प्रदेश सरकारले आरटीपीसीआर मेसिन जडानमा ढिलाई


धनगढी, २८ चैत्र : संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन जडानमा ढिलाई भएको छ। केन्द्रीय पशुपन्छी अन्वेशण प्रयोगशालाले धनगढीमा कोरोना परीक्षणलाई तिव्रता दिन पठाएको आरटीपीसीआर मेसिन जडानमा ढिलाई भएको हो।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च रहेको भन्दै संघिय सरकारले बुधवार अर्काे प्रयोगशाला स्थापना गर्न उपकरण पठाएको थियो। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले विद्युत लाईन विस्तार र फर्निचरको काम जारी रहेको बताए। तर प्रयोगशाला जडानका लागि पनि अन्य उपकरणको व्यवस्था भइनसकेको उनले स्वीकार गरे।



जडानका लागि पठाएको उपकरणमा आवश्यक थप सामाग्रीको अभाव भएपछि समस्या भएको प्राविधिकहरुले बताएका छन्। प्रदेश सरकारलाई आवश्यक १० बाढि सामान खरिद गर्न भनिएको छ। तर प्रदेश सरकारले खरिद गर्न सकेको छैन्।
प्रदेश सरकारले प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने थप सामाग्री खरिद गर्न नसक्दा जडानको काम रोकिएको मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिल प्रसाद लेखकले बताए। उनले भने, ‘प्रदेश सरकारलाई आवश्यक सामानको सुँची दिएका छौ। तर सामान आएको छैन्। सामान नभएकाले उपकरण जडानको काम रोकिएको छ।’ उपकरण जडान भए १२ घण्टामा दुई सय ७० जनाको कोरोना भाइरस (कोभिड–१९) को परिक्षण गर्न सकिने छ।








