कर्णालीमा पाँच महिने बालिकासहित ९८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २४ जेठ:कर्णालीका पाँच जिल्लामा गरी एकै दिन पाँच महिने बालिकासहित ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थप ९८ जनामा कोरोना पुष्टि भएको हो।



शनिबार प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा नयाँ कोरोना पुष्टि भएका मध्ये सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका ३८ जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् ।त्यसैगरि सर्खुेतको वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र पञ्चपुरी नगरापालिकामा ९ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा चार जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरि दैलेख जिल्ला दुल्लु नगरपालिकाका तीन जनामा कोरोना पुष्टि भएको बताइएको छ।
शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखको महावु गाउँपालिकाका ४३ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकामा मृत्यु भएका एक जनामा पनि कोरोना पुष्टि भएको डा. तिवारीले जानकारी दिए।
शनिबार कुल कोरोना संक्रमण पुष्टि भएका मध्य ७ जना महिला र ९१ जना पुरुष रहेका छन्। संक्रमितहरु पाँच महिनादेखि ४९ वर्ष उमेरसम्मका रहेका छन्।
कर्णालीमा हालसम्म ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ३ जनाको मृत्यु भइसकेको छ।








