नेपालका ४ सिमेन्ट उद्याेग कारवाहीमा


काठमाडौं : नेपालका चार सिमेन्ट उद्याेग का रबाहीमा परेका छन् । गुणस्तर तथा नापतौल विभागले कम गुणस्तरको सिमेन्ट उत्पादन गर्ने ४ सिमेन्ट उद्योगलाई कारबाही गरेको हाे । विभागले नेपाल अल्ट्राटेक सिमेन्ट, चितवन सिमेन्ट, अम्बुझा सिमेन्ट र जानकी सिमेन्टलाई कारबाही गरेको हो ।
‘ती उद्योगले उत्पादन गरेका ओपीसी र पीपीसी सिमेन्टमा आइआर र एमजिओको मात्रा उच्च पाइयो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘जसले गर्दा कारबाही प्रक्रिया अघि बढाएका छौं।’



विभागले असारमा २५ सिमेन्ट उद्योगको नमुना संकलन गरेको थियो। जसमध्ये नेपाल अल्ट्राटेकको ओपीसी उत्पादन आइआर नेपाल गुणस्तर अनुसार थिएन। उक्त सिमेन्टलाई बिक्री बितरणमा रोक गरी स्पष्टीकरण माग गरिएको उनले बताए। चितवन सिमेन्टको पीपीसी उत्पादनमा पनि आइआरको समस्या रहेको इजाजत पत्र रद्द गरिएको छ।’
पटक-पटक परीक्षण र निर्देशन दिँदा पनि सुधार भएन,’ उनले भने, ‘उक्त सिमेन्टको इजाजत रद्द गरेका छौं।’ विभागका अनुसार आइआर भनेको मिसावटलाई जनाउँछ। धेरै मिसावट हुँदा बलियो हुँदैन। यस्तै, अम्बुझा सिमेन्टको पनि इजाजत पत्र स्थगन भएको छ। उक्त उद्योगले उत्पादन गर्ने ओपीसी सिमेन्टमा एमजिओको प्रतिशत उच्च फेला परेको थियो। ‘ओपीसीमा एमजिओको अधिकतम मात्र ६ प्रतिशत मात्रै हो। तर, नमुना परीक्षण गर्दा ७.३ प्रतिशत फेला पर्यो,’ महानिर्देशक पुडासैनीले भने, ‘जसले गर्दा इजाजत पत्र स्थगन गरेका छौं।
सुनसरीमा रहेको जानकी सिमेन्ट इन्डष्ट्री प्रालिको ओपिसी उत्पादनमा पनि बिक्री वितरण रोक लगाइएको छ। विभागका अनुसार ओपीसीमा आइआर, एलएसएफको मान नेपाल गुणस्तर अनुसार थिएन। ‘कैफियत भेटिएकाले बिक्री वितरणमा रोकगरी स्ष्टीकरण माग गरेका छौं,’ उनले भने। कान्तिपुर दैनिकबाट ।
हेर्नुस् विज्ञप्ति