अमेरिकामा ज्यान गुमाएका भनिएका व्यक्ति जिवितै


काठमाडौं : अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको भनिएका एक नेपाली जीवितै रहेको पाइएको छ । अमेरिकामा रहेका नेपाली ङिमा तेम्बा शेर्पालाई भर्ना गरिएको अस्पतालले शनिबार उनका परिवारलाई उनको मृत्यु भएको खबर दिएको थियो । उनका दाजु ल्हाक्पा युला शेर्पाले शनिबार मृत्युको खबर आएको फेसबुकमार्फत जनाएका छन् ।
दाजु ल्हाक्पाका अनुसार अस्पतालले उनको मृत्युको खबर दिएपछि परम्पराअनुसार उनको नाममा पूजापाठ समेत गरिएको थियो । अस्पतालले दिएको सूचनाका आधारमा परिवारले आफन्त र इष्टमित्रलाई ङिमाको मृत्यु भएको जानकारी दिएपछि विभिन्न किसिमले उनीप्रति श्रद्धाञ्जली दिने क्रम समेत सुरु भएको थियो । तर, अचानक उनी जीवितै रहेको खबर प्राप्त भएको दाजु ल्हाक्पाले एउटा फेसबुक पोस्टमार्फत जानकारी गराएका छन् ।



दाजु ल्हाक्पाले पोस्टमा उल्लेख गरे अनुसार आइतबार बिहान फेरि उनको परिवारले अस्पतालमा सम्पर्क गरेको थियो । अस्पतालमा सम्पर्क गर्दा आइतबार बिहान अस्पतालले उनको मुटु चलिरहेको जानकारी दिएको ल्हाक्पाले उल्लेख गरेका छन् । उनले आफूहरुले नै दिएको सूचनाका आधारमा आफन्त र इष्टमित्रले श्रद्धाञ्जली दिएको हुँदा परिवारले यसलाई अन्यथा नलिने समेत उल्लेख गरेका छन् ।
पछिल्लो समय कोरोनाभाइरसको प्रकोपका कारण अस्पतालमा जो कोहीले प्रवेश नपाउने र अस्पतालले दिएको सूचनामै भर पर्नुपर्ने भएकोले यस्तो हुन गएको भन्दै उनले गलत सूचनाका कारण सृजना हुन गएको असहज परिस्थितिप्रति क्षमायाचना समेत गरेका छन् ।








