मनकामना भ्रमण : केही अनुभव

धेरै पटक हिंडी रहने पृथ्वी राजमार्गको बाटोमै पर्ने मनकामना माईको दर्शन गर्ने अनुकुलता मिलाउन नसकेकोमा बाहिर कसैलाई भन्न नसके पनि भित्र भित्रै मनमा एक किसिमको भावना उब्जि रहेका हुन्थ्यो । धेरै पटक त्यहि बाटो यात्रा गरी रहंदा बाटै बाट केबुल कार देखिनै रहने हुंदा त्यस प्रति त्यति आकर्षण लाग्न नजानु पनि केही हद सम्म ठिकै हुन जाला । तर साथि भाई, चीनजानका मानिस र ईष्टमित्रहरुले कुरा गर्दा सुन्दा भने आफू जान नसकेकोमा खीन्नता भने बाक्लै थियो । कसैले कुरा गरी हाल्यो भने आफ्नो कमजोरी लुकाउन मैले प्रसंग अन्यत्रै मोड्ने गर्थें । हुनत करीब ४० बर्ष पहिले एउटा सानो कार्यक्रम लिएर म गोरखा गएको थिएं । त्यस बखत मनकामना पुग्ने यातायात को ब्यबस्था भै सकेको थिएन । त्यहां पुग्ने मुख्य रुपमा ३ ओटा बाटा प्रयोग गरीएका हुन्थे । एउटा बाटो मुगलिङ् बाट पारी तरेर गईएको हुन्थ्यो भने अर्को बाटो आंबु खैरेनीको मस्र्याङ्दीको पुल र दरौंदी तरेर ठाडो उकालो चढेर गईन्थ्यो । कठिन उकालो त्यसमा बिहानको वा दिउंसोको दक्षिण तर्फको घाम पर्यो भनेत यात्रुहरुलाई माथि टाकुरोमा पुग्न निकै सकस हुन्थ्यो । अर्को बाटो भनेको गोरखा सदरमुकाम बाट दक्षिण तिर आउने वन र केही बस्तीको बाटो थियो । उत्तरतीरबाट मनकामनाको दर्शन गर्न आउने भक्तजनहरुले यहि वनको बाटो प्रयागे गरेका हुन्थे । त्यस समयमा मेरो काम गोरखा सदरमुकाममा भएको हुँदा म र मेरो साथीले मनकामना दर्शन गर्ने निधो गर्यौं र त्यतातिर प्रस्थान गर्यौं ।

यो त भयो पुरानो कुरा । अहिले भिन्न परीस्थिति छ । अहिले पृथ्वी राजमार्गको चेरेस भन्ने ठाउंमा, जसलाई केबुल कार पनि भनिन्छ, त्यहां बाट ८ मिनेट भित्रमा नै केबुलकार चढेर मनकामनाको मन्दीरमा सजिलै पुग्न सकिन्छ । तपाई हामी आफै भनौं प्रविधि कति अघि बढि सक्यो । यहाँ जोड्न खोजिएको कुरा केहो भने पहिलेको अबस्था भन्दा अहिले हामी कति अगाडि बढी सक्यौं भन्ने नै हो । केही दिन अघिको कुरो हो । मनकामना दर्शन गर्ने मनमा बिचार आयो । बिशेष कामको सिलसिलामा म पृथ्वीराजमार्गको बाटो भएर अमुक गन्तब्य स्थानमा जानु पर्ने पनि थियो । त्यहि मौका मिलाएर एक पन्थ दुई काम गर्ने गरी बिहानै घरबाट नयाँ बसपार्कतीर प्रस्थान गरें । सर्बप्रथम मैले बसको टिकटको ब्यबस्था गर्नु थियो । टिकट लिनको लागि गोरखा जाने काउण्टरमा लाईनमा बसें । म जेष्ठ नागरिक भएको हुँदा ज्येष्ठ नागरिकको सुविधाको लागि अनुरोध गरें । हामी सुबिधा दिन सक्दैनौ, भनी मेरो परिचय पत्र फिर्ता गरीदिए काउण्टरवालाले । मैले फेरी प्रश्न तेस्र्याई हालें, राज्यले दिएको सुविधा तपाईले किन नदिने भनेर । तर उनले केही पनि प्रतिकृया जनाएनन् । म किंकर्तब्यबिमुढ को अबस्थामा पुगें । त्यसै टहलीरहेको अवस्थामा एक जना ब्यक्ति आए र कहां जाने भनी सोधपुछ गर्न थाले । म मनकामना जान लागेको, तर ज्येष्ठ नागरिकको सुविधा दिन मिल्दैन भनी टिकट नदिएको कुरा मैले बताए पछि तुरुन्त उनी भित्र गएर बस भाडा २५० लेखेको र त्यसमा २०० भाडा कायम गरेको टिकट मलाई दिए । मैले टिकटमा लेखिएको मूल्य २०० तिरें । बसमा चढे पछि यसो टिकट हेरेको त पुग्ने ठाउं मनकामना लेख्नु पर्नेमा आंबु खैरेनी लेखिएको रहेछ । सायद यातायातको दुरी र भाडा बीच तालमेल मिलाउन त्यस्तो गरीएको होला भन्ने मैले अनुमान लगाएं । यसरी घुमाउरो किसिमबाट यात्रुहरुलाई ठग्ने प्रणालीको विकास भएको महसुस गरें ।

जे भएपनि बसको टिकट मिलेकोमा केही खुशी पनि महसुश गरें । बसले आफ्नो गन्तब्य लिएपनि ढिला सुस्ती भने बाक्लै थियो । जहाँ तहीं रोक्ने, यात्रु चढाउने, ओराल्ने काम त सामान्यनै हुने भै हाल्यो । गर्मिको समय र यात्रुको चापले गर्दा उकुस मुकुस थियो नै । बसका कन्डक्टर र यात्रु बीचको हो हल्ला हामी सबैलाई थाहा भएकै कुरा हो भनीरहनु पनि नपर्ला । बसमा अप्ठ्यारा र सकस भएपनि बाहिरी वातावरण भने रमाईलो देखिन्थ्यो । जताततै हरियाली र ठूला रुखहरुले ल्याएको शीतलता र साना बुट्यानहरुले छरेका रमणीय दृश्यहरुले मनलाई आनन्द बनाएका थिए । नदीको कीनार त्यसै रमाईलो हुन्छ त्यसमा पनि नदीको माथिबाट नदीलाई नै हेर्दै बसबाट दगर्नु भिन्दै मजा हुँदो रहेछ । मनकामनातीर बाट झर्दै आएको नदी र म मनकामना तीर जांदै गर्दा बीच बीचमा जम्का भेट भएको जस्तो लाग्दथ्यो । नदी र मेरो गन्तब्य विपरित भएपनि निरन्तर रुपको समागमन भई नै रहने हुँदा मन धेरै आनन्द बिभोर भएको थियो । सँगै नदी सँग बगिरहने पाए झन् कति आनन्द हुन्थ्यो होला भन्ने पनि मनमा कल्पना खेल्दै थियो । यसरी पृथ्वी राजमार्गलाई पछ्याउंदै करीब ५ घण्टाको यात्रा पछि मनकामना दर्शन प्रा.लि.को मूल द्वारमा पुगियो । बसबाट ओर्लना साथ त्यहाँ पनि फुल प्रसादका व्यापारीहरुको चहल पहल बाक्लै थियो । सबै व्यापारीहरुले आफ्नो व्यापार बढाउनको लागि मिठो बोलीमा भक्तजनहरुलाई फूल, प्रसाद, माला किन्नका लागि अनुरोध गरी रहेका थिए । तर नदी पार गरेर केबुलकारबाट पारी पट्टी मनकामना दर्शन गर्न जान पर्ने भएको हुँदा धेरैले त्यहाँ किन्दा रहेनछन् ।

पहिला पहिला पृथ्वी राजमार्ग हुँदै जाँदा पनि मनकामना दर्शनको लागि जाने मानिस र गाडिको भी’ड निकै नै देखिन्थ्यो । अहिले पनि भी’ड बाक्लै देखिन्थ्यो । यात्रुहरु छिटो टिकट लिनको लागि तछाड् मछाड् गरेर अरु यात्रुहरुलाई पछि पार्दै अघि दगुर्दे थिए । म पनि ढिला भयो की भनी केही हतारो गरी अघि बढें । टिकट काउण्टरमा पुगेपछि परि’क्षण गर्ने उद्देश्यले मैले ज्येष्ठ नागरिकको लागि केही सुविधा छ कि भनीे सोध्न नपाउंदै टिकट काउण्टरवालाले कार्ड दिनोस्त भने । मैले कार्ड दिएं र तुरुन्तै कम्प्युटरको रसिद मलाई दिए, रसिद ४५० को मात्र थियो । मैले पैसा पहिला नै दिई सकेको हुँदा बाँकि पैसा पनि फिर्ता दिए । काठमाण्डौंको सरकारी निय’न्त्रणमा रहेको बसपार्कको वातावरण र एक नाफामूलक संस्थाले संचालन गरेको ब्यवसाय बीच यति धेरै पृथकता किन भनी एकै छिन दिमागमा मथिंगल शुरु हुँदा हुँदै म केबुलकार चढ्नको लागि लाईनमा बस्न पुगें । लाईन ब्यबस्थित भएको हुँदा धेरै समय लागेन । कसैको आफ्नो छुट्टै ग्रुप भए एउटै ग्रुपमा नै पठाउने गरीएकोले यात्रुहरु खुशी देखिन्थे । केबुलकारमा हामी तीन जना मात्र भएको हुँदा बसाई निकै सहज थियो । ब’लि चढाउनको लागि लगिएका बोकाहरुको लागि छुट्टै केबुल कारको ब्यवस्था भएको हुँदा यात्रुहरुलाई ब’लि चढाउने जनावरको रेखदेख गर्ने झण्झट् पनि पर्दो रहेनछ । नदी माथिको केवुलकारबाट देखिने नदीको दृश्य त्यतिकै रमाईलो लाग्दथ्यो । सलल सुसाउँदै तल कलकल गर्दै बगेको नदीको दृश्य क्षणिक भए पनि सधैँ मनमा रहिरहने प्रकारको थियो । नदीको आवाजले केही गुनगुनाएको भान परेको थियो । तर करीब ८ मिनेटको केवुल कारको यात्राले भने धेरै मिनेटको अनुभब भने पक्कै दिएको थियो । बीच बीचमा केवुल कारको असन्तुलन भएको जस्तो लाग्दथ्यो, खट् खट् आवाजको ।

केवुलकारबाट अबतरण गरेपछि पनि यात्रुहरुलाई सहज होस् भन्ने उद्देश्यले बाहिर निस्कनकाे लागि पनि द्वुविधा नहुने गरी मार्ग तय भएको हुँदा सबैलाई सहज हुने नै भयो । केबुलकारको परिसरबाट बाहिर निस्कना साथ बजार शुरु हुँदो रहेछ । बाटोका दुबै तर्फ भिन्न-भिन्न किसिमका पसलहरु भएकोले जो कोहीलाई आफ्ना रुचि अनुसारका सामाग्री खरीद गर्न सहज थियो । पसल भन्दा पनि होटेल लज बढी रहेछन् । फूलपाती, अक्षता आदि सामाग्रीको ब्यापार पनि राम्रै चलेको देखियो ।
केबुलकारको करीब ५।७ मिनेटको यात्रापछि मनकामनाको मन्दिर भेटियो । मन्दीरको जि’र्णोध्दार भई रहेको हुँदा नजिकैको ठाउँमा मनकामना माई मन्दिरको स्थापना गरीएको रहेछ । हामी त्यहाँ पुग्दा करीब दिउँसोको १२ बजेको थियो । करीब ४ घण्टाको लाईनको बसाई पछि बल्ल दर्शन गर्न पाईयो । भक्तजनको भीडलाई छिटो छिटो परिचालन गर्न दर्शनार्थिहरुलाई जतिसक्यो चांडो दर्शन गराउने ब्यवस्थाले लाईनमा बसेकाहरुलाई त्यति पट्यार लाग्दो थिएन ।

मन्दिरको जि’र्णाेध्दारको अधिकांश काम सकिएको भएपनि छानामा जलप लाउने काम सुनको अभावले मर्मत कार्य स्थगित भएको रहेछ । पुरानो आकृतिलाई नबिगारी बनाएको हुँदा भक्तजन एवं सरोकारवालाहरु खुशीनै देखिन्थे । तर अरुलाई खल्लो नलागे पनि मलाई भने ब’ली चढाउने नाममा बिभिन्न पशुपंक्षिको ब’धले भने मनै झसंग पारेको थियो । अज्ञान जनाबरको मृ’त्युको रोदन निकै कारुणिक थियो । कतिपयको ह्दयमा भने त्यो दृश्यले ल्याएको पीडाको कारणले राम राम भनेको पनि सुनिएको थियो । धार्मिक परम्परामा विश्वास गर्ने भएको हुनाले नै सायद यसमा सुधार आउन नसकेको होला । मन्दिरको वरीपरी पसलहरु बाक्लै भएकोले मन्दीरले चर्चेको आंगन भने भक्तजनहरुको आगमनको तुलनामा अलि साँघुरो भएको अनुभव भयो । पूजाआजाको समाप्ती पछि सरसफाईको काम हुँदो रहेछ । तर नजिकै रहेको धारामा भने सरसफाईको कमी नै महशुस भयो । कतिपय श्रध्दालुहरुले भने परेवा उडाउने गर्दा रहेछन् । कतिपय स्थानीयहरुले अरुले थाहा नपाउने गरी त्यहि उडाएका बचराहरुलाई अन्य भक्तजनहरुलाई बेच्ने काम पनि हुँदो रहेछ ।

मनकामना माईले भक्तजनहरुलाई आनन्द दिनु त छँदैछ , त्यसको अतिरिक्त स्थानीय बासीहरुको रोजगारी, ब्यवसाय, आय आदिमा भने निकै परिवर्तन ल्याएको देखिन्छ । बाहिरबाट त्यहा ब्यापार ब्यवसाय गर्न आउनेहरुको पनि ठूलै जमात रहेछ । भारतीयहरुको पनि मिठाई पसल लगायत अन्य पसलहरु पनि बाक्लै रहेछन् । भारतीय तीर्थयात्रीहरुको पनि आगमन दिन प्रतिदिन बढ्दै गएको रहेछ । यसरी मन्दिरको कारणबाट त्यस ठाउँको वरीपरीको जग्गाको मूल्य पनि धेरै आकाशिएको रहेछ । मन्दिरको वातावरण, श्रध्दालुहरुको भी’डभाड्, आगन्तुकहरुको भी’ड्, मानिसहरुको आवतजावत, मन्दिरको अवस्थिति, पूजाआजाको विधिविधान आदि जस्ता दृश्यहरुले आकर्षित गराएपनि बाध्य भएर केबुलकार चढेर पुनः सानो बसमा कोचिएर नदीको दृश्यावलोकन गर्दै उही अव्यवस्थित काठमाण्डौतीर फर्कियौं ।

सम्बन्धित खवर

Back to top button