आखिर मदिराको सेवन बढ्दो छ किन ? : एक विश्लेषण
सत्ययुगमा देवताहरुले सोमरस पान गर्ने देखि लिएर आम नागरिकहरुले पिउने जाँड अनि रक्सी समेतलाई सबैले बुझ्ने भाषामा मदिरा भन्ने गरिन्छ । यसलाई देवताहरुले सोमरसको रुपमा पिउने गर्दथे, युवाहरुले वियर (beer) को रुपमा पिउने गर्दछन् । ठूलाबडा अनि उच्च ओहोदाकाहरुले व्हिसकी (whisky) अनि वाइन (wine) को रुपमा पिउने गर्दछन् भने सामान्य नागरिकहरुले जाँड, रक्सी र लोकल ठर्राको रुपमा पिउने गर्दछन् । अनेक नामले परिचित मदिराको काम भने एउटै मात्र छ जुन शरीरलाई नशा दिने हो । यसले मानव समाजलाई यसरी जगडेको छ की यसबाट उम्कन गाह्रो मात्रै होइन असम्भव जस्तै देखिन्छ ।
मानिसको मृत्युको कारण सोध्दा आउने धेरै उत्तरहरु मध्येको एउटा प्रमुख उत्तर हो मदिरा । यति थाहा पाउँदापाउँदै पनि मानिस किन मदिराको जालमा फस्छ त ? किन यसलाई जीवनको एउटा हिस्सा बनाएर लैजान्छ त ? कारणहरु धेरै छन् जसमध्ये एउटा प्रमुख कारण हो मदिरा सेवन संस्कार अनि प्रथाको रुपमा विकसित हुँदै जानु । यो प्राचीनकाल देखि नै हस्तान्तरण हुदै आएको पाइन्छ । यो सबैभन्दा प्राचीन अनि बहुसङ्खयकले सेवन गर्ने नशा हो । यसको उपलब्धता अन्य लागु औषध र धुम्रपान भन्दा निकै सहज र सरल हुन्छ । फितलो कानूनी वन्धन अनि सरकारको घुमाउरो अनुमतिले पनि मदिरा सेवनलाई बढावा दिएको पाइन्छ । यसले तत्कालीन अवस्थामा थकान तथा तनावलाई भुलाई आनन्द प्रदान गर्ने भएकाले पनि दिनप्रतिदिन यसको सेवन गर्ने मानिसहरुको संख्या बढ्दै गएको छ र मानिसहरु दिनप्रतिदिन यसको जालमा फसिरहेका छन् ।
रेडियो, टेलिभिजन,इमेल, इन्टरनेट र सामाजिक सञ्जालहरुमा आउने मदिरा सम्वन्धि भड्किला विज्ञापनहरुले पनि युवा पिढिहरुलाई केहि हदसम्म मदिरा सेवन गर्न आकर्षित गरेको हुन्छ । हामीले थाहा पाए अनुसार मदिराका सेवनकर्ता धेरै प्रकारका हुन्छन् । ती मध्य कोही विवाह, पार्टी, भोज र चाडपर्व जस्ता खुशीको अवसरमा मात्रै पिउने हुन्छन्, कोही पीडा अनि तनाव भएको बेलामा मात्र पिउने हुन्छन्, कोही प्रत्येक दिन पिउने हुन्छन् भने कोही २४ घण्टा पिउने हुन्छन् । यस्ता धेरै प्रकारका सेवनकर्ताका कारणले पनि मदिराका सेवनकर्ता धेरै बृद्धि भएका छन् । मदिराको सेवन बढ्नुको कारण वाध्यता भन्दा पनि रमाइलो र कुलतलाई अनुकरण गर्नु नै हो भन्ने मलाई लाग्छ ।
बढ्दो आधुनिकता र शहरीकरण सँगसँगै संचालनमा आएका होटल, रेष्टुरेण्ट, दोहोरी साँझ र त्यहाँ हुने सुरासुन्दरीले पनि मदिरा सेवनलाई प्रोत्साहन गरेको पाइन्छ । खुशी हुँदा खुशी साट्ने, दुःखी हुँदा दुःख साट्ने, चाडपर्व मनाउने आदि सबै कार्यमा मदिराको उपस्थिति अनिवार्य जस्तै भइसकेको छ आज भोलिका युवा पिढि माझ । मदिरा सेवन नगरेकै कारणले आफ्नो मिल्ने अनि प्यारो साथीको साथबाट वञ्चित हुनुपरेको धेरै वास्तविकता देखेको छु मैले । त्यसैले साथीको साथ अनि एक्लोपनलाई दुर गर्नकै लागि भए पनि मदिरा सेवन गर्ने मानिसको संख्या कम छैन् हाम्रो समाजमा । गैरकानूनी रुपमा सञ्चालनमा आएका जुवा, तास र क्यासिनोहरुले पनि मदिरा सेवनलाई मलजल गरिरहेका छन् ।
नेपालमा रहेका नेवार, तामाङ, गुरुङ र मगर जस्ता कैयौं जातजातिको संस्कारमा अझै पनि मदिरा अनिवार्य जस्तै रहेको र राज्यको राजस्वको प्रमुख स्रोतको रुपमा रहेको मदिरालाई अन्त्य गर्न निकै गाह्रो छ । तर गाह्रो छ भन्दैमा मदिरा सेवनलाई यहीँ हालतमा छोड्नु अवश्य पनि कदापि राम्रो होइन । तर यसको अत्याधिक सेवनले मानव स्वास्थ्यमा पार्ने असरलाई रोक्न, सामाजिक सद्भावमा पार्ने खलललाई रोक्न र यसले निम्त्याउने चो’री, डाँ’का, बल’त्कार र ह’त्या जस्ता अप’राधलाई रोक्नका लागि पनि यसको सेवन र विक्री वितरणलाई निश्चित स्थान, निश्चित समय, निश्चित उमेर समूह र निश्चित मात्रा तोकी सरकारले व्यवस्थित गर्नु पर्ने देखिन्छ ।