स्वास्थ्यजन्य फोहर व्यवस्थापनको अन्तरिम निर्देशिकाको व्यवस्था


काठमाडौं, २९ असारः क्वारेन्टिनबाट निस्किएका फोहर जलाउन नपाइने भएको छ। कोभिड १९ महामारीको आपतकालीन अवस्थामा स्वास्थ्यजन्य फोहर व्यवस्थापनको अन्तरिम निर्देशिकामा यस्तो व्यवस्था गरिएको छ।
क्वारेन्टिनमा खाना खुवाउन वा अन्य कामका लागि प्रयोग भएका सामग्रीको उचित व्यवस्थापन नभएर वातावरण प्रदूषित भएपछि स्थानीय तहमा संक्रमण फैलन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरेको हो।



निर्देशिकाअनुसार कार्य गर्न गराउन मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिएको छ। कोरोना भाइरस मानिसको शरीरबाहिर धेरै दिनसम्म नरहने भएकाले स्वास्थ्यजन्य फोहोरमैलाबाट सफाइकर्मीलाई संक्रमणको जोखिम असाध्यै कम हुने आंकलन गरिएको मन्त्रालयको नियमित पत्रकार सममेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
कोभिड १९ सम्बन्धी फोहरमैला उत्पादित क्षेत्रमै संक्रमणमुक्त बनाएर विसर्जन गर्नुपर्नेछ। निर्देशिकाअनुसार क्वारेन्टिनमा प्रयोग भएका सम्पूर्ण सामग्रीलाई साबुन वा सरफ पानीले धुनुपर्छ।
त्यसपछि क्लोरिनयुक्त पानीमा आधा घण्टा डुबाएर निसंक्रमण गर्नुपर्छ। अनि प्लास्टिकमा राखी स्थानीय तहको फोहरमैला व्यवस्थापन गर्ने ठाउँमा विसर्जन गर्नुपर्छ। निर्देशिकामा फोहरमैलालाई जलाउन निरुत्साहित गरिएको छ।








