पहिरोले चार दिनको सुत्केरीलाई घरबारविहीन बनाउँदा बिजोग


रोल्पा, ३२ जेठ: रोल्पा नगरपालिका १० धबाङको लङजुङ भन्ने ठाउँमा पहिरो जाँदा दयाराम घर्तीको परिवार घरबारविहीन भएका छन्। मनसुन सुरु भएसँगै परेको अविरल बर्षाको कारण विहिबार राति गएको पहिरोले घर भत्काइदिए पछि चार दिनको सुत्केरी श्रीमतीसहित सबै परिवार स्थानीयको गोठमा गएर बसेको स्थानीय मिलन घर्तीले बताएका छन्।
पहिरो घर नजिकैबाट आएकोले अन्य स्थानीयलाई क्षति नगरे पनि घर्तीको भने यहि साल बनाइएको नयाँ घर भत्काउँदा करिब दश लाख बराबरको क्षति भएको तर कुनै मानविय तथा पशुपन्छीको क्षति भने नभएको घर्तीले बताएका छन्। अविरल वर्षाका कारण थप अन्य ठाउँमा पनि पहिरो आउने सम्भावना रहेकाले गाउँ नै त्रासमा रहेको बताएका छन्।



घरमा भएको सबै खाद्यान्न तथा लत्ताकपडा लगायत सबै आवश्यक सामान पहिरोले पुरिदिए पछि उनलाई निकै समस्या रहेको बताइएको छ। अहिले मोबाइल फोनको जमाना भएता पनि त्यहाँ चाहेको बेला नेटवर्कले काम नगरेपछि प्रहरी तथा स्थानीय निकायलाई जानकारी ढिला दिएको तथा हाल पहिरोले बाटो बिग्रिएको हुँदा घटनास्थलसम्म सरकारी निकायहरू पुग्न नसकेको तथा सरकारी निकायबाट कुनै पनि राहत प्राप्त नभएको घर्तीले जानकारी गराएका छन्।
उनलाई अहिले स्थानीयवासीले सहयोग गर्दै आएको छन्। पिडितले पिडा पोख्दै भन्छन्,’सुत्केरीलाई पोषणयुक्त खुवाउनु पर्ने समयमा गोठको वास भयो।’ घर्तीले हामीलाई जानकारी दिँदै भने,’पिडितको परिवारको लागि हामी स्थानीय निकाय , स्थानीय क्लब र देश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट सहयोगको अपेक्षा गरेका छौं।’







