निजामती सेवा र निजामती कर्मचारी

प्रायजसो: सबैको इच्छा र चाहनाको पेशा हो सरकारी सेवा । सरकारी सेवा मध्ये पनि प्रतिष्ठत र लोकप्रिय सेवा हो निजामती सेवा । मासिक रुपमा तलवमान विभिन्न भत्ता, विभिन्न सेवा सुविधा र सेवा निवृति पछि निवृतिभरण आदिले गर्दा होला युवाहरु बढी यसप्रति आकर्षित भएको देखिन्छ । आफ्नो जीवनयापन र नागरिकको सेवा गर्ने अवसर दुवैलाई सँग-सँगै अगाडि बढाउने अवसर यसले प्रदान गर्दछ । यसले व्यक्तिलाई आर्थिकरुपले सम्पन्न नबनाएपनि प्राज्ञिक र मानसिकरुपले सम्पन्न पक्कै पनि बनाएको छ । स्थायी सरकारको संज्ञा पाएका निजामति कर्मचारीहरुले सरकारका नीति, नियम र योजना निर्माणमा प्रत्यक्षरुपमा सहयोग गरिरहेका हुन्छन् । नागरिकको समीपमा रहेर सरकारको उपस्थिति जनाउने संयन्त्र नै निजामती सेवा हो । यसलाई Action by rule, Function by system, Reaction by obedience को रुपमा पनि लिइन्छ । निजामती सेवा ऐन,२०४९ ले निजामती सेवामा कार्यरत कर्मचारीहरुलाई निजामती कर्मचारी भनी परिभाषित गरेको देखिन्छ ।

म आफैँ पनि निजामती कर्मचारी भएकोले निजामती सेवा र निजामती कर्मचारीहरुको वारेमा २/४ शब्दहरु कोर्न मन लागेर आयो । सन १८५४ मा बेलायतबाट आधुनिक प्रतिस्पर्धात्मक निजामती सेवाको शुरुवात भएको थियो भने सन १८८३ बाट अमेरीकामा योग्यता प्रणालीमा आधारित निजामती सेवाको शुरुवात भएको हो । नेपालको परिप्रेक्षमा कुरा गर्नु पर्दा वि.स. २००८ सालमा लोकसेवा आयोगको गठन भई योग्यता प्रणालीको शुरुवात भए पनि निजामती सेवा ऐन, २०१३ लागू भए पश्चात मात्र निजामती सेवाले कानूनी आधार र ‍औपचारिकता प्राप्त गरेको देखिन्छ ।

शासन संचालनमा सरकारको प्रमुख सहयात्रीको रुपमा रहेका अधिकांश निजामती कर्मचारीहरुले आफ्नो जागिर अवधिभरमा एउटा सामान्य घर घडेरी समेत जोड्न सकेका हुदैनन् । जुन निकै तितो तर वास्तविक यथार्थता हो । आफू सँगै पढे लेखेका आफूभन्दा कमजोर क्षमताका साथीहरुले व्यपार, व्यवसाय र वैदेशिक रोजगार आदिबाट मनग्य आम्दानी गरी मारुती, प्राडो, सुजुकी जस्ता महङ्गा गाडीमा सयर गरेको देख्दा आफूलाई निकै हीनताबाेध हुने र कता-कता राज्यले बौद्धिक क्षमता र राष्ट्र सेवकलाई उपेक्षा गरेको त होइन ? भन्ने प्रश्न मनमा उब्जिन्छ । फेरी सोच्छु देश र जनताको सेवा गर्ने अवसर सवैलाई कहाँ मिल्छ र ? यहीँ भनी मनलाई सान्त्वना दिन्छु । प्रायजसो: सबै निजामती कर्मचारीहरुको साझा समस्या हो यो बौद्धिक क्षमताको उचित पारिश्रमिक नपाउनु । केही सीमित उपल्ला र आर्थिक अनियमिततामा संलग्न बाहेक नेपालका निजामती कर्मचारीहरु यति निरीह र आर्थिकरुपमा कमजोर छन् की आफ्ना आधारभूत आवश्यकता मात्र पनि पूरा गर्न सक्दैनन् ।

बाहिरबाट हेर्दा जति आरामदायी, सुविधासम्पन्न र शानको पेशा भनी आमनागरिकले ठान्दछन् त्यस्तो अवश्य होइन र छैन् पनि । यो पेशा नागरिकको दुःख, पीडा र समस्या समाधानसँग जोडिएको हुन्छ । यो पेशा बौद्धिक र प्राज्ञिक दक्षतासँग जोडिएको हुन्छ । त्यसैले यसमा जागिरे मनस्थिति कम र नागरिक सेवा बढी झल्किनुपर्दछ । पैसा कमाउने र जागिर मात्र गर्नेहरुका लागि निजामती सेवा हुँदै होइन । यसमा त्याग, बलिदान र सेवा गर्ने दृढ इच्छा शक्ति हुन जरुरी छ ।

निजामती सेवा आफैमा नराम्रो कदापी हुँदै होइन र छैन् पनि । यस सेवा भित्र रहेका केही निजामती कर्मचारीले यस सेवाको बदनाम गरेका छन् । केही कर्मचरीहरुको चाकडीबाज, नातावाद, कृपावाद र निजी स्वार्थले गर्दा यसलाई बदनाम गराएका छन् भने राजनीतिक आग्रह, पूर्वाग्रह र राजनीतिक हस्तक्षेपले पनि यसलाई आफ्नो कार्यशैलीबाट विचलित बनाएको देखिन्छ । यस्ता कमी कमजोरीहरुको न्यूनीकरण गर्दै अगाडि बढ्न सकेमा मात्र निजामती कर्मचारीहरुले आफू माथी लाग्ने गरेका दोष र लाञ्छना मेटाई आफुलाई एक अब्वल राष्ट्र सेवकका रुपमा स्थापित गर्न सक्दछन।

सम्बन्धित खवर

Back to top button