‘महारानी नलेखेको भए तथ्यको श्राप लाग्थ्यो’


असफल गौतम
पोखरा : वर्तमान नेपालमा भौतिक रुपमा महाराजा–महारानीको संस्कार हटिरहेको छ । यद्यपि समयको कालक्रममा त्यसको चर्चा परिचर्चा भने हुँदै आएको पाइन्छ । यसै सन्दर्भमा असोज महिनाको अन्तिम शनिवार महारानीमय बनेको छ ।
पोखराबाट प्रकाशन हुने आदर्श समाज दैनिकको पहिलो पृष्ठमा ‘बानियाँको महारानी चर्चा आज’ समाचार छापिएको थियो । त्यो मात्र होइन, पत्रिकाको विचार स्तम्भमा समालोचक मदन भण्डारीले ‘समयको कहानी ः बानियाँकी महारानी’ लेखे । पोखराको अर्को दैनिक समाधान दैनिकको ‘समाधान शनिवार’ स्तम्भमा स्ट्रगल रानाले ‘बानियाँको महारानी देशभक्तिको कहानी’ लेख्दै गर्दा उता राजधानी पनि महारानीमय बन्यो ।
कान्तिपुर दैनिकको कोसेलीमा बिन्दु शर्माद्वारा लेखिएको ‘समर्पणको ऐतिहासिक उपन्यास’ शीर्षकको टिप्पणी पनि महारानीसँगै जोडिएको थियो ।



यी त पंक्तिकारले थाहा पाएका भए यी बाहेक अन्य सन्दर्भ पनि महारानीमय भएका हुन सक्छन् । यसरी नेपालमा महाराजा–महारानीको संस्कारलाई बिस्तापित गराउन उद्दत आम नेपालीमध्येका वाङ्मयसेवी साधक शनिवारलाई पूरापुर महारानीमय बनाइरहेका थिए ।
ऐतिहासिक पर्वत राज्य, खस जाति र कुल पूजा, मृत्यु संस्कार मन्थनलगायतका कृति प्रकाशित गरिसकेका चन्द्रप्रकाश बानियाँको महारानी उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेसँगै सिङ्गो साहित्यिक धरातल महारानीमय भएको हो ।
प्रधानपञ्च खानदानमा हुर्केका बानियाँको शिक्षासेवी, राजनीतिसेवी र साहित्यसेवी व्यक्तित्व रोचक थियो तर राजनीतिको रंग राम्ररी बुझेसँगै मौलाउँदै गएको साहित्य साधनाकै कारण असल सर्जक र समालोचकलाई भेट गराउने सौभाग्य जरोटुप्पोलाई जुरेको थियो । सोही समारोहका वक्ताले उनको बहुआयामिक सन्दर्भ महारानी केन्द्रित गरेका हुन् ।
शनिवार पोखरामा आयोजित उक्त समारोहका वक्ताले बानियाँले महारानी नलेखेको भए तथ्यको श्राप लाग्ने बताएका छन् ।
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित स्रष्टा साक्षात्कारसँगै महारानी उपन्यास परिचर्चा कार्यक्रमका वक्ताले उक्त कुरा बताएका हुन् । कार्यक्रमका वक्ताले बानियाँले चुनौतीको सामना गरेर महारानी लेखेको धारणा राख्दै आफूले थाहा पाएका तथ्य र सत्य सन्दर्भलाई सार्वजनिक नगरेका भए ती तथ्यको मात्र नभएर साहित्यको श्राप लाग्ने जिकिर गरेका हुन् ।
कृतिमाथि परिचर्चा गर्दै प्रमुख वक्ता दीपक पराजुलीले लेखकले ऐतिहासिक उपन्यास नभने तापनि तीन सय वर्ष अगाडिको तथ्यमा आधारित महारानी ऐतिहासिक उपन्यास रहेको बताए । पराजुलीले उपन्यास ऐतिहासिक कथानक, रीतिथिति र भाषाशैली सबै हिसाबले पछिल्लो पुस्ताका लागि उपयोगी रहेको टिप्पणी गरे ।
स्रष्टा चन्द्रप्रकाश बानियाँले ठाउँसँग परिचित नहुँदा मर्का हुने बताउँदै ढिलो भए पनि पोखरा चिन्ने अवसर पाएको बताए । सात वर्ष अगाडि आदर्श समाज दैनिकमा चार आलेख प्रकाशन गरे तापनि प्रतिक्रिया नपाएपछि लेख्न छोडेको स्मरण गर्दै पोखरा आफूलाई शुभ भएको बताए ।
उनले आफू लामो समय पोखरामा बसेर पनि सबैसँग अनुहार नदेखाएको भन्दै पोखरामा दोस्रो पटक अन्तरक्रियामा समावेश भएको बताए ।
उनले म्याग्दीवासीले जन्मथलो छोडेकाले, पोखराकाले म्याग्दीको भनेर नसम्झेको भन्दै थपे ‘हिजो पोखरामा बस्दा मलामी नै पाउदिनकी भन्ने त्रास रहेकोमा अब महारानीले परिचयको घेरा बढाइदिएको छ ।’
उपन्यास लेखनको पृष्ठभूमिबारे बाल्दै बानियाँले भाइहरुले पर्वतको इतिहास तिमीसँगै खेर जाने भयो भनेपछि एउटा तथ्यलाई लिपिबद्ध गरेको र कृति निस्केको १० महिना भइसकेकाले बोलिरहन आवश्यक नरहेको बताउँदै आफू साहित्यकार नभएको जिकीर गरे ।
बिम्बकवि रमेश श्रेष्ठले फूल्दाफुल्दैको फूलको बासनाबारेमा जानकारी पाएर पनि बासनाको व्याख्या नभए त्यो देख्नुको औचित्य नरहने बताए । उनले पुरस्कार सबैले पाउने गरे तापनि पुरस्कारलाई पनि जित्ने कृति महारानी प्रकाशन भएको धारणा राखे ।
डा नारायणप्रसाद अधिकारीले महारानीको भाषाको स्वरुपका बारेमा बोल्दै कथ्यमात्र नभएर भाषा पनि लालित्यमय रहेको बताए । उनले आकाशको चन्द्रसँग बानियाँलाई तुलना गरे । उनले कुनै पुरस्कार पाएर व्यक्ति पुरस्कृत हुन्छन् कोही पुरस्कार स्वयम् पुरस्कृत हुन्छन् ।
प्राडा यामबहादुर पौडेलले किंवदन्तिका रुपमा रहेको इतिहासलाई बानियाँले उत्खनन गरेर स्तुत्य कार्य गरेको बताए ।
डा. जगन्नाथ रेग्मीले उपन्यासमा मल्लाजको न्याय पद्धति सन्दर्भमा देखाइएको तत्कालीन राजाको चार्तुयले उपन्यासलाई उचाइमा पु¥याएको धारणा राखे । साथै उनले महारानीले पाएको पुरस्कारले म्याग्दी, पर्वत, मल्लाज, पोखरा पुरस्कृत भएको धारणा राखे ।
समालोचक मदन भण्डारीले साहित्य मन नपरेको ससुराली गएजस्तो हुनु दुःखद भएको बताउँदै जरोटुप्पो सबैको साझा थलो बनेको जिकीर गरे ।
कार्यक्रममा पत्रकार यज्ञप्रसाद बास्तोला, साहित्यकार रामनाथ अधिकारी संगी, चन्द्रावती वाग्ले, वसन्त चालिसे, ढुण्डीराज ज्ञवाली, शरदराज भण्डारी, रुपेश भण्डारी, गीता भण्डारीलगायतले रचनावाचन तथा मन्तवय राखेका थिए ।
संस्थाले महारानी परिचर्चासँगै संस्थाका अध्यक्ष नारायणप्रसाद अधिकारीको जन्मदिन, असफल गौतमको नवीनतम् कृति ‘सबैका सारथि संगी’ लोकार्पण एवम् विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान एकैसाथ आयोजना गरेको हो ।








