बाली विनाशकारी जीव नियन्त्रण विधि

नेपालमा चौंधाैं योजना समापन हुँदासम्म कृषि पेशामा संलग्न जनसङ्ख्या ६०.४ प्रतिशत रहेकाे छ । कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रले करिब २६.९८ प्रतिशत स्थान ओगटेको छ । नेपालको बढ्दो जनसङ्ख्या कारण खाद्यान्न उत्पादन गर्ने कृषि क्षेत्रको प्रमुख दायित्व हो । नेपालको जनसंख्या गुणात्मक रुपमा वृद्धि भइरहेको छ तर खाद्यन्न उत्पादन परिमाणात्मक रुपमा मात्र वृद्धि भइरहेको छ । त्यसैले जीविकोपार्जन खेतीलाई विभिन्न प्रकारका प्रविधिहरुको प्रयोग गरेर कृषिलाई आधुनिकीकरण र व्यवसायीकरणमा रुपान्तरण गराउनु आजको आवश्यकता हो । विभिन्न बालीहरुको उत्पादन तथा उत्पादकत्व बढाउन उन्नत वीउविजनको प्रयोग, उपयुक्त मलखादको प्रयोग, नवीनतम् प्रविधिको अबलम्बन गर्नुको साथै बालीहरुलाई विनाशकारी जीवहरुबाट संरक्षण गर्नु आजको आवश्यकता हो ।

बाली विनाशकारी जीवहरू भन्नाले बालीनालीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हानी नोक्सानी गरी बालीनालीको उत्पादनमा परिमाणात्मक वा गुणात्मक अथवा दुबैरुपमा ह्रास ल्याउने कारक तत्वहरुलाई बुझिन्छ । सामान्य अवस्थामा बालीनालीको उत्पादनमा असर पुर्‍याउने प्राणीहरु सुलसुले, किरा, जुका, शङ्खेकिरा, मुसा, चरा आदि हुन् । बालीमा रोग उत्पन्न गराउने ढुसी, ब्याक्टेरिया, भाइरस आदि सूक्ष्म जीव, झारपात, ठूला तथा साना साकाहारी जनावरहरू, रुख बिरुवाहरू सबै शत्रु जीव तथा विनाशकारी जीव/वस्तु अन्तर्गत पर्दछन् । यी यस्ता बालीनालीका रोग तथा किराहरुको सही तरिकाले व्यवस्थापन गर्न सके मात्र बालीनालीको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न सकिन्छ। मानिसहरू बालीनालीको उत्पादन गर्न सुरु गरे देखि नै बालीमा विभिन्न प्रकारका विनाशकारी जीवहरूले बालीनालीको उत्पादन र उत्पादकत्वमा असर पार्दै आएका छन्। ठाउँ विषेशमा बाली उत्पादन गर्ने कृषकहरुले उक्त समस्याको आ-आफ्नै ज्ञान र सीप प्रयोग गर्दै आए । समय र विकास सँगसँगै बालीनालीका विनाशकारी जीवहरूको नियन्त्रण गर्ने तरिका र साधनहरू पनि परिमार्जन हुँदै आए।

पछिल्लो समयमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने बहानामा भएका विभिन्न प्रविधिहरुको विकास र प्रयोगबाट वातावरण, वनस्पतिहरु, मित्रजीव तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने गरेको छ। विनाशकारी जीवहरूको व्यवस्थापन गर्ने धेरै तरिकाहरू छन् । ती विनाशकारी जीवहरूको नियन्त्रणका लागि पहिले हामीले तिनीहरुको नोक्सान तरिका थाहा पाउनु पर्छ त्यसपछि ती तरिकाहरू मध्ये हाम्रो स्वस्थलाई हानी नगर्ने, मित्र जीवहरुलाई नकारात्मक असर नगर्ने र वातावरण तथा पारिस्थितिक प्रणालीलाई नकारात्मक असर नपार्ने खालका प्रविधि तथा तरिकाहरू प्रयोग गर्नु नितान्त आवश्यक छ । अहिलेको परिप्रेक्षमा विशेषगरी नेपालमा प्रयोग भइरहेका विभिन्न विनाशकारी रोग किराहरुको नियन्त्रण तथा रोकथामका तरिका तथा प्रविधिहरु तल उल्लेखित छन्।

क) खेती गर्ने तरिका ( Cultural method)
यो तरिका कृषकले खेती गर्दा अपनाउने विभिन्न विधि वा क्रियाकलापबाट रोग तथा किरा रोक्ने वा तिनीहरुबाट बालीनालीलई बचाइ खेती गर्ने तरिका हो । यो तरिकालाई कृषिगत तरिका पनि भनिन्छ । यो तरिका कृषकहरुको अनुभवबाट खेती गरिने तरिका हो । यसमा कृषकको आफ्नै परिक्षण र अनुभव हुने भएकाले कृषिगत गरिएका कृषिगत तरिका हो । यो विधि कृषकहरु सजिलै ग्रहण गरी आफ्नो खेतबारीमा प्रयोग गर्छन्। यो तरिका पनि विभिन्न प्रकारले प्रयोग गर्न सकिन्छ –
अ) खनजोत (Ploughing)
खनजोत गर्दा माटोमा लुकिछिपी बस्ने विनाशकारी जीवहरू नियन्त्रण गर्न सकिन्छ । जस्तै खुम्रे, रातोकमिला, क्लव रुट, फेद कटुवा, नेमाटोड, भर्टिसेलियम, स्केलेरोटिनिया आदि । गर्मी मौसममा जोताई गरी कडा घाममा केही समय राख्दा सूर्यको प्रकाशबाट कोमला किराहरु, रोगका कारक तथा झारपातहरु मर्दछन् । धान खेती जस्तै अरु बालीहरुको हकमा राम्रोसँग खनजोत गरी पाँच छ दिनसम्म पानी डुबान गरेर पुनः खेत जोतेमा सबै झारपात नियन्त्रण गर्न सकिन्छ । यसरी यो विधिबाट विनाशकारी जीवहरूको नियन्त्रण गर्न सकिन्छ।

आ)सरसफाइ(Sanitation)
भाइरस, ब्याक्टेरिया, ढुसी तथा किराहरु रोगका कारक तत्व हुन् । यिनीहरू बालीनाली नभएको समयमा पनि वरपरका जङ्गली झारपात तथा वोटविरुवामा आश्रित रहेका हुन्छन्। साथै बाली भित्र्याइ सकेपछि पनि बाँकी रहेका बालीका ठुँटाहरु वा अवशेषहरुमा रहेका हुन्छन्। हामीले बाली भित्र्याइसकेपछि वा खेतीपाती गर्नुभन्दा पहिले झारपात वा बाँकी रहेका अवशेषहरू जलाएर वा खाल्डोमा पुरेर नष्ठ गरेमा ती विनाशकारी जीवहरूको नष्ठ बनाई नियन्त्रण गर्न सकिन्छ । विरुवाका रोगी भागहरु तथा रोगी विरुवाहरु तुरुन्त हटाएमा रोग फैलन पाउँदैन्।

इ) घुम्ती बाली (Crop Rotation)
एउटै जमीनमा विभिन्न बालीनालीलाई पालोपालो गरी लगाउनु नै घुम्ती बाली हो । फरक-फरक समयमा फरक-फरक बालीनाली लगाउँदा रोगकिराको प्रकोप कम हुन्छ किनकी एउटा बालीको रोग किराले अर्को बालीलाई मन पराउँदैन र रोगकिराको प्रकोप पनि कम हुन जान्छ । घुम्ती बालीमा फरक परिवारका बाली लगाउँनु नितान्त आवश्यक हुन्छ । घुम्ती बाली लगाउँदा माटोको सतहमा भएको खाद्यतत्व पनि उपयुक्त रुममा प्रयोग भइ उत्पादन वृद्धि हुनुका साथै माटोको गुणमा पनि राम्रो सुधार हुन्छ ।

ई) बाली लगाउने समय (Plantation time)
उपयूक्त समयमा बाली लगाउँदा रोगकिराको प्रकोप केही मात्रामा भए पनि कम गर्न सकिन्छ । खासगरी वरपरको समयौभन्दा अगाडि वा पछाडि बाली लगाउँदा उक्त बालीमा रोगकिराको आश्रय बढी हुने हुँदा बढी बाली विनाश हुने हुन्छ । त्यसैले उपयुक्त समयमा लगाउँनु पर्छ । जस्तै तराईमा पुष १५ देखि घाम पहिलो हप्तासम्ममा शीत लहर हुने हुँदा आलु र टमाटरमा डढुवा रोग फैलने सम्भावना हुन्छ त्यसैले शीतलहरबाट बचाउने गरी आलु तथा टमाटर लगाउने हो भने डढुवा रोगबाट बचाउँन सकिन्छ । त्यसैले असोजतिर आलु लगाएमा शीतलहर चल्ने बेला आलु तयार भइसक्छ । पौष महिनाको पहिलो हप्तातिर आलु रोपे पनि शीतलहर छल्न सकिन्छ । भिन्डी चैत वैशाखमा लगाएमा डाँठ र फलमा लाग्ने गवारो नशा पहेलिने रोगबाट बचाउँन सकिन्छ।

उ)मलखाद (Fertilizer /manuring)
उपयुक्त मात्रमा विरुवाको खाद्यतत्व मिलाएर दिनुपर्दछ । मलको मात्र बढी भए वा कम भएमा बालीमा रोग किराको प्रकोप बढ्न सक्छ । त्यसैले उपयुक्त मात्रामा मलखाद दिए रोग किरासँग लड्न सक्ने क्षमता बढ्न गइ रोगकिराको प्रकोप कम हुन् जान्छ।

ऊ) मिश्रित खेती (Mixed cropping)
फरक-फरक परिवारमा पर्ने बालीनालीहरुलाई एकैपटक एकै ठाउँमा मिसाएर लगाउँदा प्राय: धेरै रोग किराहरु एक अर्कामा असम्बन्धित हुने हुनाले बालीका धेरै रोगहरुको रोकथाम हुन सक्दछ । कुनै बालीमा आक्रमण गर्ने किराले अर्को बालीको गन्ध, स्वाद, रङ्ग आदि मन नपराउने हुन सक्छ त्यसैले मन नपराइ आक्रमण गर्दैन् र एक अर्काको सहयोगीको रुपमा अन्य बालीको संरक्षण गर्ने कार्य हुन्छ।

ए) रोग अवरोध विरुवाहरुको प्रयोग (Use of resistance varieties)
यो तरिका सबै बाली र सबै रोगहरुमा प्रयोग नहुन सक्छ तर कुनैकुनै बालीका जातहरु यस्ता हुन्छन् जुन जातले रोग किरा सहन सक्ने क्षमता/विशेषता हुन्छ । जस्तै मकवानपुर -१ धानको जात ढुङ्रगे किराको असर सहन सक्छ । अन्नपूर्ण -४ गहुँको जातले गहुँमा लाग्ने कालो पोके रोग सहन सक्छ। हालको समयमा पहाडतिर अत्यधिक लागिरहेको मकैको ध्वाँसे थोप्ले (Gray Leaf Spot) रोग सहन सक्ने क्षमता भएको मकैका जातहरु गणेश -१, मनकामना १, मनकामाना ३, हिलपुल पहेलो र देउती लगाएमा यो रोग कम लाग्छ मकैमा ।

ख) यान्त्रिक तरिका (Mecanical Method)
मानिसले सिधै आफ्ना हातखुट्टा प्रयोग गरेर वा यन्त्रहरुको प्रयोग गरेर विनाशकारी जीवहरूको नियन्त्रण गर्ने विधि नै यान्त्रिक विधि हो । रोग किरा नियन्त्रण गर्न यो विधि प्रभावकारी हुन्छ । यो तरिकामा पनि विभिन्न विधिहरुको प्रयोग हुन्छ । ती तरिकाहरू निम्न रहेका छन् –
अ) हातले संकलन गरेर मार्ने
बालीनालीमा असर पुर्‍याउने किराहरुलाई हातले जम्मा गरेर पानीमा डुबाएर, थिचेर वा खाडलमा गाडेर विनाशकारी जीवहरूको नियन्त्रण गर्न सकिन्छ । यो तरिकाबाट चुसेर वा चपाएर बालीनालीको नष्ट गर्ने किराहरु जस्लाई नाङ्गो आँखाले देख्न सकिन्छ। जस्तैः पुतलीका लार्भाहरु, खपटे, लागी, फटेङ्ग्रा आदि किराहरु यो तरिकाबाट नियन्त्रण गर्न सकिन्छ।

आ) यन्त्रहरुको प्रयोग
यस विधिमा किराहरुलाई समाउन विभिन्न प्रकारका यन्त्रहरु जस्तैः रातो उड्ने किराहरुको लागि लाइट ट्राप, माटोमा हिड्ने किराहरुको लागि मेटफल ट्राप, जालीहरु विभिन्न चप्कने पदार्थहरु आदि प्रयोग गरेर किराहरु संकलन गरेर मार्ने तरिका विनाशकारी जीवहरुको नियन्त्रण गर्ने गर्ने विधि हो।

इ) यान्त्रिक रोकावट

यस अन्तर्गत संवाहक किरा तथा आक्रमणकारी किराहरुलाई बारबन्देज गरेर किराहरुलाई बचाइन्छ । जस्तैः जमीनमा बस्ने तर पात खाने किराहरुलाई टाँसिने पदार्थ विरुवाको फेद वरिपरि लगाइदिँदा उक्त किरा चप्किन्छ र मर्छ । उदाहरणका लागि आँपको मिल्ली बग । त्यस्तै नास्पातीका फलहरुलाई कपडा वा जालीले बेर्दा अरिङ्गालहरुबाट वचाउन सकिन्छ । खेती गरिएको जमीनको वरिपरि कुलेशो, खोल्सो वा सुरुङ खनि अग्लो ढिस्को वा आली बनाउँदा फौजी किरा जस्ता विरुवाका दर्दनाक किराहरुको नियन्त्रण गर्न सकिन्छ।

ग) भौतिक तरिका (Physical Method)
भौतिक तरिकाले प्रकृतिमा परिवर्तन ल्याइ शत्रु जीवको लागि अनुकुल वातावरण सिर्जना गरेर विनाशकारी जीवहरू नियन्त्रण गर्ने तरिका नै भौतिक तरिका हो । रोग किराको वृद्धि विकास हुनको लागि निश्चित तापक्रम, आद्रता, हावाको सञ्चार आदिको आवश्यकता पर्दछ । यदि यी तत्वहरुलाई कम या बढी गरेर प्रतिकुल वातावरण सिर्जना गरिदिए तिनीहरुको वृद्धि विकास हुन पाउँदैन र विनाशकारी जीवहरु नियन्त्रण गर्न सकिन्छ।

घ) कानूनी तरिका (Legal method)
यो नेपाल सरकारले बनाएको रोगकिरा नियन्त्रण तथा रोकथाम सम्बन्धित कानूनको प्रयोग गरेर नियन्त्रण गर्ने विधि हो । यसले गर्दा एक देशबाट अर्को देशमा रोगकिरा फैलन पाउँदैन साथै एक देश भित्र पनि रोगकिरा फैलन पाउँदैन । नेपालले वोटिवरुवालाई संरक्षण गर्नका लागि विरुवा संरक्षण ऐन, २०६४ र बाली संरक्षण नियमावली २०६६ लागू गरेको छ । यसको प्रभावकारी कार्यन्वयनबाट नेपालमा रोग किराको प्रवेशमा रोक लगाउँन अन्तराष्ट्रिय सीमा नाकामा बालीको लागि मात्र पन्ध्र वटा क्वारेन्टीन तथा चेकपोस्टहरुको व्यवस्था गरेको छ साथै ठाउँठाउँमा आन्तरिक क्वारेन्टीनकाे व्यवस्था पनि गरेको छ । यसले देशमा नभएका विभिन्न रोग, किरा तथा झारपात भित्रीन नदिन महत्वपूर्ण भूमिका खेल्छ । यो विधि प्रयोग गरेर नयाँनयाँ रोग, किरा तथा झारपातहरुको नियन्त्रण गर्न सकिन्छ।

ङ) जैविक नियन्त्रण (Biological control)
बालीनाली खाएर नष्ट गर्ने जीवहरूलाई शत्रु जीव भनिन्छ र ती शत्रु जीवहरुलाई नै आहारा बनाएर खाने जीवहरुलाई मित्र जीव भनिन्छ । शत्रु जीवहरूको नियन्त्रणको लागी जीवहरूको नै प्रयोग गर्ने तरिका नै जैविक नियन्त्रण विधि हो ।

बालीनालीका शत्रुजीवहरुलाई जीवित शुक्ष्म जीवाणु, भाइरस, ढुसी, नेमाटोड, व्यकटेरिया आदि साथै विभिन्न परजीवी र परोभक्षी किराहरु र जैविक विषादीहरुको प्रयोग गरेर विनाशकारी जीवहरूको नियन्त्रण गर्ने विधि नै जैविक विधि हो । जस्तैः छेपारो तथा भ्यागुताले झिँगा, किरा तथा तिनीहरुको फुल र लार्भालाई खाएर नष्ट गर्दछन् । त्यसैगरी नमस्ते किराले cricket, Grasshopper, Moths आदिको शिकार गरेर खान्छ । बाघे खपते किराले धानको पतेरोलाई खान्छ । जुनकिरीले snails लाई खान्छ । Drygon fly ले musquato र Fly खान्छ । खुम्रे किरा नियन्त्रण गर्नका निम्ति जैविक विषादी निलो ढुसी (Metarhizium anisoplia), बन्दाको पुतली, बन्दाको जुका, चनाको लार्भा नियन्त्रण गर्न Bacillus thuringiensis नामक Bacteria प्रयोग गर्ने, आलुको पुतली (PTM) तथा अन्य किराका नरम लार्भाहरु नियन्त्रण गर्न Granulosis नामक virus प्रयोग गर्ने , Trichoderma ढुँसी ओइलाउने र डढुवा रोगमा प्रभावकारी हुन्छ, NPV(Nuclear polyhederosis virus चना तथा गोलभेंडाको गवारो नियन्त्रण गर्न उपयुक्त हुन्छ आदि । यसरी जैविक विधिबाट बाली संरक्षण गर्न सकिन्छ।

च) एकिकृत शत्रुजीव व्यवस्थापन (IPM)
रासायनिक पदार्थको प्रयोगलाई न्यून गर्दै मित्रजीवको संरक्षण, पारिस्थितिक प्रणालीको संरक्षण र उचित वातावरणीय अवस्था कायमै राखी शत्रुजीव व्यवस्थापनका धेरै विधिहरू एकैसाथ अपनाउँदै बालीमा लाग्ने रोगकिराको नियन्त्रण गर्नु एकिकृत शत्रुजीव व्यवस्थापन हो । IPM विधि नेपालमा सन १९९७ बाट चितवन जिल्लामा सञ्चालन गरियो । यसका चारवटा सिद्धान्तहरु छन् । यहीँ सिद्धान्तहरुको प्रयोग गरेर विनाशकारी जीवहरू नियन्त्रण गर्न सकिन्छ । ती सिद्धान्तहरु निम्न छन् :
अ) स्वास्थ्य बाली उत्पादन
आ) खेतबारीको नियमित अवलोकन निरीक्षण गर्ने
इ) मित्रजीवको संरक्षण गर्ने
ई) कृषकहरुलाई दक्ष बनाउने
यी IPM का चार सिद्धान्तहरुलाई पच्छ्याएर नै शत्रु जीवहरूलाई नियन्त्रण गर्न सकिन्छ।

छ) रासायनिक तरिका
अन्तमा यी माथिका तरिकाहरुबाट विनाशकारी जीवहरू नियन्त्रण गर्न सक्ने अवस्था नभएमा मात्र हामी रासायनिक तरिका अपनाउनु पर्ने हुन्छ। यो विधिबाट विनाशकारी जीवहरूको नियन्त्रण गर्दा तत्कालीन रुपमा बढी प्रभावकारी देखिएता पनि अन्य मित्रजीवहरु समेत विनाश गर्ने, वातावरणलाई प्रदुषन गर्ने पृथ्वीमा रहेका अन्य प्राणी तथा वनस्पति र मानिसलाई समेत घातक हुने भएकाले रासायनिक पदार्थ प्रयोग गरेर विनाशकारी जीवहरू नियन्त्रण गर्दा तत्कालीन र दीर्घकालीन दृष्टिकोणले बढी घातक मानिन्छ । त्यसैले आजभोलि यस्ता घातक विषादीको प्रयोगलाई नियन्त्रण गर्न वैकल्पिक विषादीहरु जस्तै Bio-pesticide, Botanical Pesticide, IPM जस्ता तरिकाहरु अपनाएर विनाशकारी जीवहरूको नियन्त्रण गर्न थालिएको छ । रासायनिक विषादीहरु पनि विभिन्न प्रकारका हुन्छन् जस्तै किराहरु मार्न प्रयोग गरिने Insecticide, मुसा मार्ने विषादी Rodenticide, सुलसुले मार्ने विषादी Acaricide, जुका मार्ने विषादी Nematocide, ढुँसी नाशक विषादी fungicide, झारपात नाशक विषादी Herbicide /bedicide आदि ।

गत वर्ष नेपालमा देखिएको अमेरिकन फौजी किरा र हालसालै अफ्रिकी मुलुक हुँदै भारतसम्म आइपुगेको नेपाल प्रवेश गर्ने क्रममा रहेको सलह किराको बारेमा छोटकरीमा उल्लेख गर्न सान्दर्भिक देखिन्छ –

गत वर्ष अर्थात २०७६ वैशाख २६ गते देखि देखिएको अमेरिकन फौजी किरा अहिले नेपालको मकै बालीमा चुनौतीको रुपमा रहेको छ । यो किरा लगभग नेपालका पूर्वपश्चिमका सबै जिल्लाहरुमा देखिसकेका छ । विशेष गरेर तराईका जिल्लाहरुमा । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ । यसले मकै लगायत अन्य ८० भन्दा बढी प्रकारका बालीनालीमा क्षति गर्छ । बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किरा नेपालको तापक्रम र पानी पर्ने पद्धति फौजी कीरालाई फैलिन र मौलाउन सहयोग पुग्दछ । अण्डाबाट भर्खरै निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने गर्दछ । जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् । लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ ।

यसको नियन्त्रणका लागी पहिले हामीले घरायसी तथा जैविक तरिका प्रयोग गर्नु पर्छ यदि उक्त तरिकाले काम नगरे मात्र रासायनिक विषादी प्रयोग गर्ने । यो किराको नियन्त्रणको लागि निम्न उपायाहरु अपनाउन सकिन्छ –

-मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने,
-मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ,
-छेउछेउमा कीरालाई मन पर्ने नेपियर घाँस लगाएर कीरालाई आकर्षित गर्ने आकर्षित भएका किरालाई विषादी प्रयोग गरी मार्ने,
-हरियो खुर्सानी गाईको गहुँतमा पकाएर १ : १० को अनुपातमा पानी मिसाएर गुभोमा राख्दा पनि राम्रो हुन्छ,
-नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने ,
-मकैको पातमा प्वाल परेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एसजी ०.४ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्ने,
-विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल प्रयोग गर्ने र तयारी झोल गुभोमा पर्ने गरी छर्ने,
-जैविक विषादीको हकमा ब्याक्टेरियामा आधारित विषादी जस्तै महाशक्ति, डाइपेल २ मिलिलिटर वा २ ग्राम प्रतिलिटर पानीमा राखेर छर्ने ,
-अण्डाको परजीवी किरा ट्राइकोग्रामा वा टेलिनोमस नामक बारुला छोड्ने,
-मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन वेन्जोयट ५% , क्लोरान्ट्रानिलिप्रोल, स्पिनोस्याड ४५%, स्पाइनेटोराम ११.७ % जस्ता विषादीहरु प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ।
-विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल गुभोमा समेत पर्ने गरी छर्ने ।

सलह फट्याङ्ग्रा प्रजातिको समूहमा बस्न मन पराउने किरा हो। यसको वैज्ञानिक नाम Schistocerca gregaria हो । अहिले यी सलह विशेषगरी भारतकाे पश्चिम र उत्तरी राजस्थानमा देखा परेको छ । यो किरा नेपालमा प्रवेश गर्ने सम्भावना धेरै छ अर्थात प्रवेश गरिसक्यो भने पनि हुन्छ किनकि यसको फैलावट गति निकै बढी छ । अमेरिकन फौजी किराको वयस्क पुतली एक दिनमा एक सय किलो मिटरसम्म उड्न सक्थ्यो तर सलह एक दिनमा एक सय पचास किलोमिटरसम्म उडेर जान सक्छ । तराईमधेस क्षेत्रको ढोकानेर आइपुगेको सलह क्षति गर्न सक्ने सम्भावित प्रवेश चुनौतीका रुपमा रहकाे छ । विश्वमा अन्य मुलुकमा यसको व्यवस्थापनमा गरिएका तौरतरिकालाई अध्ययन गरी उक्त तयारीलाई नेपालमा पनि लागू गर्न सकिन्छ ।
यसको नियन्त्रणका लागि त्यसको हुल तितरवितर पारिदिने (आगो बलेर, धुवा गराएर), प्राकृतिक सिकारी(हाँस, माकुरा, छेपारो) को प्रयोग गर्ने, ध्वनिको प्रयोग गरेर, कीटनाशक (जैविक : Metarhizium, रासायनिक : मालाथियन, डाइजिनन, फ्रपोनिल, बोरिक एसिड) को प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ।

बाली विनाशकारी जीवहरु नियन्त्रण गर्ने विभिन्न तरिकाहरु माथि छोटकरीमा उल्लेख गरेको छु । उपयुक्त तरिकाले बालीनाली भएका शत्रुजीव नियन्त्रण गर्न सकियो भने शत्रुजीवहरुबाट हुने २५-३५ प्रतिशत हानिनोक्सानी कम गरी दिगोरुपमा बालीनालीको उत्पादन र उत्पादकत्व बढाउन सक्छौँ। यी तरिकाहरु पढिरहँदा हामीले सहजै गाउँघरतिर अबलम्बन गर्न सकिने तरिकाहरुको छनोट गर्नु पर्छ । हामी सुरुमा नै सिधै रासायनिक विषादीको प्रयोग गर्न अघि सर्छौं । हेर्ने हो भने यो विधि बाली विनाशकारी जीव नियन्त्रण गर्न सजिलो र प्रभावकारी छ तर यो विधि आर्थिक पक्ष, मानवीय स्वास्थ्य, वातावरणीय पक्ष, पारिस्थितिक पद्धति र मित्रजीवहरूको लागि यो विधि घातक छ ।

एकभनाइ छ, “हामी तरकारी तरकारी होइन विषादी खाँदै छौ।” त्यसैले अहिले मानिसहरु बजारमा राम्रो, हृष्टपुष्ट तरकारी होइन किराले खाएको तरकारी किन्न रुचाउँछन् । किनकि त्यसमा विषादी प्रयोग कम गरिएको हुन सक्छ । विषादीहरुको सहायक असर तत्काल अथवा दीर्घकालीन रुपमा देखिन सक्छ । त्यसैले हामीले घरमै तयार गरिएका विषादीको प्रयोग गरेर शत्रुजीवहरुको नियन्त्रण गर्न सकिन्छ । जैविक विधिको प्रयोग गर्नाले वातावरणमा नकारात्मक प्रभाव नपर्ने तथा लक्षित हानिकारक जीव बाहेक अन्य जीव सुरक्षित रहने, बालीनाली उत्पादन वृद्धिमा सहयोग पुग्ने तथा प्रयोग पश्चात बाली टिप्न लामो समय पर्खन नपर्ने, विषादी प्रयोगकर्ता र उपभोगकर्ता दुबै सुरक्षितरहने, मानव स्वास्थ्यमा असर नगर्ने आदि कारणले यो तरिका एकदमै उपयुक्त छ । त्यसैले सकेसम्म सबैजनाले हानीकारक विषादीको प्रयोग नगर्न वा कम प्रयोग गर्न सल्लाह दिन चाहन्छु । स्वस्थ तरकारी, फलफूल, खाद्यान्नबाली उपभोग गरौँ स्वस्थ जीवन बिताऔँ।

सम्बन्धित खवर

Back to top button