सिन्धुपाल्चोक लिदीको पहिरोमा ११ जनाको शव भेटियो, २७ जना अझै बेपत्ता


काठमाडौं, ३० साउनः शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव भेटिएको छ । सिन्धुपाल्चोक प्रहरीका अनुसार अझै २७ जना बेपत्ता छन् ।
फेला परेका शवको सनाखत हुन सकेको छन् । शव नचिनिने अवस्थामा रहेका कारण सनाखत हुन गाह्रो भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख माधवप्रसाद काफ्लेले जानकारी दिए । ‘ शव चिन्न सकिने अवस्थामा छैनन्। स्थानीयको सहयोगले शवको पहिचान गर्ने काम भइरहेको छ । बेपत्ताको पनि खोजि भइरहेको छ’, एसपी काफ्लेले भने ।



काफ्लेले स्थानीयको भनाई उदृत गर्दै पहिरोले ३७ घर पुरिएको बताए । ‘हामीले पाँच जना घाइतेको बिहानै उद्धार गरेका थियौँ’, उनले भने । शुक्रबार बिहान ६ बजे तिर उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए। शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेका छन्।
शक्रबार सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री रामबहादुर थापा बादल घटनास्थल पुगेर स्थलगत निरिक्षण गरेका छन् । गृहमन्त्री थापा राहत सामग्री लिएर पुगेका थिए ।
खाद्यान्न, लत्ताकपडा र २ लाख रुपैयाँ पैसा स्थानीय जनप्रतिनिधीलाई उपलब्ध गराएको गृहमन्त्रिका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।







