विराटनगरबाट ४० जना कोरोना संक्रमित डिस्चार्ज

मोरङ, ४ असारः मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसन उपचार केन्द्रबाट बिहीबार ४० जना काेराेना संक्रमितले कोभिड१९लाई जितेर घर फर्किएका छन्।

डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन्। उनीहरुलाई प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, नगरपालिका प्रमुख शिव ढकाल लगायतले पुष्प गुच्छासहित विदा गरेका थिए।

सो क्रममा मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको दाबी गरेका थिए। कोभिड १९ लाई नियन्त्रणमा राख्न सफल हुँदै गएको बताएका मन्त्री घिमिरेले प्रदेशवासीलाई चाँडै सुखद खबर दिन तयारी सरकारको रहेको बताए।

प्रदेशमा क्वारेन्टिनमा रहेकामा मात्र संक्रमण देखिएको र कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको उनको भनाइ थियो। क्वारेन्टिनमा मात्र संक्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने उनको भनाइ छ।

क्वारेन्टाइन व्यवस्थित हुन नसकेका भन्ने चर्को आलोचनाकाबीच मन्त्री घिमिरेले क्वारेन्टिनको उचित व्यवस्थापन र मापदण्ड विपरीतका क्वारेन्टिन बन्द गर्दै जाने बताए।

आइसोलेसन उपचार केन्द्रबाट डिस्चार्ज हुनेहरु गत जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएकाहरु रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा.शैलेशमणी पोखरेलले जानकारी दिए।

प्रदेश १ मा आज ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ। त्यसैगरि, प्रदेशमा हालसम्म संक्रमितको संख्या ४ सय १६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, धरानको वीपी कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ष्ठान कोभिड १९ उपचार केन्द्र र सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको उपचार केन्द्रमा २११ जना संक्रमित उपचाररत रहेका छन्।

सम्बन्धित खवर

Back to top button