कोरोना, लकडाउन र मानव जीवन

कोरोना लकडाउन भएर होला सायद आजभोलि सबैको मस्तिष्कको लक खुलेको छ । फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि सामाजिक संजालहरुमा प्रायजसो: मानिसका सृजनाहरु पोखिएको देख्न पाइएको छ । साविकको एक दुई घण्टा सामाजिक संजालमा रमाउने मानिसहरु आजभोलि ८/१० घण्टा रमाउन थालेका छन् । अन्य व्यापार व्यवसाय सेलाए पनि तर्क, वितर्क, विचार, विमर्श, विरोध र विश्लेषण आदिका व्यापार व्यवसाय निकै तातेको देखिन्छ । मानिसहरु बढी विश्लेषण र समालोचक बनेका छन् ।

वर्तमान परिवेश र परिस्थितिले मानिसलाई पक्कै पनि त्रसित र भयभित बनाएको छ । यसको साथसाथै मानिसलाई बढी सचेत र सक्रिय पनि बनाएको छ । नरभक्षीको संज्ञा पाएको कोरोना भाइरसले लाखौं मानिसहरूको ज्यान लिइरहेको छ । पारिस्थितिक प्रणाली सन्तुलन राख्न सिकाएको छ । प्राकृतिक स्रोत साधन माथीको दोहन, वन्यजन्तु र अन्य प्राणी माथीको चरम शोषण रोक्न सिकाएको छ ।

२१ औं शताब्दीको नबिर्सने चोट अनि पीडा बनेको कोरोना भाइरसले सम्पूर्ण मानव जातिलाई निरीह अनि कमजोर सावित गरिदिएको छ । विवेकशील, बुद्धिजीवी र सर्वश्रेष्ठ प्राणीको उपमा पाएको मानव जातिलाई यसले चुनौती दिदै जिस्काइरहेको छ । युगौंयुग लगाएर आर्जन गरेको मानव जातिको उपमा संकटमा पर्न थालेको छ । सम्पूर्ण विश्व आज तरङ्गित बनेको छ ।

मानव जातिको अस्तित्व संकटमा पर्न थालेको त होइन ? भनी मानव जातिलाई एकपटक गहिरिएर गोत्लीन बाध्य बनाएको छ । जीवन, जगत, वेद, पुराण आदि धर्म ग्रन्थहरुको खोजीनीति गर्न र विचार विश्लेषण गर्न प्रेरित गरेको छ । आइसोलेसन, क्वारेन्टाइन, पि.पि.ई. जस्ता अंग्रेजी शब्दहरूलाई आफ्नो जीवनकालभरी नबिर्सने गरी मानिसहरुको मानसपटलमा कैद गराउँन सफल बनेको छ ।

जहाँ इच्छा त्यहाँ उपाय, जहाँ समस्या, त्यहाँ समाधान भने जस्तै कोरोनाको समाधान पनि अवश्य रहेको छ । यसको औषधि हालसम्म बनि नसकेको भनी डब्लूएचओ (WHO) ले बताउँदै आएको हुँदा यस्तो अवस्थामा कोरोनाको आफ्नो शरीरमा प्रवेश गर्न नदिनु नै यसबाट बच्ने अति उत्तम उपाय हो । यसका लागि प्रत्येक नागरिकले जनस्तरबाट व्यक्तिगत सरसफाइ, सामुदायिक सरसफाइ, र सुरक्षा अपनाउनु पर्दछ । मानिसको प्रतिरक्षा प्रणाली मजबुत बनाउने स्वस्थकर र भिटामिन सि युक्त फलफूल तथा खाद्यान्नको सेवनलाई बढवा दिनुपर्छ । सरकारले अवलम्बन गरेको लकडाउनको पूर्णरूपले पालना गर्नुको साथै उच्च मनोबल कायम गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित खवर

Back to top button