आमाहरू

आमाहरू हराएपछि
धेरै सुन्दर चिजहरू हराए संसारबाट

आमाहरू हराएपछि
धेरै त पुराना बाटाहरू हराए
मडारिने दुर्घटना छेक्ने हातहरू हराए

जीवनका कलिला पदचापहरू
नयाँ दृश्यको खोजिमा थिए
हरिया भन्ज्यांगहरू
रूप परिवर्तनको संघारमा थिए
अग्लिदै थिए हिमछाँगाहरू
र फैलिंदै थिए जीवनका कलिला पाटनहरू
आमाहरू हराएपछि
ती सबै पुराना भए ।।

आमाहरू यो धर्तीमा आउनुभएको थियो र पो
हामीले देख्न पाएका हौं यो अनौठो संसार

आमासँगै जान्न पाएका थियौं कञ्चन प्रेमको अर्थ
र सिक्न पाएका थियौं संसारकै नौलो गीत

जीवनको पहिलो आँखा खोल्दा
मैले आमाहरूको अनुहारलाई नै संसार भनेर चिनें
र आमाहरूको प्रेमको कारण
संसार प्रेमको कारण चलेको रहेछ भन्ने बुझेँ
आमाहरू हराएपछि, हल्लिरहेछन् अहिलेसम्म
प्रेम र संसारका सबै जगहरू ।।

हाँस्नलाई आमाहरूको न्यानो ओठ थियो
रूनलाई आमाहरूको भरसिलो काख थियो
संसार जित्नको लागि आमाहरूको दह्रिलो धाप थियो
आमाहरू हराएपछि एकपटक सारा संसार फन्फनायो

म फेरी आमाहरू जन्मेको देखिरहेछु
र हराएका आमाहरू पनि
दोबाटो, चौबाटो, आँगन, पिँढी र मझेरीतिर
मायाको सगुन बाँडेको भेटिरहेछु

पहाडको फेदबाट हराएका आमाहरू
पहाड बनेर अग्लिरहेको देख्दैछु म अचेल
एक हुल आमाहरू तिनै पहाड चढेर
नयाँ पहाड भेट्न हिंडिरहेछन्
हामीहरू भने आमाको छोडेका प्रेमका कोसेलीहरू
कित्ता कित्तामा खोज्दै हिँडिरहेछौँ ।।

आमाको स्पर्श भन्दा ठूलो
यो संसारमा रहेनछ अरू कुनै जाँगर
आमाहरू हराएपछिको घाउ
अझै खाटा बस्ने सुरसार छैन्

आमाहरू छन् र पो
साँच्चै उज्यालो बन्न सकेको छ यो संसार ।।

सम्बन्धित खवर

Back to top button