उपनिर्वाचनः साउन १६ भित्र नाम दर्ता भएकाले मात्रै मतदान गर्न पाउने
काठमाडाैं : उपनिर्वाचनकाे मतदानमा सहभागी हुनका लागि साउन १६ गतेभित्र नामावलीमा नाम दर्ता भएकाे हुनुपर्नेछ । १४ मंसिरमा हुने उपनिर्वाचनमा १६ साउनसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नेपाली नागरिकले मात्र मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले १६ साउनसम्म मतदाता नामावलीमा नाम दर्ता भएका र सोही मितिसम्म १८ वर्ष पूरा भएकाहरू मात्रै मतदानमा सहभागी हुन पाउने निर्णय गरेको हो ।
मतदाता नामावली ऐन २०७३ को दफा ६(ख)मा मतदाताको उमेर १८ वर्ष पुग्नुपर्ने मिति निर्वाचन आयोगले तोक्नुपर्ने व्यवस्था छ । त्यही प्रावधानअनुसार आयोगले मतदाता १८ वर्ष पुग्नुपर्ने मिति १६ साउनलाई तोकिएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।
‘उपनिर्वाचन प्रयोजनका लागि साउन १६ गतेसम्म नाम दर्ता गराएका र मतदाता नामावली ऐन २०७३ को दफा ६(ख) बमोजिम मतदाताको उमेर १८ वर्ष तोक्नुपर्ने प्रावधानअनुरूप १६ साउनमै १८ वर्ष पुगेको हुनुपर्ने तोकिएको छ,’ प्रवक्ता खरेलले भने ।
आयोगले अर्को व्यवस्था नभएसम्मका लागि १७ साउनदेखि मतदाता नामावली दर्ता रोकेको छ । १६ साउनसम्म संकलन भएका नामावलीका विवरण अद्यावधिक गरी आयोगमा पठाउन सम्बन्धित निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । आयोगले जिल्लाबाट आएका नामावली एक महिनाभित्र प्रशोधन गरिसक्नेछ ।
त्यसपछि नामावलीमा दाबी–विरोधका लागि पाँच दिनको समय दिएर सम्बन्धित निर्वाचन कार्यालयमा पठाइनेछ । त्यहाँबाट सच्चिएर आएका नामावली प्रशोधनपछि अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । त्यो कार्य भदौ मसान्तसम्म सक्ने लक्ष्य रहेको प्रवक्ता खरेलले बताए । अन्तिम मतदाता नामावली प्रकाशित गरेपछि मात्रै निर्वाचनका अन्य कार्यक्रम अगाडि बढाउने तयारी आयोगको छ ।
५५० मतदान केन्द्र, ४६ मतदान अधिकृत
आयोगले १४ मंसिरमा प्रतिनिधिसभा १, प्रदेश सभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्लाका ४१ वडाध्यक्ष निर्वाचित गर्न निर्वाचन गर्दै छ । ५० पदका लागि एक सय ५४ वडामा निर्वाचन हुने प्रवक्ता खरेलले बताए । अहिलेसम्म पाँच सय ५० मतदान केन्द्र राख्ने तयारी आयोगले गरिरहेको उनले बताए । ४६ निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ ।
५० पदका लागि करिब ५ लाख मतदाताले मतदान गर्ने अहिलेसम्मको आकलन आयोगले गरेको छ । निश्चित मतदाता संख्या भने मतदाता नामावली निक्र्योल भएपछि आउनेछ । आयोग अहिले निर्वाचनको कार्यविधि बनाउने, साधनस्रोतको आकलन गर्ने र जनशक्ति कति चाहिन्छ त्यो आकलन गर्ने तयारीमा जुटेको प्रवक्ता खरेलले बताए । ‘अब एक साताजतिमा साधनस्रोत, जनशक्ति र निर्वाच्न कार्यविधिको काम सकिन्छ,’ प्रवक्ता खरेलले भने । याे सामग्री नयाँ पत्रिकाले तयार पारेकाे हाे ।