बाढी-पहिरोले देशभरका सडक अवरुद्ध, कुन-कुन सडक भए बन्द ?


काठमाडौं, ६ साउनः लगातार वर्षाका आएको बाढी–पहिरोका कारण देशका विभिन्न ठाउँको सडक अवरुद्ध भएका छन् ।
लगातारको बर्षासँगैको बाढी पहिरोले देशका विभिन्न ठाउँका राजमार्गमा ठाउँ–ठाउँमा पहिरो खसेका छन् भने विभिन्न स्थानमा पुलहरु समेत भत्किएका छन् । अझै केहि दिन वर्षा निरन्तर रहने भएकाले थप ठाउँमा क्षति पुग्न सक्ने मौसमविदले बताएका छन् । लगातारको बर्षापछिको पहिरोका कारण काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग सोमबारदेखि अवरुद्ध भएको छ ।



धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलाको पुल बाढीले बगाएपछि सडक अवरुद्ध छ ।
यस्तै नारायणगढ मुग्लिन सडक खण्डको चारकिलो, मलेखु धादिङबेसी सडकखण्डको परेवाटार, बाँके धन्सार सडकखण्डको चपुरदेखि झण्डै ३ किलोकिमर पूर्वको जुडिवेला कजवेमा र सिद्धिचरण राजमार्गको सिस्नेरी भिर र साल्मे भिरमा पनि पहिरो खसेपछि बाटो अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा पहिरो खसेको तथा बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत म्याग्दीको काभ्रेभिर, दाना, गलेश्वर र म्याग्दीकै घोप्टेभिरमा पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको छ ।
कान्ति लोकपथको घट्टे पख, बाग धारा, शिलालेख र छपेलीमा, साँफेबगर मार्तडी सडकको अम्कोट द्धावारी खण्ड तथा बेसीशहर चामे सडक अन्तर्गतको घोप्टे खोला, रामबजार र च्याम्चेमा खसेको पहिरो खसेकाले सडकखण्डमा गाडी चल्न सकेको छैन ।
यस्तै अरनिको राजमार्गको माथिल्लो भोटेकोशी ड्याम, डाकलांग, चाकु, झ्याले, जबमु, खग्दोल, सिरिशे र खुर्सानीबारीमा खसेको पहिरोले बाटो नै बगाएकाले कहिले खुल्छ यकिन नभएको सडक विभागले जनाएको छ ।
त्यसैगरी विपी राजमार्ग पनि पहिरोले अवरुद्ध छ । सिन्धुलीको कमेरेफाँटमा पहिरो जाँदा यो सडकमा गाडी चल्न नसकेका प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा पहिरो खसेकाले सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । त्यस्तै बेनी जोमसोम कोरोला सडकखण्डमा पर्ने म्याग्दीको काभ्रेभिर, दाना, गलेश्वरमा पनि पहिरो खस्दा सडक अवरुद्ध छ । म्याग्दीकै घोप्टेभिरमा पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको छ ।
अरनिको राजमार्ग पनि बाढीपहिरोले अवरुद्ध छ । यो सडकखण्डमा पर्ने माथिल्लो भोटेकोशी ड्याम, डाकलांग, चाकु, झ्याले, जबमु, खग्दोल, सिरिशे र खुर्सानीबारीमा खसेको पहिरोले बाटो नै बगाएको सडक विभागले जनाएको छ ।
यस्तै कोशी राजमार्ग, कर्णाली राजमार्ग, सिद्धिचरण राजमार्ग, सिद्धार्थ राजमार्ग, बेसिशहर चामे सडक पनि ठाउँठाउँमा पहिरो खसेका कारण अवरुद्ध बनेका छन् । लामोसाँधु बाह्रबीसे सडक सुनकोशी नदीले एक सय मिटर बगाएको छ ।
त्यसैगरी पूर्वपश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगहापुर नजिक जुडबेला, नवलपरासीको गैंडाकोटलगायतका ठाउँमा पनि बाढीका कारण सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।







