा प्रतिसोधको बन्दुक ।

सम्बन्धित खवर

Back to top button