कपिलवस्तुमा ८ महिनाको शिशुसहित ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ जेठ : कपिलवस्तुमा ८ महिनाको शिशुसहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको छ। जहाँ ८ महिनाको एक शिशुमा पनि कोरोना पोजिटिभ देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार यशोधरा गाउँपालिका–७ का मात्र २९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा यशोधरा– ७ का ८ महिने बालकमा पनि कोरोना पुष्टि भएको छ ।

त्यस्तै महाराजगञ्ज नगरपालिकामा १५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले बताए । शुक्रबारको रिपोर्टसंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।

कपिलवस्तुका १० स्थानीय तहमध्ये यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । यहाँमात्रै संक्रमितको संख्या १ सय ३५ पुगेको छ । यशोधरापछि महाराजगञ्ज नगरपालिकाका ६५ जना, मायादेवी गाउँपालिकाका ५४ जना, कृष्णनगर नगरपालिकामा ५२ जना, शिवराज नगरपालिका (चन्द्रौटा) मा ४८ जना, शुद्धोधन गाउँपालिकामा २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तु नगरपालिका (तौलिहवा) मा २८ जना, बुद्धभूमि नगरपालिकामा २५ जना, बाणगंगा नगरपालिकामा २२ जना र विजयनगर गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

जिल्लाका १२ सय जना भन्दा बढीको प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी रहेको कोरोना भाइरस फोकल पर्सन थापाले बताएका छन । कपिलवस्तुमा हालसम्म ५ हजार ९ सय जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

सम्बन्धित खवर

Back to top button