सडक सञ्जालमा जाेडियाे बारेकाेट गाउँपालिका

जाजरकोट, १८ वैशाख : बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सडक सञ्जालसँग जोडिएको छ । लामाे समयपछि जिल्लाकाे विकट मानिने याे गाउँपालिका सडक सञ्जालसँग जाेडिएकाे हाे ।  सदरमुकाम खलंगाबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा ‘ट्रयाक ओपन’ भएसँगै यातायातका साधन सञ्चालनमा आएका छन् ।

नलगाड जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल रहेको बारेकोटमा सडकको ‘ट्रयाक ओपन’ भएसँगै यातायात साधन सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिकाको कालीमाटीसम्म ३५ किलोमिटर सडक जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्दछ । नलगाड नगरपालिकाको कालीमाटीदेखि सिर्केसम्मको २२ किलोमिटर सडक नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग जानका लागि आयोजनाले निर्माण गरेको हो ।

कालीमाटी हुँदै लैखमसम्म नलगाड नदीको तीरैतीर अर्को पहुँच मार्ग निर्माण गरी बारेकोट गाउँपालिकाको वडा–७ लैखमसम्म सडक जोडिएको छ । अर्को कालीमाटी हुँदै खनटाकुराबाट सिर्के जोडेर बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सासँग सडक जोडिएको गाउँपालिकाले जनाएको छ ।

नलगाड नदीको खारामा पुल निर्माण कार्य ढिलो हुँदा नलगाड नदीको किनारै किनार यातायातका साधन सञ्चालन गर्न सकिएको छैन । त्यस्तै सिर्कोदेखि बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सासम्मको १३ किलोमिटर सडक गाउँपालिका आफैले निर्माण गरेको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए ।

नलगाड जलविद्युत् आयोजना बाधस्थल अर्थात् सक्ला ध्यापाटाकुरादेखि लिम्सासम्मको १२ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु आठ करोडको बोलपत्र आह्वान भइसकेको शाहले जानकारी दिए । गाउँपालिकाको ५० प्रतिशत बजेट र सङ्घीय सरकारको ५० प्रतिशत बजेटबाट स्तरोन्नतिको काम हुन लागेको शाहको भनाइ थियो ।

गाउँपालिकाले रु चार करोड ५० लाख बजेटबाट आफ्नो क्षेत्रको सडक निर्माण गरी अस्थायी ‘ट्रयाक’ खोलेको हो । कर्णाली प्रदेशकै सा’मरिक महत्वको नलगाड जलविद्युत् आयोजना ९४१७ मेगावाट निर्माणका लागि डिपिआरको कामदेखि अन्य विकास निर्माणको कामलाई यो सडकले विशेष महत्व दिइएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए ।

सङ्घीय सरकारको विशेष महत्वको रुपमा रहेको यो आयोजना निर्माण गर्न सहज हुने पहिलो मार्ग नै यो सडक रहेको सिंहको भनाइ छ । जुम्ला र डोल्पाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिका जडीबुटीको भण्डारको रुपमा परिचित छ । माथी तीर नलगाड नदीको उद्गमस्थल सहित अग्ला हिमाल र तल तीर नलगाड जलविद्युत् आयोजना निर्माणस्थल भएका कारण यसको महत्व अन्य स्थानीय तहको भन्दा फरक रहेको छ ।

सडक सञ्जाल नहुँदा यहाँ खाद्यान्न, निर्माणका सामग्रीदेखि अन्य विभिन्न वस्तु ढुवानीमा समस्या भोग्दै आएका यहाँका स्थानीयवासी सडक निर्माणसँगै सहजता आउँने भन्दै खुशी भएका छन् । पुर्खौदेखि पिठ्यूमा आफै भन्दा बढी तौलका भारी, नाम्लो सहायताले बोक्दै बारेकोट लिन र बाहिर पठाउने काम गर्दै आएका तीन हजारभन्दा बढी घरधुरीहरु सडक सञ्जालमा जोडिएसँगै दुःखका दिन गएको प्रतिक्रिया दिन थालेका छन् ।

घोडा, खच्चडको भरमा दैनिक आवश्यकतासँग जु’झ्दै आएका सर्वसाधारण अब गाडीसँग मितेरी गाँसेर दैनिक कामकारवाही सञ्चालन गरिरहेको बारेकोट गाउँपालिका–५ का खड्क शाहीले जानकारी दिए । गाउँपालिकाले अन्य सहायक सडक निर्माणको काम तीव्र पारेको बताइएको छ ।

जुम्लासँग सडक जोड्न लागि काम तीव्र पारिएको छ । कोरोना भाइरसको त्रासका बीचमा विकास निर्माणको कामलाई गति दिइएको गाउँपालिकाले जनाएको छ । बि’रामी हुँदा होस वा अन्य कुनै समस्या परेमा दुई दिन लगाएर सदरमुकाम आउने यहाँका स्थानीयवासी अहिले एक दिनमै सदरमुकाम आएर जान सक्ने अवस्था सिर्जना भएको छ । गाउँपालिकामा विद्युतीकरणका लागि सडक निर्माण भएकै ठाउँबाट पोल गा’डेर तार तान्ने काम केही दिनमै शुरु हुने नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button