अछाममा मंगलबार कोरोना परीक्षण गरिने


अछाम, २४ चैत : अछाममा दुई सय जना बढीलाई मंगलबार कोरोना परीक्षण गरिने भएको छ । त्यसकालागि नेपाली सेनाको हेलीकोप्टर मार्फत चिकित्सकको टोली जिल्ला आउदैछ ।
मंगलसेन, कमलबजार र बयलपाटामा गरी तीन ठाउँमा कोरोना परीक्षण सेन्टर स्थापना गरिने छ । जसमा जिल्लाका प्रत्येक स्थानीय तहका १०/१० जना र क्वारेन्टाइनमा रहेका सबै तथा जिल्ला अस्पताल मंगलसेन र न्याय हेल्थ बयलपाटामा उपचार गराइरहेका शंकास्पद बिरामीलाई समेत कोरोना भएनभएको परिक्षण गरिने अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभएको छ ।



उहाँका अनुसार कमलबजार र बयलपाटामा स्थापना गरिने चेकजाँच केन्द्रमा सम्बन्धीत क्षेत्र अन्र्तगतका पालिकाबाट आएकाहरुको स्वास्थ्य परिक्षण गरिने छ भने मंगलसेनमा जिल्ला अस्पताल र कृषि ज्ञान केन्द्रको भवनमा रहेको क्वारेन्टाइनबाट चेकजाँच गरिने छ । अहिले मंगलसेनको कृषि ज्ञान केन्द्रको भवनमा ५३ जना क्वारेन्टाइनमा बसीरहेका छन् ।
कोरोना भएनभएको अवस्था पत्ता लगाउन दुईसय जनाको स्वास्थ्य परिक्षण गरिने भएकाले सबै स्थानीय तहहरुमा पनि त्यही बमोजिम समन्वय भइसकेको छ । कोरोना परीक्षणका क्रममा भीडभाड हुन नदिन दुरी व्यवस्थापन गर्ने तथा कर्मचारी, पत्रकार र अन्य आवश्यक क्षेत्रका व्यक्तिलाई समेत सिमित मात्रामा दुरी कायम गरेर मात्र प्रवेश गराउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
साथै अछाम जिल्लाको मंगलसेनसहित अन्य ठाउँमा अटेर गरेर ओहोरदोहोर गर्ने मानिसहरुको संख्या पूर्ण रुपले घट्न नसकेपछि मंगलबारबाटै शसस्त्र प्रहरी परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार स्वास्थ्यकर्मी र पत्रकारलाई आवश्यक मात्रामा निश्चित ठाउँमा आउनजान दिइने भएपनि अन्य कुनैपनि व्यक्तिलाई हिडडुल गर्न दिइने छैन् । यदि कसैले निषेधाज्ञाको अवज्ञा गरे तत्काल पक्राउ गरिने समेत जानकारी दिए । सरकारले लकडाउन बढाएपछि जिल्लामा समेत थप कडाई गरिएको हो ।








