प्रेम: शब्द एक, परिभाषा अनेक

विश्वमा सवैभन्दा धेरै कथा, कविता, लेख र पुस्तकहरु लेखिएका छन भने अवश्य पनि त्यो प्रेमका बारेमा लेखिएका छन् । विश्वमा जति पनि फिल्म, नाटक र गीतहरुको श्रृजना हुन्छन् ती सबै प्रेम बिना अधुरा र अपूरा जस्ता लाग्छन् । यो ब्रह्माण्डमा शुद्ध चिज छ भने त्यो प्रेम हो । प्रेम त्यति बेलासम्म शुद्ध रहन्छ जतिबेलासम्म यो स्वार्थको सम्पर्कमा आउँदैन । श्रृष्टिको सबैभन्दा सुन्दर शब्द हो प्रेम । प्रेम शब्दलाई उच्चारण गर्दा पनि मन अनि मष्तिष्कमा बेग्लै आनन्दको आभाष हुन्छ ।

प्रेमका अर्थ र परिभाषा असिमित छन् । प्रेम एउटा खुला पुस्तक हो यसलाई पाठकले आफ्नै ढङ्गले अध्ययन गर्दछन् । यसलाई सबैले आफ्नो अनुकुल परिभाषित गर्ने गरेको पाइन्छ । किशोर किशोरीहरुले एक अर्काप्रति आकर्षित हुनु, नजिकिनुलाई प्रेम ठान्दछन् । बच्चा-बच्चीहरुले मिठो- मिठो खानेकुरा पाउनु, खेल्न पाउनु र घुम्न पाउनुलाई प्रेम ठान्दछन् । प्रेमी-प्रेमिकाले डेटिङ् जानु र रमाइलो गर्नुलाई प्रेम ठान्दछन । वैवाहिक जोडीले दुःख-सुख सँग-सँगै काट्नुलाई प्रेम ठान्दछन् । प्रेमको वास्तविक अर्थ र परिभाषालाई यहि नै हो भनेर किटानी वा निश्चित गर्नु प्रेमको परिभाषालाई संकुचित बनाउनु मात्रै हो । यो त व्यापक छ यसलाई २/४ लाइनको वाक्यमा सिमित गर्न खोज्नु प्रेमको उपहास गर्न खोज्नु हो।

प्राय: मानिस आकर्षण र स्वार्थलाई प्रेम हो भन्ने ठानेर भ्रममा परेको पाइन्छ । प्रारम्भिक चरणमा आकर्षण र स्वार्थले पनि प्रेम गरेको जस्तो अनुभूति दिलाउछन् तर त्यो दिगो हुन सक्दैन । प्रेमले जीवनलाई सुखी र खुसी बनाउँदछ तर स्वार्थ र आकर्षणले क्रमश मनमुटाव र अविश्वास श्रृजना गर्दछ । स्वार्थ र आकर्षण रहित प्रेम नै वास्तविक र शुद्ध प्रेम हो । शुद्ध प्रेमले कहिल्यै पनि स्वार्थ र आकर्षणको सहयोग लिंदैन । प्रेम भावना हो, यसलाई देखाउनु र प्रदर्शन गर्नु भन्दा पनि महशुस गरेकै राम्रो हुन्छ । प्रेमलाई जति प्रदर्शन गर्न खोज्यो त्यति नै यसको शक्ति क्षीण हुँदै जान्छ ।

प्रविधि र पश्चिमी संस्कृतीको प्रभावले गर्दा आजभोली हाम्रो गाउँ, समाज र परिवेशमा पनि प्रदर्शन गर्ने प्रेमको प्रतिस्पर्धा चलेको पाइन्छ । आधुनिकता र प्रविधिको विकास सँगै माया र प्रेमले पनि आफ्नो स्वरुप परिवर्तन गरेको देख्न सकिन्छ । मानिसले माया प्रेमलाई अनुभूति र महशुस भन्दा पनि फेसवुक, ट्विटर, म्यासेन्जर र भाइवर जस्ता सामाजिक संजालबाट देखाउने संस्कृति बसाल्न थालेका छन् । मन, मुटु र व्यवहारमा माया, प्रेम होस् नहोस् सामाजिक संजालहरुमा अवश्य हुन्छ । आजभोलि माया, प्रेमलाइ मन, मुटु र व्यवहारमा होइन सामाजिक संजालहरुमा खोज्नुपर्दछ ।

छोराले बाबुलाई प्रेम गर्छ कि गर्दैन ? सामाजिक संजालमा खोज्नु पर्दछ । पतिले पत्निलाई प्रेम गर्छ कि गर्दैन ? सामाजिक संजालमा खोज्नु पर्दछ । यहाँ सम्म कि आमाले आफ्ना सन्तानलाई गर्ने नि:स्वार्थ प्रेम पनि अब सामाजिक संजालमा खोज्नु पर्ने दिन नआउला भन्न सकिंदैन । मन, मुटु र व्यवहारले गरेको प्रेमलाई सामाजिक संजालको प्रेमले प्रमाणित गर्नु पर्ने दिन आइसकेको महशुस गरेको छु मैले । यसरी २१ ‍औँ शताब्दीसम्म आइपुग्दा प्रेम पनि प्रविधि मैत्री बन्न पुगेको देखिन्छ । इन्टरनेट र प्रविधिले प्रेमको परिभाषालाई अझै व्यापक बनाइदिएको छ ।

विश्व समुदायमा शान्ति कायम गर्ने शक्ति छ भने अवश्य त्यो शक्ति प्रेममा छ । मृत्युलाई जित्न सक्ने साहस कसैले गर्न सक्छ भने त्यो प्रेमले गर्न सक्छ । प्रेम एउटा सुन्दर फूल हो यसले सबैलाई मोहित र आकर्षित गर्दछ । प्रेम जीवन जिउने साहस हो । विज्ञान र प्रविधि र समयसँगै मानवीय सम्बन्ध र प्रेममा आएको विकृतिको अन्त्य गरी शुद्ध र वास्तविक प्रेमद्बारा विश्वसमुदायलाई प्रेममय बनाउन सकेमा मात्र प्रेमले सार्थकता प्राप्त गर्न सक्दछ ।

सम्बन्धित खवर

Back to top button