नेपाल सरकारले गर्याे चार जनालाई सचिवमा बढुवा


काठमाडौं : नेपाल सरकारले चार जनालाई सचिवमा बढुवा गरेकाे छ । दुई जना कायममुकायम सचिव र दुई जना वरिष्ठ सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) मा सरकारले बढुवा गरेको हाे । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम सचिव तोयम राय र तोयानारायण ज्ञवालीलाई सचिवमा बढुवा गरेको हो ।
सरकारले लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको बढुवा समितिको सिफारिसमा परेका सामान्य प्रशासन समूह (क्लस्टर) का ६ सहसचिव (दुई कामु सचिवसहित) बाट दुई जनालाई पदोन्नति गरेकाे हो । राय प्रदेश ३ र ज्ञवाली प्रदेश ५ को कामु प्रमुख सचिव थिए । उनीहरूलाई सोही ठाउँको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।



सरकारले इन्जिनियरिङ क्लस्टरका दुई वरिष्ठ सहसचिव ऋषिराम शर्मा र रवीन्द्र श्रेष्ठलाई सचिवमा बढुवा गरेको छ । शर्मालाई वरिष्ठबाट र श्रेष्ठलाई बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये बढुवा गरिएको हो । मन्त्रिपरिषद्ले शर्मा र श्रेष्ठलाई मन्त्रालय या निकायमा पदस्थापन गर्न बाँकी छ ।








