गाउँमा हाछ्युँ आएन, आँशु आयो ! – Online Khabar

 

२८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हालै मध्यपहाडी लोकमार्गको एक महिने यात्रा पूरा गरे । यो यात्रा उनका लागि पृथक र रोचक रह्यो । भट्टराईको यात्राका राजनीतिक गतिविधिहरु त समाचारमा आइरहेकै छन् । तर, हामीसँग कुराकानीमा उनले केही निजी र अनौपचारिक अनुभूतिहरु पनि सेयर गरेका छन् ।

व्यक्तिगत स्वास्थ्यको कुरो गर्दा डा. भट्टराईले आफ्नो यात्राका क्रममा एकपटक पनि हाछ्युँ नआएको बताए । तर, देशको कुरा गर्ने हो भने गाउँले जनताको जनजीवनमा २०/२५ वर्षयता कुनै सुधार नदेखेको डा. भट्टराईले अनुभव सुनाए । मान्छे र सुँगुर एकै ठाउँ सुतिरहेको देख्दा आँशु आएको डा. भट्टराईले सुनाए ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले स्थानीय तहले भोग्नुपरिरहेका समस्या समेत संकलन गरेर काठमाडौं ल्याएका छन् । स्थानीय तहलाई आफूले गाई दुहुनुपूर्व घाँस हाल्न सुझाव दिएको अनलाइनखबरलाई बताए ।

पहाडी जिल्लाहरुको एक महिने यात्राबाट फकेका डा. भट्टराईले मध्यपहाडी लोकमार्गलाई अब बर्मादेखि अफगानिस्तानसम्म जोड्नुपर्ने नयाँ अवधारणासमेत अघि सारेका छन् ।

डा. भट्टराईको यात्रानुभूति उनकै शब्दमा-

किन रोजियो पहाडी लोकमार्ग ?

गाउँ त म निरन्तर गइराखेकै छु । प्रधानमन्त्री छँदा पनि कहिले चेपाङको घरमा बास बस्न पुगेँ, कहिले जुम्लाको दलितको घरमा भात खाएँ, कहिले मुसहरको घरमा विश्राम गरेँ । त्यो भुईँतहमा सम्बन्ध नकाटियोस् भनेर गरेको हो । अहिलेको यात्राचाहिँ विशेष अभियानकै रुपमा थियो ।

मध्यपहाड भनेको नेपाल राज्यको मेरुदण्ड नै हो । जनसंख्याको पनि सबैभन्दा बढी बसोबास रहेको ठाउँ हो । केही दशक पहिलेसम्म झण्डै दुई तिहाई जनसंख्या मध्यपहाडमै बस्थ्यो । पछिल्लो चरणमा बसाइँ सराइले जनसंख्या घट्दै गयो । आर्थिक रुपमा विपन्न हुँदै गयो । त्यसैको प्रत्यक्ष अवलोकन गर्ने ध्येयले नै हामी हिँडेका हौं ।

म क्षेत्रीय विकास योजनाको विद्यार्थी पनि हुँ । मैले नेपालको क्षेत्रीय असमानताको तुलनात्मक अध्ययन गरेर पीएचडी थेसिस पनि बनाएको छु । ७५ वटै जिल्लाको तुलनात्मक अध्ययन गरेकाले कुन जिल्ला विकासमा कहाँ छ भन्ने एउटा मोटामोटी आँकलन मलाई थियो । तीमध्ये मध्यपहाडका जिल्ला नै बढी पिछडिएका थिए । त्यसलाई जोड्नका निम्ति आखिर हाम्रोजस्तो कृषिप्रधान अर्थतन्त्रमा बाटो नै एक नम्बर पूर्वाधार हो भन्ने बुझाइका साथ पूर्वपश्चिम पहाडलाई जोड्ने यो लोकमार्गको परिकल्पना गरिएको हो ।

भौगोलिक हिसावले नेपालको एकीकरण भयो त भनियो । तर, त्यो वास्तवमा प्रशासनिक र फौजी एकीकरण मात्रै थियो । नेपाललाई ‘मेचीदेखि महाकालीसम्म’ भन्ने चलन छ, त्यो पनि सही होइन । मेची नदी त सिंहलीला पहाडबाट उत्पत्ति भएर आधा भाग मात्रै बग्छ । सिंहलीला पर्वत श्रृङ्खलाभन्दा माथि कञ्चनजंगासम्म आधा भाग त पर्वत छ । त्यसैको बीचमा चिवाभञ्ज्याङ पर्छ । त्यो चिवाभञ्ज्याङदेखि पश्चिमसम्म जोड्ने एउटा बाटो नभएसम्म आर्थिक रुपमा नेपाल पूर्व-पश्चिम जोडिँदैन भन्ने दोस्रो कुरा हो ।

नेपालमा ९ वटा ठूला जातले जनसंख्याको १ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् । तीमध्येका दुईवटा थारु र मधेसी मधेसमा बस्छन् । बाँकी सातवटा लिम्बु, खब्बु, तामाङ, नेवार, गुरुङ, मगर, खसहरु पहाडमा बस्छन । यिनीहरुबीच एउटा अन्तरघुलन नभएसम्म विकास हुँदैन । यसको निम्ति पनि यो मध्य पहाडी लोकमार्ग सुरुवात गरेको हो । मैले त्यतिबेला नै भनेको छु, यो लोकमार्ग राष्ट्रिय गौरवको योजना हो ।

भारतीय चौकीमा नेपाली भेटिए, सलाम ठोके !

चिवाभञ्ज्याङ पुग्ने क्रममा करिब १५/२० किलोमिटर पश्चिमपट्टी पाँचथरको च्याङथापु भन्ने अन्तिम बस्ती रहेछ । त्यहाँदेखि चिवाभञ्ज्याङ करिब १० हजार फिटको उचाइमा, जहाँ कुनै बस्ती रहेनछ । जंगलमात्रै रहेछ सिक्किमको सीमानासम्म ।

त्यहाँ जाने क्रममा एकदम हिउँ पर्‍यो । गाडी पनि नचल्ने । साथीहरुले नजाउँ भन्न थाल्नुभयो । म त आँटेपछि अलिकति जिद्दीजस्तो पनि छु । ज्याद्रो पनि भन्छन् कसैले । मैले भनेँ, हिँडेर भए पनि जाने । कुन ठूलो कुरो हो ? १५/२० किलोमिटर भनेको एकदुई घण्टामा पुगिन्छ ।

हिँड्न सुरु गरिसकेपछि केही साथीहरु खनीखुस्री गरेर गाडी चलाउन थाल्नुभयो । गाडी चल्यो । हामी पुग्यौं ।

चिवाभञ्ज्याङमा एउटा उल्लेखनीय, स्मरणीय घटना भयो । सीमानामा हाम्रोपट्टी कुनै प्रहरी चौकी आदि केही पनि रहेनछ । भारतपट्टी चाहिँ उनीहरुको सशस्त्र बलको र प्रहरीको पनि चौकी रहेछ । जम्मै नेपालीहरु रहेछन् त्यता । कोही अधिकारी, कोही रिजाल कोही के, उनीहरु हामीसँग आएर नेपालीमा कुराकानी गरे । हाम्रोतिर बस्ने ठाउँ पनि छैन भन्दै उतै चिया खुवाए । पूर्वप्रधानमन्त्री भनिसकेपछि मलाई सलाम पनि ठोके ।

त्यसपछि हामी बेलुका फिदिममा आयौं । फिदिममा पनि हाम्रो संगठन कमजोर थियो । यसपटक मेरो सोच नै के थियो भने पार्टीको कुरै नगर्ने र राष्ट्रिय एजेण्डा उठाउने । मुख्य त स्थानीय तहका पदाधिकारी र जनतासँग कुराकानी गर्ने ध्येय थियो । फिदिममा आएर कोणसभा गर्ने, जहाँ मान्छे छन् त्यहाँ जाने भन्ने सल्लाह थियो ।

हामी हाम्रो ठाउँमा मान्छे बोलाउने होइन, जहाँ मान्छे जम्मा हुन्छन् त्यहाँ जाने भनेर चोकमै उभिएर भाषण गर्न थाल्यौं । गीत गाउने साथीहरु पनि थिए । गणेश गुरुङ, सुमित्रा लामा, राजन बमहरुले राम्रो गीत प्रस्तुत गरे । पछि त ठूलो भिड नै जम्मा भयो र आमसभा जस्तै भयो ।

एकचोटि हाछ्युँ पनि आएन !

म के भन्छु भने सबैले एकचोटि नेपाल बुझ्नका निम्ति चिवाभञ्ज्याङदेखि झुलाघाटसम्मको यात्रा गर्नुपर्छ । मौसम मिलाएर हिँडियो भने नरोकिइकन पुग्न सकिन्छ । नेपाललाई बुझियो भने नेपाललाई बदल्न पनि मद्दत पुग्छ ।

झुलाघाटमा सबैभन्दा अगाडि म भइराखेको थिएँ । अरु स्याँ स्याँ गरिराखेको देखेँ । मचाहिँ बिन्दास पाराले हिँडिराखेको थिएँ ! अचम्म त के लाग्यो भने यत्रो हिँड्दाखेरि एकचोटि हाच्छ्युँ पनि आएन ।

मलाई अचम्म त के लाग्यो भने यत्रो हिँड्दाखेरि एकचोटि हाच्छ्युँ पनि आएन । अरु कोही साथीलाई अलि-अलि रुघा लाग्यो । कसैलाई, पेट दुख्यो, के भयो । मलाई केही भएन । मलाई यसअघि गाडी लाग्ने गर्दथ्यो, यसपालि गाडी पनि लागेन । भौतिक र मानसिक भनिन्छ नि, मनोविज्ञानको पाटोले मलाई बिरामी, थकान केही पनि महसुस भएन ।

अन्तिम दिनमा हामी झुलाघाटतिर जाँदै थियौं बैतडीबाट । त्यहाँ एउटा टाकुरोमा पुगेपछि झुलाघाटको दृश्य पनि हेरौं र फोटो पनि खिचौं भनेर सामुहिक ढङ्गले उक्लँदै थियौं । त्यो क्रममा सबैभन्दा अगाडि म भइराखेको थिएँ । अरु स्याँ स्याँ गरिाखेको देखेँ । म चाहिँ बिन्दास पाराले हिँडिराखेको थिएँ ।

विविधता पनि थियो । हिउँका ठाउँहरु भए, खोँचहरु, सबै बेहोर्‍यौं । खानलाई मकै, भटमास लिएर गएका थियौं । दाँतले अलि साह्रो खान नहुने । फूल भएका मकै लिने । सातु बनाएर लगेका थियौं, ठाउँ-ठाउँ खाँदै हिँड्थ्यौं ।

हामी खर्चिलो पनि थिएनौं । जम्माजम्मी ८/१० दिन होटलमा बस्यौं । नत्र जनताकै घरमा बस्यौं । खर्च पनि अत्यन्तै कम भयो । त्यत्रो ५०/६० जनाको टोली ३० दिनसम्म हिँड्दाखेरि हाम्रो सम्पूर्ण खर्च ८ लाख जति मात्रै भएको भएको रहेछ ।

अहिले पनि फाटेकै लुगा, खाली खुट्टा !

खोटाङको नुनथला भन्ने ठाउँमा हामी गाडीमा आउँदै थियौं । एकजना अत्यन्त झुत्रेझाम्रे मान्छेले यस्सो हात उठाउनुभयो । मैले चिने चिनेजस्तो लागेर गाडी रोक्न खोज्दै थिएँ । ड्राइभरले होइन, त्यो त अलि दिमाग ठीक नभएको मान्छेजस्तो छ देखिन्छ भन्नुभयो । मचाहिँ कन्फ्युज्ड भएँ ।

अलि पर हाम्रो भेटघाट कार्यक्रम थियो । १० मिनेटपछि ती व्यक्ति हिँडेर त्यहीँ आइपुग्नुभयो । बल्ल मैले ठम्याएँ । पुरै नाम त बिर्सेको थिएँ, तामाङ मात्रै सम्झेको थिएँ । पूरा नाम भन्नुस त भनेको हर्कराज तामाङ भने । ‘अहो, हर्कराज दाइ’ भनेर अंगालो हालेँ ।

खोटाङको लामिडाँडामा एयरपोर्ट छ । ०५२ सालमा जनयुद्धको तयारी गर्दाखेरि त्यहाँबाट ट्याम्के, भोजपुर हुँदै संखुवासभाको तुम्लिङटारसम्म पैदल नै हिँडेको थिएँ । त्यसरी हिँड्ने क्रममा खोटाङभरि बाटो देखाउने हर्कराज दाइ नै हुनुहुन्थ्यो ।

त्यतिबेला संयुक्त जनमोर्चा त्यति ठूलो संगठन थिएन । सशानुभूति राखेर मात्रै उहाँ हामीसँग आउनुभएको थियो । अहिले २५ वर्षपछि पनि सडक मजदुर नै । पहिले पनि त्यहीँ हुनुहुन्थ्यो । उस्तै दीनहीन अवस्थामा फाटेका लुगा लगाएर हिँड्दाखेरि बडो नमीठो अनुभूति भयो ।

खोटाङजस्तै पूर्वी रुकुमको लुकुम भन्ने गाउँ पनि स्मरणीय रह्यो ।

बागलुङबाट करिव १० हजार फिटको उचाइ उक्लेर जाँदा त्यहाँ हिउँ परिराखेको थियो । हिउँले ढाकिएको ७ किलोमिटर बाटो छिचोलेर हामी गयौं । लुकुम भन्ने गाउँमा पुगियो । पहिले सुनेको थिएँ, तर पुगेको त थिइनँ । त्यसको नजिक काँक्रीसम्म जनयुद्धमा पुगेको थिएँ ।

लुकुम ठूलै गाउँ रहेछ । ५/६ सयजति घर एकै ठाउँमा भएको । खाम मगर र केही दलितहरु मात्रै भएको बस्ती रहेछ । त्यहाँ यति दीनहीन अवस्था देखियो कि बडो आदिम जस्तो ।

जनयुद्धताका हामी जस्तो देख्थ्यौं, मान्छे गरिब छन् । फाटेका लुगा लगाएका छन्, खाली खुट्टा हिँड्छन् । सुँगुरसँगै एउटै घरमा बस्छन् । वरिपरि जम्मै फोहोर । अहिले पनि त्यस्तै । त्यस्तै देखियो । त्यो देख्दा बडो चित्त फाट्यो ।

खासगरी बुढी आमाहरु, हाम्रै बाआमा उमेरका बाआमाहरु खालीखुट्टा देख्दाखेरि मेरो आँशु नै आयो । जुत्ता किनेर लाउनुस् बाआमा भनेर पैसा पनि दिएँ मैले ।
शहिद परिवार पनि त्यस्तै भेटिनुभयो । बडो दर्दनाक स्थिति देखियो ।

माओवादीहरु भावुक, तर संकीर्ण !

कांग्रेस बढी सहिष्णु देखियो । त्यसपछि  एमाले देखियो । माओवादी साथीहरु चाहिँ भेट्दा आँशु टिलपिल पनि गर्ने, तर ब्यवहार हेर्दाखेरि संकीर्ण ।

स्थानीय तहमा धेरै एमाले र कांग्रेस नै थिए । उनीहरुले नै बढी जितेका छन् । माओवादीले थोरै जितेको हो । पूर्वतिर एमाले बढी देखिए, मध्य र पश्चिममा कांग्रेस बढी । रुकुम, जाजरकोटमा माओवादीहरु पनि देखिए । हामीले स्थानीय तहका पदाधिकारी भनेर सबैलाई समान नै व्यवहार गर्‍यौं । उद्यमी व्यावसायीसँग भेट पनि त्यसैगरी गर्‍यौं । तर, बैचारिकरुपले आफूसँग निकट भनेको माओवादी नै हो ।

हिजो आफूसँगै काम गरेका साथीहरु भेट्दा कहीँ त भावुक पनि भइयो । पश्चिम रुकुममा नरबहादुर पुन ‘तारा’ सुरुमा नयाँ शक्तिलाई नै समर्थन गर्नुहुन्थ्यो । पछि माओवादीतिरै फर्किएर गाउँपालिका अध्यक्ष हुनुभएको रहेछ । उहाँले ठूलो स्वागत कार्यक्रम राख्नुभयो । पुरानै साथीहरु पनि भेटिनुभयो । जिल्ला समन्वय समितिको सभापति पनि पुरानो माओवादी हुनुहुँदो रहेछ । प्रदेश मन्त्री विमला केसी पनि त्यही गाउँकी । उहाँहरुसँग अलि भावुक कुरा भयो । दाइ, हामी त सँगै छौं, हामीलाई छोडेर किन जानुभयो भन्नेजस्ता भावुकताका कुराहरु पनि गर्नुभयो ।

रुकुमका मेयर पनि एकदम मिलनसार हुनुहुँदो रहेछ । उहाँले भावुकतापूर्वक स्वागत गर्नुभयो । त्यस हिसाबले सबैले खातिरदारी गर्नुभयो गर्न चाहीँ । तर, मैले फरक के देखेँ भने, कांग्रेस उदार र खुला राजनीति गर्न पहिलेदेखि नै अभ्यस्त भएको हुनाले राजनीतिकरुपमा बढी सहिष्णु देखियो । बैचारिक हिसाबले भन्दा पनि सबैप्रति सहिष्णु हुने आचरण पाएँ ।

त्यसपछि एमाले देखियो । किनकि एमाले पनि बहुदलीय प्रतिस्पर्धामा आएको लामो समय भयो । माओवादी साथीहरु चाहिँ अलि संकीर्ण । यसो भेट्दा आँशु टिलपिल पनि गर्ने, तर ब्यवहार हेर्दाखेरि चाँहि संकीर्णता । हामीसित भेट्दा जातै छोडेको मान्छेसँग भेट भएकोजस्तो मुखाकृति देखिन्थ्यो । उहाँहरुको नियत खराब चाहिँ होइन, तर, निषेधात्मक द्वन्द्ववाद भन्ने गरिन्छ नि मार्क्सवादी भाषामा । त्यसमा अभ्यस्त हुँदै आएको हुनाले त्यो सांस्कृतिक रुपमा पनि फरकपन देखियो ।

स्थानीय तहमा गाईलाई घाँस हाल्ने सुझाव !

कतिपय ठाउँका स्थानीय तहमा युवाहरु पनि रहेछन् । पढेका, मास्टर्स डिग्री गरेका त्यस्ता युवाहरुले केही गरौं भनेर प्रयत्न गरेको पनि देखियो । कतिपय स्थानीय तहमा अलि पाका, पुराना मान्छे प्रशस्त हुनुहुँदोरहेछ । तर पनि उहाँहरु अन्योलमा परेकोे देखियो ।

संविधानमा हामीले २२ वटा अधिकार दिएर त राख्यौं । तर, त्यसअनुरुपको कानुन बेलैमा नबन्दा र उहाँहरु आफैंलाई पनि आफ्नो अधिकार के हो भनेर त्यति धेरै ज्ञान नभएको देखियो । फेरि १५ जनाको दरबन्दी भएको छ भने दुई-तीनजना मात्रै कर्मचारी हुनु, ऐन नबन्नु र वित्तीय आयोग बनेर न्यायपूर्ण राजश्व बाँडफाँड नभइकन तजबिजी ढङ्गले अड्कलेर दिनु आदि कारणले गर्दा उहाँहरुलाई वितृष्णा भएको देखिन्थ्यो ।

आखिर यो त सरकारै हो, विकेन्द्रीकरण गरेर, अड्कलेर दिएको होइन । तल्लो तहको त कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तीनवटै अंग भएको राज्य नै हो । त्यो अनुरुपको क्षमता, दक्षता जुन हुनुपर्थ्यो । त्यो हुन नसकेको अलि बढी देखियो ।

स्थानीय तहमा महिला बढी उपाध्यक्षमा निर्वाचित भएकाले उहाँहरुले न्याय निसाफको जिम्मेवारी लिनुभएको छ । तर, उहाँहरुलाई कानुनसम्बन्धी ज्ञान नभएको स्थिति छ । स्थानीय न्यायाधीश नै हुनुभयो उहाँहरु । उहाँहरुलाई सहयोग पुर्‍याउने सचिवहरु पनि कानुनी पृष्ठभूमिको भइदिनुपथ्र्यो तर, सुब्बाहरु अर्कै पृष्ठभूमिका । तीनलाई पनि कानुनको ज्ञान नहुँदाखेरि न्याय सम्पादनमा उहाँहरुलाई कठिनाइ परेको पनि देखियो ।

लोकतन्त्र तलसम्म पुग्न त पुगेको छ । तर, त्यसलाई व्यवस्थापन गर्न र कार्यान्वयन गर्न कठिनाइ परेकै देखियो ।

पहिलो कुरा त संविधानमा भनिएका कानुनहरु बनाउनुपर्‍यो । केन्द्रले बनाउने केन्द्रले बनाउनुपर्‍यो र उहाँहरुले बनाउने कानुनमा सहयोग गर्नुपर्‍यो । दोस्रो, उहाँहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ । सिकाउन पनि त पर्‍यो उहाँहरुलाई । स्थानीय तह भनेको त केन्द्रको बच्चा नै ठान्नुपर्‍यो । त्यो ढङ्गको सवलीकरण उहाँहरुलाई गर्नुपर्‍यो ।

पहिले घाँस खुवाउनुपर्‍यो नि त गाईलाई, अनि दूध दुहुने हो । पहिल्यै दुहुन थाल्नुभयो भने त केही पनि आउँदैन, लात हान्छ गाईले !

कर्मचारी नहुनु, बजेट नहुनु, ऐन नियम नहुनु, क्षमता अभिबृद्धि नहुनु आदि समस्याहरु उहाँहरुको देखियो । प्राथमिकता कसरी निर्धारण गर्ने, योजना कसरी निर्माण गर्ने भन्ने कुरोमा क्षमता नपुग्नु समस्याका रुपमा रहे । अर्को के देख्यौं भने अधिकांस त पार्टीका कार्यकर्ताजस्ता थिए अझै पनि । एमाले, माओवादी, कांग्रेस पनि त युद्धकालीन ढाँचामै जन्मिएका पार्टीहरु हुन् । सानो-सानो कुरामा पनि केन्द्रको मुख ताक्ने र ती तहका पदाधिकारीहरुमा पनि अलिकति सिर्जनशीलताको अभाव देखियो ।

साधन-स्रोत पर्याप्त नहुनु र थप साधनस्रोत जुटाउन जथाभावी कर लगाउने प्रवृत्ति पनि मौलाएको छ । त्यस्तोमा मैले केही सुझावहरु  दिएँ । सुरुमा बढी कर लगाउने होइन, उसको जीवनस्तर उठाउनुस भनेर उदाहरण नै प्रस्तुत गरेँ ।

पहिले घाँस खुवाउनुपर्‍यो नि त गाईलाई, अनि दूध दुहुने हो । पहिल्यै दुहुन थाल्नुभयो भने त केही पनि आउँदैन, लात हान्छ गाईले । त्यसो नगर्नुस् बरु वित्तीय आयोग छिटो बनाएर केन्द्रकै राजश्व प्राप्त गर्नुुस् र त्यसैबाट प्राथमिकता तोकेर तपाईंहरु मितव्यायी बन्नुस भनेँ । जनताको जीवनस्तर उठ्दै गएपछि र उत्पादन बढ्दै गएपछि क्रमशः कर बढाउँदै लैजान सुझाव दिएँ ।

म क्षेत्रीय विकास योजनाको विद्यार्थी हुनुको नाताले पनि स्थानीय तहले कसरी काम गर्नुपर्छ भन्ने विषयमा ठोस अवधारणा पनि छ मसँग । भूउपयोग योजना पहिल्यै बनाउनुसे । त्यसपछि गुरु योजना बनाउनुस । अनि आफ्नो प्राथमिकता निर्धारण गर्नुस् भन्ने सुझावहरु दिएँ । सबैतिर सडक भन्नेमा मात्रै नजानुस्, पहिले मुख्य सडक र वडाका केन्द्र जोड्ने सडक बनाउनुस् बाह्रै महिना चल्ने । र, सडकहरु बनाउँदा स्थानीय साधनस्रोत प्रयोग गर्नुस, सकेसम्म डोजरहरु बढी प्रयोग नगर्नुस् भनेँ ।

अर्को, स्कुल शिक्षाको पुरै रुपान्तरण गर्न सल्लाह दिएँ । जनशक्तिले नै विकास गर्ने हो, त्यसकारण स्कुलमा ध्यान दिनुस भनें । कृषिको आधुनिकीकरणमा बढी जोड गर्न पनि आग्रह गरेँ । उद्योग-सेवा भनेको पछि आउँछन्, पहिले प्राथमिकता यसरी निर्धारण गर्नुस भनेर सुझावहरु दिएँ । राम्रै मान्नुभयो ।

दौरासुरुवाल लगाइयो, गीत सुन्दै हिँडियो !

दौरा-सुरुवाल लगाउने कुरा मैले पहिले नै सोच्या थेँ । यो मध्यपहाडी लोकमार्ग सात वटा जातिलाई जोड्ने, सात जातिलाई उन्ने एउटा माला हो । डोरी हो । यात्रा गर्दाखेरि पूर्वदेखि नै लिम्बु, खम्बु, सबैको पोशाक र संस्कृति हामीले अनुशरण गर्नुपर्छ है भनेर साथीहरुले भनेका थिए । संस्कृतिकर्मीहरुलाई पनि सकभर सम्बन्धित भाषा बोल्न, त्यही भाषामा गीत बनाउन भनेको थिएँ ।

आफूलाई गाडीमा गीत सुन्नुपर्ने । ड्राइभर भाइलाई पनि त्यस्तैखालको गीत खोज्नुस् है भनेको थिएँ । आजकल युट्युवबाट सबै पाइहाल्ने । भाइले खोजेर पूर्वदेखिका भाका सबै जम्मा पारेका थिए । अचम्म के लाग्यो भने सबै जिल्लाका आफ्नै भाषा र अन्तरवस्तुसहितका गीतहरु रहेछन् । सुरुमा अरुण तरेर नाना … तमोर तरेर भन्ने प्रचलित गीतै थियो । नमस्ते खोटाङ भन्ने म्युजिकमा सबैभन्दा राम्रो लाग्यो । त्यो आधुनिक लयमा ।

धादिङतिर आउँदा हाम्रो धादिङ, राम्रो धादिङ । गोरखातिर जाँदा दरौंदीको पानीले हुर्केको म, गोर्खालीको मायाले फुर्किएको म । पश्चिमतिर पुग्दा डोटेल भाषाका गीतहरु । डेटेलीहरु आफ्ना प्रेमिकालाई सुवा, प्रेमीलाई बाज भन्दा रहेछन् । त्यहाँको गीत ‘आउ सुवा बाज तम्रा डोटी, खप्तड घुम्न जाउँला’ भन्ने गीत सुन्दै गइयो ।

गीत सँगसँगै पहिरन पनि त्यहीअनुसार लगाउँ भन्ने थियो । तर, सुरुमै सबै लिएर जान त भ्याइएन । त्यसैले आंशिक मात्रै लगाइयो । तामाङहरुकोमा तामाङ भेषको, गुरुङहरुकोमा जाँदा गुरुङहरुको पोशाक लाउँदै गइएको थियो । पश्चिम खसान प्रदेश जाँदाखेरि चाहीँ दौरासुरुवाल नै हो । त्यो लाउनुपर्छ भनेर काठमाडौंबाटै लिएर गएका थियौं ।

हिसिला यमीले तामाङकोमा तामाङको, गुरुङकोमा गुरुङको पुरै पहिरन लगाउँदै जानुभएको थियो । मैले दौरा सुरुवाल लागाउँदा सारीचोली चाहीँ त्यतिखेर नभेटिएर नलागाउनुभएको हो ।

रामरिझन यादवजीले हिउँ देख्नुभएको रहेनछ !

हाम्रो टिममा मधेसका रामरिझन यादव र प्रशान्त सिंहसमेत हुनुहुन्थ्यो । प्रशान्त सिंहले त पहाडमा पुरै गाडी आफैँ हाँक्नुभयो । चिवाभञ्ज्याङदेखि झुलाघाटसम्मै गाडी चलाउनुभयो ।

हामी ९ जना सुरुदेखि अन्तिमसम्म रहृयौं । म, हिसिलाजी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, डम्मर खतिवडा, मेरा स्वकीय सचिव रोशन पोखरेल, ईश्वर रिजाल यति हामी चिवा भञ्ज्याङदेखि झुलाघाटसम्मै रहृयौं । अरु साथीहरु थपघट हुँदै जानुभयो ।

प्रशान्तजी हिँड्न अभ्यस्त । रामरिझनजी चाहिँ पहाडमा त्यति हिँड्नुभएको रहेनछ । उहाँलाई सिन्धुलीदेखि लिएर हिँडियो । उहाँले निकै रमाइलो मान्नुभयो । बिभिन्न ठाउँमा बोल्न पनि लाइयो, राम्रो बोल्न सक्ने मान्छे पनि हो । उहाँले हिउँ कहिले देख्नुभएको रहेनछ ।

बागलुङबाट रुकुम जानेक्रममा, हिउँ पर्‍या कुरा सुनियो । उहाँ मलाई हिउँ हेर्नु छ भन्दै हुनुहुन्थ्यो । तर, गाह्रो हुने भएपछि दाङ हुँदै गइयो । तर, संयोगले वैतडी पुगेपछि हिउँ पर्‍यो । त्यहाँ खुव रमाएर हिउँ खेल्नुभयो ।

पहाडी लोकमार्गलाई बर्मादेखि अफगानिस्तानसम्म जोड्नुपर्छ

मध्यपहाडी लोकमार्गलाई अफगानिस्तानदेखि बर्मासम्म जाने एउटा शान्तिमार्गको रुपमा विकास गर्नुपर्छ । अनि बल्ल यसको क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्व  रहन्छ ।

मध्य पहाडी लोकमार्गको दुई तीन ठाउँमा ट्रयाक खोल्न बाँकी रहेको देखियो । पूर्वको चिवाभञ्ज्याङदेखि रामेछाप मन्थलीसम्म ट्रयाक छ । आखिर रामेछाप हुँदै आउनुपर्ने हो । तर, मन्थलीबाट दोलालघाटसम्म आउने बाटोको ट्रयाक अलि नमिलेको देखियो ।

दोस्रो, सिन्धुपाल्चोकबाट नुवाकोटको पार्टी भञ्ज्याङ भएर छहरे निस्केर त्रिशुली जाने हो । त्यो पार्टी भञ्ज्याङमा ट्रयाक त खुलेको छ, तर गाडी चल्ने अवस्था रहेनछ । खुल्नै बाँकी चाहिँ जाजरकोटको पश्चिम जाजरकोटमा एउटा खण्ड रहेछ । अरु ठाउँमा मोटामोटी बाटो खुलेको रहेछ ।

मैले संसदमा पनि केही सुझावहरु दिएको छु । अब विकासको रणनीति बन्नुपर्‍यो । अहिलेसम्म सबैले आफ्नो ढङ्गले विकास र समृद्धिको राग अलाप्ने मात्रै काम भयो । नेपालको धरातलीय यथार्थलाई पहिले बुझ्नपर्‍यो । त्यसको निम्ति विश्वस्तरबाट पनि दुनियाँलाई हेर्नुपर्छ ।

भारत र चीनको बीचमा मात्र होइन, अमेरिका र चीनको बिचमा विश्वस्तरमा प्रतिस्पर्धा बढ्दैछ । शीतयुद्ध अगाडि आउँदैछ । त्यो क्रममा आगामी दशकमा यो हिन्दकोषदेखि लिएर बर्मासम्मको जुन हिमाली भेग हो, त्योबीचमा नेपाल पर्छ । यी दुईटा प्रतिस्पर्धीबीचको फल्ट लायन नै हुन्छ वास्तवमा । त्यसो भएको हुनाले यो क्षेत्रको सामरिक महत्व र पर्यावरणीय महत्व झन बढेर जान्छ ।

त्यसैले हामीले बेलैमा यसको महत्व बुझेर मध्यपहाडी लोकमार्ग हुँदै, चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म जुन बाटो बनाएका छौं, यसलाई अफगानिस्तानदेखि बर्मासम्म जाने एउटा शान्तिमार्गको रुपमा विकास गर्नुपर्छ । अनि बल्ल यसको क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्व पनि रहन्छ । त्यही क्रममा नेपालले आफ्नो आर्थिक विकास र समृद्धिको लाभ लिन पनि सक्छ । नयाँ प्रकारको शीतयुद्धमा सक्रिय तटस्थताको भूमिका निर्वाह गरेर नेपालले आफूलाई शान्ति, समृद्धि र मानवताको सन्देश दिन सक्छ । त्यो ढङ्गले सोच्नुपर्छ भन्ने मलाई लाग्छ ।

हेर्नुहोस् भिडियो :

[ad_2]

Source link

सम्बन्धित खवर

Back to top button