बहिनीकाे मृत्युमा धीत मरुन्जेल रुन पनि पाइन्

मेरो बहिनीले हामीलाई छाेडेर गएकाे छैंटाैँ दिन अर्थात घटना भएको आज जेठ १ गते छैंटौँ दिन पूरा भएकाे छ । बहिनीको मृत्यु नभई हत्या भएको हुन सक्ने आशंकाको लेख मैले यस अघि नै यहाँहरु समक्ष प्रस्तुत गरिसकेको छु । मृत्यु भए देखि आजसम्म के के भयो ? तथ्य के हो ? र हामी कहाँ छौँ त्यसको बारेमा बताउन चाहन्छु ।

मिति २०७७ बैशाख २७ गते अर्थात हाम्राे लागि कालाे दिन

हामी दुई दाजुभाइ तर दुबै जना कामको सिलसिलामा घर बाहिर । म जान सक्ने स्थिति थिएन । भाइ नेपाल प्रहरी, जुम्ला विमानस्थलमा कार्यरत छ । मैले भाइलाई फोन गरेर बैहिनीको बारेमा खबर गरेँ । म आउन नसक्ने पनि जानकारी गराएँ । मलाई बहिनीले वैशाख २५ गते फोन गरेको र फोनमा बहिनीले आफूलाई घरका परिवारले तेरा माइती पनि तँलाई वास्ता नगर्ने रहेछन, भाइहरुसँग पनि तेरो सम्बन्ध राम्रो छैन् जस्तो छ, तँलाई केही भइहाल्यो भने पनि तेरा माइती आउने वाला छैनन् यस्तै यस्तै दुखेसो पोख्तै तपाई जसरी भएपनि एकपटक हाम्रो घरमा आउनु दाइ हाम्रो घरपरिवारलाई सम्झाइदिनु भनेर भनेको कुरा भाइलाई भनेँ र कान्छीले मलाई अस्ति मात्र यसो भनेकी थिई आज विती भन्छन् । बिरामी भएको खबर समेत नपाई बहिनीको मृत्यु कसरी भयो । एक छिन अलमलमा प¥यौँ । ‘हैन् मृत्यु शंकास्पद छ तपाइँ आउन नसक्ने भए आउनु म जसरी पनि आउँछु,’ भाइले भन्यो । ‘लेकमा त हिउँ धेरै छ भन्छन्, कसरी आउछस्,’ मैले भने ‘म जसरी पनि आउँछु,’ उसले भन्यो । त्यतिबेलासम्म मेरो बहिनीको लास नजालाई दिनु भन्नु र तपाइँ पनि पुलिसलाई खबर गर्नु । म पनि खबर गर्छु । बहिनी कालले हैन जालले मरेको हुन सक्छ । यही निष्कर्ष पछि भाइ आफनो बिदाको प्रक्रियातिर लाग्यो घटनाका बारेमा पनि सम्बन्धित निकायमा जानकारी गरायो । यता मैले पनि बारेकोट गाउँपालिकाका अध्यक्ष लगायत चिनजानका व्यक्तिहरुसँग सम्पर्क गरेँ र बहिनीको मृत्यु कालगतिले नभई हत्या भएको हुन सक्ने जानकारीका साथ घटनास्थलमा पुलिस पठाई दिन अनुरोध गरेँ । घटना भएकै दिन घटनास्थलमा पुलिस पुगिसकेको खबर मैले पाएँ ।

उता घरतिरबाट आमा, दीदी, काकी, ठूलो बुवाको छोरा दाइ भतिज लगायत १५ जना करिब १ बजे तिर हिंडे । हिंडेको साँझा बहिनीको लास भएको ठाउँ पुग्न सकेनन् र बीचबाटोमै बसे भोलिपल्ट विहान करिब साढे ७ बजे घटनास्थलमा पुगे ।

बहिनीले हामीलाई छाेडेकाे दाेस्राे दिन अर्थात २८ गते

माइतीघरबाट गएको टोली घटना स्थलमा पुगे पनि भाइले आफू नआउन्जेल बहिनीको लास नचलाईदिनु भनेको कुरा मैले फोन मार्फत अवगत गराएँ र सबै जना भाइको पर्खाइमा बसे । त्यहाँ पुगेर बसेका र अघिल्लो दिन देखि लास कुरिरहेका व्यक्तिहरुको अवस्था कस्तो थियो थाहा छैन् तर म भने नियमित फोन गर्ने के भइरहेको छ खबर लिने गर्थें । फोनमा भएको कुराकानी राम्रोसँग सुन्नका लागि पनि फोनको नेटवर्कले काम नगर्दा मन खिन्न भएर आउथ्यो । घरीघरी आफन्त र साथीभाईहरुले खास के भएको रहेछ भनेर सोध्ने गर्थे तर मसँग जवाफ थिएन । खै हजुर मैले पनि राम्रोसँग बुझन पाएको छैन् भनेर जवाफ फर्काउँथें । यतिकैमा यताबाट गएका मध्ये एक जनाको फोन आयो । के कस्तो छ भनेर मैले सोधेँ उताबाट उत्तर आयाे लास त घरभित्र छ हामीले हेरेका छैनौँ । दाइ आएपछि हेर्ने भनेका छौँ । अहिले हामी सबै यतै छौँ अघि एकजना अन्दाजी सात आठ वर्षको बच्चीले मलाई पछ्यायो । मैले उसलाई सोधपुछ गर्दा आन्टीलाई हानेर मारेका हुन् । आफै मरेको होइनन् भन्यो । उसँग कुरा गर्दै थिए घरका परिवार आएर उसलाई मबाट लिएर गए । त्यसपछि हामीले उसलाई पछ्यायौ तर घरपरिवारले छाड्दै छाडेनन् भनेर एक जनाले मलाई बताए । मैले उसो भए यो कुरा पुलिसलाई भन्यौ भनेर सोधे उनीहरुले छैनाै भने । उसो भए इन्सपेक्टर साबलाई यो कुरा तुरुन्त भन भने । यो कुराले मलाई थप सशंकित बनायो र हत्या नै हो भन्ने लाग्यो । उता के गरे पुलिसलाई भनेकी भनेनन् भनेर फोन गरें धेरै बेर प्रयास गरेपछि फोन लाग्यो । के ग¥र्यौ भन्यौ त भनेर सोधेँ, उताबाट अँ हामीले भन्याैं भने । के भन्नु भयो त भनेर सोधे त्यस्तो चिन्ता नलिनु हामी पनि यतै छौँ । त्यस्तो केही भएको भए पोष्टर्माटमको रिर्पोटमा आइहाल्छ । बच्चीलाई सोध्ने भएपनि एक छिन पछि सोध्नुहोला । भन्नु भयो भने ।

उता जुम्लाबाट भाई विहानै चार बजे हिड्यो । हिड्दा खेरी फोन गरेर भने म नेटवर्कले काम गर्ने ठाउँबाट सम्पर्क गर्छु चिन्ता नलिनु । उसँग एनटीसीको नम्बर थियो । बाटोमा स्काई बाहेक अरु फोन लाग्थेन । यता भाइको पर्खाइमा बहिनीको लास र त्यहाँ उपस्थित भएका मानिसहरु थिए । बेलाबेलामा मलाई फोन गरेर भाइको खबर बुझि रहन्थेँ म आउँदै छ भनेर जवाफ दिन्थे तर कहाँ पुगेको हो मलाई पनि थाहा थिएन र विहानै हिंडेको यहाँसम्मा पुग्यो होला भन्थे । गाउँपालिकाका अध्यक्षसँग बीचबीचमा सम्पर्क भइरहन्थ्यो । उहाँले मलाई त्यस्तो हैन होला तिम्रो मामाले मलाई हैन् जस्तो छ भन्नु भएको छ, भन्नु भयो मैले हिजोको दिनमा घरपरिवारबाट बहिनीलाई हुने गरेको व्यवहारहरु बारे गाउँपालिका अध्यक्ष ज्यू,लाई अवगत गराएँ । उहाँले ठिक छ आफूलाई शंका छ भने कानूनी प्रक्रियामा जाउ भन्नु भयो । साँझको करिब ७ बजे तिर भाइले मलाई फोन ग¥यो । दाइ हामी मुलशाम पुग्यौ, भन्यो मैले ल ल रातीसम्म पुग है भने । यता पनि भाइ यहाँ आइपुगेको भनेर जानकारी गराएँ । त्यसपछि राती प्रत्येक घण्टामा फोन गरिरहे कृपया तपाइँले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केही क्षण पछि पुन: प्रयास गुर्नुहोला भनी रहयो ।

घटना भएकाे तेस्राे दिन अर्थात २९ गते

विहान भयो न भाइको फोन आउँछ न त बहिनीको लास भएको ठाउँमा कसैको फोन लाग्छ । विहानको साढे ८ बजेतिर भाइको फोन आयो । म पुगेको छैन अब एक घण्टा लाग्छ होला । हिजो राती पानी परेर हिड्न नै सकिएन । रुमशिलामा बसे भन्यो ए लल ठिक छ भने र फेरी उता फोन गरेर भाइ यहाँ पुग्यो भनेर जानकारी गराएँ । त्यो दिन पनि फोनको नेटवर्क राम्रो थिएन बेलाबेलामा सम्पर्क हुन्थ्यो । करिब ९ बजेतिर भाइ पुग्यो । उसले घटनाका बारेमा बुझ्यो होला । त्यहाँ रहेका पुलिस टोलीसँग छलफल भएको बतायो । आफूले किटानी जाहेरी दिएर मात्र बहिनीको लास उठाउने बताएको र पुलिसले अहिले एउटा निवेदन दिन र पछि जिल्लामा गएर किटानी जाहेरी दिन मिल्ने सुझाएको बतायो । कच्ची बाटो, लकडाउनका कारण गाडी पनि बन्द रहेको अवस्थमा गाडी भए करिब ८ घण्टा र हिडेर २ दिन लाग्ने बाटो । त्यतिबेलासम्म लास सडेर खतम हुने स्थिति एकातिर थियो । यस परिस्थितिलाई आकलन गरेर किटानी जाहेरी लासको पोष्टमार्टम गरिसकेपछि जिल्लामा दिने सहमतिमा पोष्टमार्टम प्रक्रिया अगाडी बढाउने कुरा भएछ तर त्यसका लागि निवेदन दिनुपर्ने निवदेनमा हाललाई कसैमाथि शंका नभएको र पोष्टमार्टमको रिर्पोटको प्रमाणका आधारमा किटानी जाहेरी दिने गरी निवदेन लेख्न प्रहरी टोलीबाट सुझाव आएको मलाई फोन गरेर जानकारी गरियो । मैले यो हुन सक्तैन शंका भएकै कारण बहिनीको लासलाई षडाएर भए पनि हामी न्याय खोजिरहेका छौँ । व्यक्ति किटान नगरेपनि परिवारका सदस्यमाथि हामीलाई बहिनीको हत्या गरेको शंका छ र सोही अनुसार निवेदन दिने सहमति भएपछि लाश हेर्ने कुरा भयो ।

बहिनीको लाश हेरीसकेपछि भाइले मलाई पुन: फोनमा घटनाको जानकारी गरायो । उसको जानकारी यस्तो थियोः बहिनीको नाक र मुखबाट रगत बगेको छ, अहिले पनि रगतका घेल्का आउँछन् । निधार, नाककको डाँडा, देब्रे आँखा, देब्रे कानमा निलो दाग छ र सुन्निएको छ । त्यहाँ पुरै चोट लागेको जस्तो छ । दाँया पाखुरामा कोतरिएको छ । देब्रे घुँडामा घाँउ छ । यो मारेको हुनुपर्छ । यस कुराले मलाई थप सशंकित बनायो । यतिकैमा आजको दिनको करिब पौने पाँच बजेतिर पोष्टमार्टमका लागि बहिनीको लासलाई लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । फोनले काम नगरेका कारण कति बजे पुगे र के भयो थाहा भएन ।

चाैथाे दिन अर्थात वैशाख ३० गते

विहान सवा ७ बजेतिर फोन सम्पर्क भयो तर आवाज स्पष्ट थिएन । के भयो भनेर मैले सोधेँ उताबाट हिजो साँझ राती भयो भनेर डाक्टर साबले पोष्टमार्टम गर्नु भएन अहिले आठ बजे गर्ने भन्नु भएको छ भन्नेर खबर आयो । प्राथमिक स्वास्थ्यक केन्द्र, र गाउँपालिकाको कार्यालय एकै ठाउँमा भएकोले त्यहाँ नेटको सुविधा थियो मैले वाईफाई चल्छ भने मलाई फोटो पठाईदिनु भने र मेरो म्यासेन्जरमा एक जनाले फोटो पठाईदिए । जब म्यासेन्जरमा बहिनीको फोटो देखें मन थाम्न नै सकिएन आँखा रसाई हाले माईली बहिनी र मेरो श्रीमती झन डाको छोडेर रुन थाले । घरभन्दा बाहिर आफू नै उनीहरुको अभिभावक भएकोले जसो तसो मनलाई बलियो बनाएर बहिनी र बुढीलाई नरोउ जे हुनु भैहाल्यो भनेर सम्झाएँ । फोटो हेर्दा भाइले अघिल्लो दिन दिएको जानकारी सँग ठ्याकै मेल खायो । फोटो जुम गरीगरी हेरेँ । झन पीडा थपियो । यो समयमा केके गरियो सबै बताउन न त सक्दिंन तर केही मुख्य कुरा उल्लेख गर्न चाहान्छु ।

पीडा कमगर्नलाई भए पनि बहिनीको फोटोलाई फेसबुकमा अपलोड गरेँ । त्यो फोटो हेर्दा जसले पनि सहजै अनुमान गर्न सक्थेकी पेट दुखेर मरेको बिरामी हो या हत्या गरिएको । फेसबुक, फोन, म्यासेन्जर मार्फत आफन्त र शुभचिन्तकहरुबाट सहानुभूति र बहिनीको न्यायका लागि लडन तयार भएका प्रतिबद्धताहरु आई रहे । यही बीचमा जाजरकोट जिल्लाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सापलाई फोन गरेँ । म फलानो सर घटना के भएको छ, उता के भइरहेको छ मेरो बहिनीको हत्या नै हो सर । फोटो हेर्नु भयो भने हजुरलाई पनि थाहा हुन्छ भने । उहाँले घटना स्थलमा इन्सपेक्टर सावको टोली छ मैले फोन गरेर बुझिरहेको छु । तपाइँको भाइ पनि हाम्रो स्टाफ । स्टाफकी बैनी मेरी पनि बहिनी एउटै चिन्ता नलिनुस् भनेर ढाडस दिनु भयो अलि मन पनि शान्त भयो तर उहाँको उएटा कुराले मन भने झसँग भयो । त्यो कुरा यस्तो थियो मैले इन्सपेक्टर सापसँग कुरा गरिरहेको छु तर उहाँले त्यस्तो चोट पटक केही छैन भन्नु भएको छ । मैले यताबाट भने त्यसो भने डिएसपी साप म हजुलाई फोटो पठाईदिनुन्छु हजुर पनि हेर्नुहोला र अनि के हो भन्ने थाहा पाउनुहुनेछ भने । फेसबुकमा डीएसपी सापको नाम सर्च गरे, उहाँसँग मेरो चिनजान पनि थिएन र भेट पनि भएको थिएन । आज नै उहाँसगको पहिलो फोन कुराकानी थियो । मैले फेसबुकमा उहाँलाई भेटाउन सकिन र District police office jajarkot भएको फेसबुक पेज भेटियो त्यसैमा फोटो पठाएर पुन: फोन गरेँ मैले हजुरको व्यक्तिगत फेसबुक भेटाउन सकिन र अफिसियल पेजको म्यासेन्जरमा पठाएको छु सर हेर्नुहोला भने । उहाँले हुन्छ म एकछिन पछि हेर्छु भन्नु भयो ।

मलाई भने इन्सपेकटर सावले त्यसो किन भन्नु भयो भनेर खुल्दुली लागीरहेको थियो । फेरी पोष्टमार्टम स्थलमा फोन लगाए र इन्सवपेक्टर सावलाई देउ भने । हलो सर मैले भर्खर डिएसपी साव सँग कुरा गरे हजुरले त यसो भनेर खबर गर्नु भएको रै’छ । भनेर अवगत गराएँ । उहाँले मलाई यसरी जवाफ दिनु भयो । हामी घटना भएको पहिलो दिनमा नै त्यहाँ पुगेका होउ । पहिलो दिनमा यस्तो घाउ चोटपटक केही पनि थिएन । यो हिजो २९ गते तेस्रो दिन हेर्दा त्यस्तो देखियो । मैले सोही अनुसार सरलाई जानकारी दिएको हुँ। मैले भने उसो भए तेस्रो दिनको जानकारी किन दिनु भएन । पहिलो दिनको फोटो छ भने मलाई पठाईदिनु । उहाँले एकजना भाइलाई पहिलो दिनको फोटो दिनु भएछ र उसले मलाई पठाइदियो । त्यो फोटो मेरो म्यासेन्जरमा आयो मैले हेरेँ । बहिनीको श्रीमानले बनिीलाई काखमा राखेर सेल्फी खिचेको रहेछ । त्यसपछि दुबै फोटोहरुलाई हेरेर मैले विश्लेषण गरे ।

पहिलो कुरा पहिले खिचिएको सेल्फिीमा निलो रंगको नयाँ चोली लगाइएको छ । बहिनीलाई कोरीबाटी गरेर निधारभरी सिन्दुर दलिएको छ । गाउँघरमा प्राय: मान्छे नयाँ लुगा सधैभरी लगाउँदैन । मेरो बहिनीले पनि म मर्छु भनेर नयाँ कपडा लगाएको पक्कै पनि हैन होला । मैले फोन गरेर बहिनीलाई केही नचलाइदिनु भनेर भनेको अवस्थामा किन त्यसरी कोरीबाटी गरेर नयाँ कपडा लगाइयो । त्यो सेल्फी खिचीसकेपछि बहिनीको लास कुर्ता शुरुवाल लगाएर राखिएको छ । किन यसरी बहिनी मरीसकेपछि कपडा फेर्ने काम भयो । छाती र शरीरमा किन तेल बेसार दलियो । मेरो माईला मामाले भन्नु भएको छ मलाई मरिसकेपछि खबर आयो म गएको बेला भान्जी मरिसकेकी थिइन । भान्जीको लास भित्र अँधेरो कोठामा थियो र बाहिरको कोठा पोत्दै थिए । त्यसै गरी अर्को एकजनाले अहिले विहान भर्खर मैले धारामा देखेको थिएँ एक्कसी कसरी वितिन् भनेका छन् ।

यी कुराहरुले मन साह्रै खिन्न भयो र पुन: इन्सपेक्टर सावलाई फोन गरेर भने सर हजुरबाट प्राप्त भएको फोटोले मलाई झन सशंकित बनायो । अब हजुरले बहिनीले मर्ने बेलमा आफूले लगाएको पुरानो लुगा कहाँ थियो । किन नयाँ कपडा लगाइयो र किन फेरि अर्को कपडा फेरियो । मलाई बहिनीको सबै कपडाको विवरण चाहिन्छ भनेर जानकारी गराए । फोन काटियो नेटवर्कले काम गरेन ।

त्यो बीचमा फोन नेटवर्कले काम गरेन र केही समय पछि फोन लाग्यो र सोधेँ के के भयो । हामी हिडिसक्यौं । पोष्टमार्टम भयो । पोष्टमार्टम गर्नु अघि शरिर हेरेपछि डाक्टर सावले चोट छैन् भनेर म भन्न सक्दिंन । बाहरी चोट भन्दा पनि भित्री चोट हुन सक्छ । बाँकी रिर्पोटमा आउँछ भन्नु भएको छ । बहिनीको बच्चा रहेछ ठूलै थियो । छोरा थियो । अहिले दाहसंस्कार गर्ने काम भईरहेको छ । हामी किटानी जाहेरी दिनका लागि हिड्यौं । त्यसपछि फोन लागेन ।

वैशाख ३१ गते घटना भएकाे पाँचाैं दिन

विहान ९ बजेतिर फोन आयो । हामी कालीमाटी पुग्यौं । खलंगा पुगेपछि फोन गर्छौ भनेर भने । दिउँसो करिब १ बजेतिर खलंगा पुगे र वकिललाई भेटेर किटानी जाहेरी लेखिसकेपछि करिब ६ बजेतिर जि.प्र.का गएर जाहेरी दिने काम भएको छ तर दर्ता भएको छैन् भन्ने खबर आएको छ । कार्यालय समय सकिएकोले हुनुपर्छ। आज दर्ता हुन्छ होला ।

आज छैटाैं दिन अर्थात जेठ १ गते

यो आलेख तयार गर्दासम्म जोहेरी दर्ता भएको छैन् । माथि उल्लेखित विवरणहरु घटनाको अनुसन्धान र छानबिनमा सहयोग पुगोस् भनेर लेखेको छु । घटना स्थलको विस्तृत विवरण सहित प्रहरीको मुचुल्का र अनुसान्धानमा पनि आउँला ।

आफनो बहिनीको मृत्युमा यसरी मुद्दा लड्ने रहर कसलाई हुन्छ होला र ? यो मेरो पनि थिएन । बहिनीलाई घरपरिवारले ज्यूउँदो छँदा सम्म गरेको हिंसा र मेरो कानमा पुगेको यो घटना विवरणले गर्दा यसो गर्न विवश छु । बहिनी हिजो देखि पेट दुखेर मरी भन्नु बिरामी भएको समयमा मलाई एक पटक पनि फोन नगर्नु एकै चोटी मृत्यु भएको खवर गर्नु र बहिनीले मर्नु भन्दा दूईदिन अघि मलाई घरपरिवारले गाली गर्छन हेप्छन भन्नेर जानकारी दिनुले बहिनीको हत्या भएको होइन् भनेर म कसरी भन्न सक्छु ।

त्यसपछि दीदीलाई फोन गरेर चिन्ता नगर्नु आमा बुवालाई सम्झाउनु भने । दीदी पनि घटनास्थलमा गएको हुँदा कस्तो रहेछ घरपरिवारले के भने भनेर सोधेँ ? सधै जंगलतिर दाउरा घाँस लिन जान्थी, एक दिन केले धकेल्यो भन्थी । त्यही खोलाको भुतले खाइदियो । के लाग्नेकै छल हो भन्थे । भन्नु भयो, रुदै भन्नु भयो पल्लो घरको बुहारीको ज्यान सानो भए पनि ठूलो भारी बोक्थिन हाम्री बुहारीको ज्यान ठूलो भए पनि सानो भारी ल्याउथी । काम गर्ने आङ्ला त खासै थिएनन् । त्यही पनि मरिगई अब के भनु भनेर सासुले भनी मेरो बहिनीलाई मरेपछि पछि पनि यसका कविलाले सुख नदिने भए भन्नु भयो । यस पछि मैले धेरै कुरा गर्न सकिनँ र फोन राखिदिएँ ।

बहिनीको मृत्यु हुँदा देश, काल र परिस्थितिका कारण घर जान नपाए पनि धित मरुन्जेल रुन सम्म पाएको छैन् । मेरो एक बहिनीको ज्यान गए पनि लाखौँ बहिनीहरुको न्यायका लागि लड्ने प्रण गरेकाे छु । हामी पढेलेखेका, सूचना र सञ्चारको पहुँचमा भएका व्यक्तिहरुको बहिनीको हालत त यस्तो छ भने गाउँ घरमा ती तमाम अनपढ र निरक्षर बहिनीहरुले यस्ता कयौं पीडा सहेको होलान् र कयौंको ज्यान यसरी नै अकालमा गएको होला कसले बोली दिने । सुन्दैछु एकपक्ष मरीमेटी हाम्रो विपक्षमा लागिरहेको छ रे । तीनीहरुलाई भन्न चाहन्छु, म न्यायको लागि लडीरहेको छु । तपाइँहरु न्याय र सत्यलाई दबाउन लागि पर्नुभएको छ । जीत तपाइँहरुकै भए पनि सत्य मर्ने छैन् र सत्यले हार्ने छैन् । जो विपक्षमा लागिरहनु भएको छ तपाइँहरुका पनि बहिनी होलान्, छोरी चेली होलान् तीनीहरुको मेरो बहिनीको जस्तै हालत भयो भने एक दिन तपाईले पनि न्यायको लागि लड्ने परिस्थिति नआओस् ।

सम्बन्धित सामग्री पढ्नुहाेस्

https://satkarpost.com/2020/05/10/19616/

 

सम्बन्धित खवर

Back to top button