देश, समय र परिस्थितिसँग मिल्ने प्रसंगकाे एउटा संवाद


अम्मर कटुवाल
एउटा सानाे तर सुन्दर घर सानाे परिवार एकदिन साँझकाे बेला खाना खाइसकेपछि गर्मीकाे माैसम शुरु हुन लाग्दै गरेकाे समय अनि पिंढीमा शीतल हावाकाे आनन्द लिंदै आमा र छाेरा पुराना दिनहरु सम्झिएर कुराकानी गरिरहेका हुन्छन् ।



आमा : आज त्यति गर्मी छैन है बाबू ?
छाेरा : हाे आमा हिजाेअस्तिकाे भन्दा शीतल छ आज ।
आमा : याे लकडाउन पनि कहिले खुल्ने हाे कुन्नि ?
छाेरा : खै कहिले खुल्ने हाे घरमा बस्दाबस्दा बाेर भैसक्याे !
आमा : हाे त नि आज भाेलि त दिन कटाउन साह्रै गाह्राे छ बाबू ।
छाेरा : आज हजुर लाई एउटा कुरा भनाैँ ।
आमा : के कुरा बाबू ?
छाेरा : आज मैले एस.एल.सी. पास गरेकाे पनि ५ वर्ष भएछ।
आमा : ए हाेर बाबू ?
छाेरा : हजुर हाे नि !
आमा : त्यसाे हाे भने त तिमि १५ कक्षामा पढ्ने बेला भएन र ? (बिचरा बुढि आमालाई के थाहा छाेराे के गर्दै छ कतिमा पढ्दै छ भनेर बस् थाहा त यत्तिकि छाेरा एकदमै राम्राे पढ्छ पहिले कक्षामा, जुनसुकै प्रतियोगितामा पनि पहिलाे, दाेस्राे हुन्थ्यो र भविष्यमा के गर्न सक्छ भन्ने विश्वास चाँहि थियाे ।)
छाेरा : (आँखा भरि आँसु पार्दै मध्यमवर्गीय परिवार पलस टु पास गरेपछि पार्टटाइम जब गर्छु अनि आफ्नाे पढाइ खर्च आफै कमाएर राम्राे पढ्छु भनेर काठमाडौं पसेकाे छाेराले फुलटाइम जब अनि पार्टटाइम पढ्नुपर्ने अवस्था आएर आफ्नाे पढाइ अस्तब्यस्त पारिसकेकाे छाेराले भन्छ) हुन त हाे आमा तर मेराे आजसम्मकाे सर्टिफिकेटले २ वटा क्लियर ब्याग भरिएकाे छ यसकाे त केहि काम छैन त्यसैले प्रमाणपत्र मात्र जम्मा गर्ने काम गरेर के गर्नु, हुने केहि हैन ।
आमा : हाेइन बाबु पढाई भन्दा ठूलाे त केहि हुँदैन नि हाेइन र ?
छाेरा : हजुरकाे कुरा एकदमै सहि हाे हुन त तर आज डिग्री हासिल गरेपनि याे देशमा राेजगारीकाे ग्यारेन्टी छैन आखिरमा खाडी नै धाँउनु पर्ने बाध्यता छ ।
आमा : बाँच्न गाह्रो छ बाबु याे देशमा ।
छाेरा : हाे आमा आज देशका सम्पूर्ण स्कुल, कलेज र विश्वविद्यालयहरु बेराेजगार उत्पादन गर्ने भट्टी मात्र बनेका छन् पहिलेकाे तुलनामा झनझन शिक्षा प्रणाली नै खस्किंदाे अवस्थामा छ । सुधार हुनु त कता हाे कता भन्ने हाे भने हामीलाइ सैद्धान्तिक भन्दा पनि प्राविधिक तथा व्यवहारिक शिक्षाकाे आवश्यकता छ तर सरकार अन्धाे छ आमा देश र जनतालाई के कुराकाे खाँचाे छ कुन कुराकाे अभाव छ आवश्यकता छ कहिल्यै पनि देख्दैन ।
आमा : तिम्राे सबै साथीहरु पनि बिदेशमा छन् हैन र बाबु ?
छाेरा : त्यहि त आमा झन काराेना भाइरसकाे महामारीले गर्दा भारत लगायत विभिन्न देशहरुमा नेपालीहरु खान नपाएर बिचल्लित भैरहेकाे अवस्था छ । लाचार सरकार टुलुटुलु रमिता हेरेर बसिरहेकाे छ ।
आमा : अस्ति भर्खर चीनमा रहेका नेपालीहरुलाई जहाज पठाएर नेपाल ल्याए भन्ने समाचार सुनेकाे थिएँ नि बाबू ?
छाेरा : हाे आमा चीनबाट चाँहि नेपाली ल्याएकाे हाे उनीहरु धनी बाउका छाेराछाेरीहरु थिए त्यसैले ल्याएकाे हुनसक्छ के भारत लगायत अन्य देशमा रहेका थुप्प्रै मजदुर र श्रमिकहरु नेपाली नागरिक हाेइनन् र ? यदि भेदभाव नहुने हाे भने उनीहरुकाे लागि पनि आवश्यक कदम चाल्नु पर्ने हाे नि त ।
आमा : अब त याे महामारीकाे कारणले विदेश गएका नेपालीले पनि काम पाउँदैनन् हाेला है बाबू ?
छाेरा : अब कम्तिमा पनि विदेश गएका १० लाख नेपाली बेराेजगार हुन्छन् रे आमा अब बेराेजगारीकाे समस्या त छँदै छ अझै अब याे महामारीकाे कारणले विश्वमा खाद्य संक’ट हुन सक्ने अनुमान पनि गरिएकाे छ झन परनिर्भर हाम्राे देशकाे हालत के हाेला अधिकतम खाद्यान्न बाहिरबाट नै आयत गरिन्छ ।
आमा : याे सरकारले विपद्काे बेला पनि आफ्नाे लागि मात्र साेच्ने किन हाेला बाबू ?
छाेरा : सबै नेताहरु भ्रष्टचारी र ष’ड्यन्त्रकारी भएर हाे आमा विपद्काे बेला जनताकाे जीउधनकाे सुरक्षा लगायत अब आउने संक’ट र बेरोजगारी समस्या प्रति सरकारकाे कुनै चासाे छैन ।
आमा : सतीले सरापेकाे देश भन्थे साच्चिकै हाेकि क्याहाे बाबू ?
छाेरा : हैन आमा याे एउटा उखान मात्र हाे याे देश भ्रष्टाचारीहरुकाे पाेल्टामा शासन सत्ता परेकाेले यस्ताे भएकाे हाे यदि, सकरात्मक साेच, बफादार र परिवर्तन चाहने युवाहरुकाे एउटा मात्र गतिलाे संगठन बन्याे र सम्पूर्ण नेपाली जनताले साथ दिने हाे भने देशकाे मुहार फेर्न धेरै समय लाग्दैन ।
आमा : हाे बाबू तिमी पनि अलिअलि भएपनि देशकाे परिस्थिति बुझ्ने भाकाे छाै अब सकिन्छ भने देश विकासमा लाग्नु पर्छ, केहि गर्नु पर्छ ।
छाेरा : हुन्छ आमा हजुर जस्तै सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदिबहिनी र म जस्तै युवा साथीहरुले साथ र सहयाेग गर्नु भयाे भने म जीउ ज्यान बाजी राखेर सक्दाे काेसिस गर्नेछु ।
आमा : हुन्छ बाबू सत्य र राम्राे कामकाे पक्षमा सबैले साथ दिन्छन् ।
छाेरा : हुन्छ आमा ।
आमा : सुत अब अबेर भैसक्याे ।
छाेरा : हुन्छ आमा सुत्नुस् हजुर पनि म पनि सुते । शुभरात्री !
समाप्त ।








