सुदूरपश्‍चिममा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ असारः सुदूरपश्चिममा शुक्रबार एक सय ६८ जनामा कोरोना पुष्टि भएसँगै यो प्रदेशमा संक्रमितको संख्या सात सय ८५ पुगेको बताइएको छ ।

धनगढी प्रयोगशालामा १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ५१ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँच गरी आज एक सय ६८ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा वैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, कैलालीका १३ महिला र ३३ पुरुष गरी ४६ जना, डोटीका तीन महिला र १२ पुरुष गरी १५ जना, डडेल्धुराका ९ पुरुष, बाजुराका ८ पुरुष, अछामका एक महिला र ६ पुरुष गरी सात जना, बझाङका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

उनले शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा बैतडीका एक महिला र चार पुरुष गरी थप पाँच जनामा संक्रमण पुष्टि भएको बताए।

यस्तै धनगढी स्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

धनगढीमा भएको परिक्षणमा कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको उनले बताए ।उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४, बर्दगोरीयाका दुई र जानकीका एक, बडिकेदार डोटीका चार र कञ्‍चनपुरको पुर्नवासका एक जनामा कोरोना पुष्टि भएको हो।

सम्बन्धित खवर

Back to top button