लकडाउनमा प्रदर्शन गरे ६ महिनासम्म थुन्ने : गृह मन्त्रालय

काठमाडौँ, २९ जेठ : सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि देश लकडाउनमा भएका बेला विभिन्न बहानामा विरोधका कार्यक्रम हुन थालेको भन्दै नियन्त्रण गर्ने गृहले जनाएको छ।

बिहीबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयले भनेको छ, ‘केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

यस्तै गृहले आवश्यक काम नपरी हिंडडुल गर्न नहुने, हिंडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क लगायत स्यानिटाइजरहरु प्रयोग गर्नुपर्ने, अनावश्यक भिडभाड नगर्ने, नगराउने भनी उल्लेख भएकोमा उक्त प्रावधानको प्रतिकुल कार्यहरु गरेको जनाएको छ।

बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले ६०० सम्म जरिवाना र ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित खवर

Back to top button