महराको गल्तीमा म किन सती जाने ? : उपसभामुख तुम्बाहाङ्फे

काठमाडौँ — संघीय संसदको पाँचौं अधिवेशनमा प्रतिनिधिसभाको पहिलो महत्वपूर्ण एजेन्डा सभामुख चयन हुने भएको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा पूर्वएमालेबाट हुने कि पूर्वमाओवादीबाट हुने भन्ने बहस जारी छ । सभामुखमा पूर्वएमालेबाट सुवासचन्द्र नेम्वाङ र हालकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको तथा पूर्वमाओवादीबाट अग्नी सापकोटाको दाबी छ । सभामुख निर्वाचनको विषयमा उपसभामुख डा. तुम्बाहाङ्फेसँग इकान्तिपुरका जयसिंह महराले गरेको कुराकानी :

संघीय संसद प्रतिनिधिसभाको पाँचौ अधिवेशन आह्वान भएको छ। सुरुमा सभामुखको निर्वाचन हुने निश्चित छ। तयारी कस्तो भइरहेको छ?

संसद बैठकको आह्वान भइसकेपछि सबै पूर्वतयारी गरिसकेका छौँ। बैठक कक्षहरूमा आवश्यक पर्ने सबै व्यवस्था गरिसकेका छौँ। पुसको ४ गते ४ बजे बैठक बस्छ। हाम्रो सभामुख पद रिक्त छ। त्यसका लागि निर्वाचन प्रक्रियालाई अगाडि बढाउनुपर्ने हुन्छ। त्यसका लागि कार्यव्यवस्था परामर्श समिति बैठक बसेर कार्यसूची तयार गर्छौँ।

सभामुखको निर्वाचनका लागि तपाईंले उपसभामुख पद खाली गर्नुपर्ने होला, त्यसको तयारी के छ?

प्रक्रिया कहिले प्रारम्भ गर्ने भन्ने विषय कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्छौँ। त्यसपछाडि मात्रै कहिले हुन्छ (राजीनामा), के हुन्छ भनेर टुंगो लाग्छ। अहिले त बैठक आह्वान मात्रै भएको छ।

सत्तापक्षले सभामुख पद लियो भने उपसभामुख पद सत्तापक्षको तर्फबाट मैले छोड्नुपर्छ। मैले यसो भनिरहँदा लाग्न सक्छ कि यो पार्टी बिनाको मान्छेले कसरी सत्तापक्षको दलको कुरा गरिरहेको छ? यो कुरालाई हामीले कसरी बुझ्नुपर्छ भने जतिबेला म माननीय (उपसभामुख) बनेर यहाँ आएँ र प्रतिनिधिसभाका सबै माननीय सदस्यहरू कुनै न कुनै दलबाट आउनुभएको छ। दलले उम्मेदवार बनाएर नै निर्वाचित भएको अवस्था हो। त्यतिबेला सभामुख र उपसभामुख फरक–फरक दलको भएको अवस्था थियो। अहिले दुवै पार्टी मर्ज (एकता) भएको अवस्था छ। अहिले सभामुख पदको निर्वाचन गर्दाखेरि संविधानको त्यो व्यवस्था (सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने) कार्यान्वयन गर्नुपर्छ।

संविधान कार्यान्वयन गर्नुपर्दा सत्तापक्षले सभामुख पद लियो भने उपसभामुख पदबाट मैले जुन व्याख्या गरे त्यो आधारमा राजीनामा गर्नुपर्छ। त्यसपछाडि मेरो भूमिका के हुन्छ त भन्ने विषय सम्बन्धित दलसँग छलफल गर्नुपर्छ। सम्भवतः त्यो दलले बोलाउला भनेर मैले बाटो हेरिरहेको अवस्था छ। त्यसपछाडि के हुन्छ अनि टुंगो लाग्छ।

सम्बन्धित खवर

Back to top button